२ जेष्ठ २०७८, आईतवार

बेसार र वेलौतीको पात खाएर कोरोना निको हुन्छ भन्नु दरिद्र मानसिकता

kamdardainik.com (First, Fast & Accurate)

-माधव बानियाँ

 

कोभिड १९ को असर विश्वब्यापी भैरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहेन । यसै बिच सरकारले गत वर्ष २०७६ साल चैत १० गतेबाट कोभिडको नाममा बन्दाबन्दी देखि लिएर विभिन्न समिति संस्था स्थापना गरेर यसलाई नियन्त्रण र सहज बनाउने नाममा जानी वा नजानी के कस्तो नाटक मन्चन गरियो हामी सबैलाई बिदितै छ । यस क्रममा कोभिडको नाममा राहत सहयोग आदि के कस्तो भयो वा गरियो सर्वसाधारणले समेत नबुझेको होइन। कोभिडको नाममा भएका स्वास्थ्य सामग्री खरिद प्रक्रियामा टेन्डर लगायतको काममा भएका अनियमिततामा आफ्नो मान्छेको नाममा बचाउ गरिए तापनि र सरकारले कोभिडको नाममा कति सक्रियता देखायो जनतालाई के कस्तो राहत वा सुबिधा दिइयो बागमती उल्टो बगेन भने यसको हिसाब किताब निर्वाचनमा मतदाताले मतदान वा अन्य कुनै पनि प्रकारले दिने नै छन् भन्ने कुरामा केही शंका छैन । करिब तीन महिनाको प्रभावकारी बन्दाबन्दीको समयमा सरकारी आदेशलाई जनताले सहर्ष स्वीकार गर्दै नेपाल जस्तो गरीब देश जहाँ दुई छाक खानको लागि बिहान बेलुका काम नगरी पेट नभर्ने अवस्था हुँदाहुँदैपनि जनता कति सहनशिल भए भन्ने उदाहरण नेपाली जनताले प्रस्तुत गरेकै हुन्। भलै यस बन्दबन्दीको नाटकमा सरकारले आफ्नो अक्षमता र जन आक्रोश दवाउन वा देखा नपरोस भन्नको लागि अन्य कुनै बिकल्प वा स्वास्थ्य मापदण्ड पालना नगरी केवल एकमात्र उपायको रुपमा निरन्तर बन्दबन्दी प्रयोग गरी रह्यो ।

 

शिक्षा, यातायात, पर्यटन, रोजगार ब्यबसाय आदि सबै क्षेत्रमा यसको कस्तो प्रभाव प–्यो र नेपाल सरकारले ल्याएका राहतका पोका र प्याकेज कस्तो रह्यो त्यो पनि जगजाहेर नै छ । देशलाई संघियतामा रुपान्तरण गरिएपछि सबै क्षेत्रमा केन्द्रको मुख ताक्नु नपर्ने प्रदेश र स्थानीय सरकारले पनि जनताको लागि आफैँ निणर्य गर्न सक्छन र आफ्नो काम आफैँ गर्न सक्छन जसले गर्दा सिँहदवार गाउँ गाउँमा पुगि जनतालाई सुसिधा हुन्छ भन्ने यथार्थ कोरोनाको कहरमा स्थानीय निकाय वा प्रदेश सरकारले वितरण गरेको राहत सामग्री र तिनको सदुपयोग, दुरूपयोग के कसरी कति मात्रामा भएको थियो स्थानीय जनप्रतिनिधिले आफ्नो जनताको सुबिधाको खातिर के कस्तो मलमपट्टि लगाए आदि इत्यादि छरप्रष्ट नै देखियो। । कोरोना एकाथरीलाई मतको राजनीति र आर्थिक उन्नतीको अवसरको विकासको भरपुर सदुपयोग पयोग पनि भयो ।

 

चाइनाको युआनको सहरबाट सुरु भएको कोरोनाको कारणले आज विश्व अर्थतन्त्रमा गहिरो प्रभाव परेको छ । मानिस लामो समयसम्म घरमै बन्दी अवस्थामा बस्न परेको कारणले मानिसको आयस्रोत दिनचर्या सबै प्रणाली खलबलिएको छ । जहाँ मान्छेको भीडभाड हुन्थ्यो, जसको कारणले अर्थतन्त्र चलायनमा नै रहेको थियो आज ती ठाउँहरु सुनसान छ , मसान घाटको जस्तो सन्नाटा छाएको छ । मानव सभ्यताको विकासको क्रमसगैं विश्वमादेखापरेको यस्ता महामारी रोगहरुमा हाल सन् २०१९ मा देखापरेकोे यो कोरोना भाइरस पनि यस्तै प्रकारको महामारी मात्र हो । मानव संसारको सबैभन्दा सचेत र बुद्धिमान प्राणी भएकै नाताले यस्ता प्रकारका महामारी रोगलाई अनेक प्रकारका बैज्ञानिक अनुसन्धानद्धारा त्यसको रोकथाम गर्न प्रयास गरिरहेका हुन्छन् र त्यसमा ढिलो चाँडो सफलता पनि प्राप्त गर्दछन्। कुनै समयमा महामारीको रुपमा रहेको रोगहरु हैजा, विफर, फ्लु, सार्स आदि त्यसैका उदाहरण हुन्। आज यी महामारीमा मानवले सफलता प्राप्त गरी सकेको छ । यद्यपी यस्ता महामारीको रोकथामको लागि गरिने अध्ययन अनौसन्धानमा लाग्ने समय सम्म हुनविश्वमा धेरै धनजनको क्षति भइसक्छ जसलाई पुर्ति गर्न सकिदैन। विश्वको महामारीको इतिहासलाई केलाउँदा प्रत्येक सयवर्षमा एक प्रकारको महामारीको चपेटामा मानव समुदाय परेको देखिन्छ । सन् १७२० मा संसारमा सबैभन्दा पहिले फ्रान्सको मार्सिली भन्ने शहरमा ल्पेगको महामारी फैलिएको थियो । यो रोगबाट एक लाख भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । पछि चीन, भारत, आदि धेरै जनसंख्या भएको देशमा यो रोगले महामारीको रुप लिएको थियो । सन १८२० मा हैजा (कोलोरा) रोगले विशेषगरी एशिया महादेशको जापान, भारत, थाइल्याण्ड र खाडी देशहरुमा यी रोगको महामारीले एक लाख भन्दा बढीको मृत्य भएको थियो ।

 

त्यसैगरी सन १९२० मा स्पेनिस फ्लुको महामारीले संसारभरी पाँच करोड मानिसको मृत्यु भएको थियो। जुन प्रथम विश्व युद्धमा मारिने मानिसको संख्या भन्दा दोब्बर यो रोगले मानिसको मृत्य भएको थियो । हाल सन् २०१९ मा चाइनबाट फैलिएको भनिएको कोरोनाले कतिको असर पारेको छ हामी सबैलाई बिदितनै छ। यसले वैज्ञानिकलाई नयाँ नयाँ भाइरसको रुप परिवर्तन भइरहेर चुनौती थपिरहेको हामी सबैलाई बिदितै छ । यस रोगका कारणले देशको अर्थतन्त्र, मानवको जीवन दिन प्रतिदिन कष्टमय बनाउँदै गइरहेको र यस महामारीको कारणले हालसम्म संसारभरी तीस लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसरी हेर्दा के देखिन्छ भने अबका दिनमा यस प्रकारले नयाँ नयाँ महामारी देखापर्नु स्वभाविकै हुनेछ र यसको लागि मानव समुदाय तयार रहनुपर्दछ। आज भोलिको समय विज्ञान, प्रविधि र सुचनाको समय भएकोले मानिसले यस्ता समस्यालाई समाधान गर्न असम्भव भने हुँदैन, केवल समय, साधन र स्रोतको आवश्यकता भने हुन्छ।

 

विश्वकै प्राचिनतम उपचार पद्धति मानिने आयुरवेदिय उपचार पद्धति आफैँमा अत्यन्त महत्वपूर्ण छ। । हरेकदिन हाम्रो भान्सामा पाक्ने वा रहने विभिन्न मर–मसलाहरु तथा घरबारी खेतमा रहने जडिबुटिजन्य बोटबिरुवाहरु आफैँमा एक प्रकारको औषधि हो । अहिले पनि गाउँघरमा सहजै प्राप्त हुने यस्ता औषधिहरुकोे मनग्य प्रयोग भएको पाइन्छ । समयको क्रमसँगै औषधिजन्य वस्तको मात्रा र प्रयोग पनि परिवर्तन हुने हुनाले तथा मानिसको शरीरमा वातावरणीयजन्य प्रभाव, खानपिन आदिको कारणले त्यस्ता उपयोगी जडिबुटिको प्रयोग विगतको समयको जस्तो प्रयोगले मात्र प्रभावकारी बन्दैन । यसको लागि पर्याप्त अध्ययन, अनुसन्धान र आधुनिकिरणका रुपमा औषधि तयार गर्नुपर्ने हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना चिसो तथा गर्मी दुबै मौसममा फैलन सक्छ । सबैभन्दा पहिले घाँटिमा असर पर्ने कोरोना भाइरसो अर्थ क्राउनको अर्थ (ताज) भाइरसको अर्थ भेनम (विष) अर्थात यो विष जस्तै गरी शरीरमा फैलन सक्छ । नाकको माध्यमबाट घाँटिमा तन्तुहरुले असर गरेपछि सुख्खा खोकी लाग्न सुरू भई फोक्सोलाई असर गरी स्वास प्रस्वासमा समस्या ल्याउने यो भाइरसको प्रभावलाई कम गर्न मनतातो पानी घाँटीमा राखी गलगल गर्नाले फोक्सो सम्म पुग्नबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ ।

 

कोरोना भाइरसको प्रभावले मानिसमा हल्का ज्वरो आउने, सुख्खा खोकी लाग्ने सास फेर्न गाह्रो हुने स्वाद थाहा नहुने, आदि लक्षण देखिएतापनि हाल आएर यसको परिवर्तित रुप नयाँ नयाँ लक्षणको रुपमा देखिन थालेको देखिन्छ । विश्वमा देखिने त्यस्ता प्रकारका महामारी रोगहरु समय समयमा आउने र जाने क्रम अवका दिनमा पनि यो प्रक्रिया स्वभाविक हुने देखिएकोले हालको कोरोनाको समस्याबाट छुटकारा पाउने विभिन्न उपायहरुको खोजीमा लागी रहेका र केही हदसम्म सफलता पनि प्राप्त गरिएको छ । वर्तमान अवस्थामा मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै रोग नलाग्नु हो। आयुर्वेदको पुरानो गरन्थक चरक संहितामा जनपदोत्सव शीर्षकमा रोग प्रतिरोधात्मक क्षमताको विकास कसरी गर्न सकिन्छ भन्ने विभिन्न उपायहरु बताइएको छ । जसले गर्दा प्राकृतिक रुपमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ तर त्यो कोरोनाको उपचार भने होइन । इम्युनिटि वा रोगप्रतिरोधात्मक क्षमता एकै रातमा बढ्ने कुरा होइन । यसको लागि मान्छेले खानपिन ब्यक्तिगत दिनचर्या, योग, अभ्यास आदि गर्नु पर्ने हुन्छ। अश्वगन्धाले मान्छेको रोग प्रतिरोधात्मक क्षमता बढाउने त्यसैगरी च्वनप्राशले पनि सहयोग पुग्ने आयुर्वेदिय मान्यता रहेको छ । तातो पानिको प्रयोगले कोरोना भाइरसको क्षमतालाई ह्रास गर्ने हुनाले तातो पानीको प्रयोग गर्ने, त्यसैगरी निमको पातको सेवन, बेसार, अमला, मरिच, सुठो जस्ताको प्रयोगले मान्छेको रोग प्रतिरोधात्मक क्षमता बढ्ने आयुरबेदमा उल्लेख गरिएको छ । कोरोनाको सबैभन्दा बढी असर स्वास प्रस्वासमा देखिने हुनाले मानिसको मृत्यु समेत हुन सक्ने हुनाले अक्सिजनको मात्रा बढाउनको लागि कपुर, ल्वाङ, ज्वानो, मसलाको तेलको केही थोपा राखेर पुरिया बनाई यसलाई सुँघ्ने गरेमा अक्सिजनको मात्रा बढ्न जाने समेत आयुरबेद विज्ञानमा उल्लेख गरिएको छ । यसप्रकार आयुरवेदिय औषधि वा प्राकृतिक चिकित्सा पद्धति पनि मानव जीवनको स्वास्थ्यको उपचार पद्धति भएकोमा कुनै सन्देह छैन । तर त्यो मात्र हरेक रोगको अचुक उपचार पद्धति नभएकोले आजको २१ औं शताब्दीमा कोरोना भाइरस जस्तो रुप परिवर्तन भइरहने महामारी रोगको उपचार गलगल गरेर, हाच्छिउँ गरेर, नाकमा पानी हालेर, वेलौतीको पात खाएर निको हुन्छ भन्ने अभिब्यक्ति दिनु मुर्खता मात्र होइन यो पटमुर्खता र अहंमवाद विज्ञताको पराकाष्टा हो ।

 

लेखक माधव बानियाँ बिभिन्न शैक्षिक संस्थाका संस्थापक, संचालक तथा लामो समयदेखि प्राध्यापन सेवामा संलग्न छन् साथै उनी कोरोना बिजेता समेत हुन्।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *