१३ श्रावण २०७८, बुधबार

मजदुर बनौं मगजदुर नबनौं !

kamdardainik.com (First, Fast & Accurate)

-जनक राउत

 

मजदुर आन्दोलन विश्व इतिहास 

छोटकरीमा मजदुर दिवसको इतिहास भन्नुपर्दा,  अन्तराष्ट्रिय मजदुर दिवस हरेक बर्षको मे १ तारिकको दिन  विश्वका ९० भन्दा धेरै देशहरुमा मनाइने गरिन्छ । अमेरिकाको सिकागो शहरमा सन् १८८६ मे १ का दिन मजदुर आन्दोलनको सुरुवात भएको थियो । तेस्को ३ बर्ष पछी सन् मा  फ्रान्सको पेरिसमा एउटा अन्तराष्ट्रिय सम्मेलन भयो जसले हरेक बर्षको मे १ तारिखलाई अन्तराष्ट्रिय मजदुर  दिवस मनाउने निर्णय गर्यो । तेसपछी मजदुरको  ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जन भन्ने नाराका साथ संसारभर मे डे अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस  मनाउन थालियो । सो भन्दा अगाडि दैनिक १५\१६ घण्टा सम्म श्रमिकले काम गर्नु पर्दथ्यो तर पनि  उचित पारिश्रमिक र हक अधिकार  पाउदैन थिए। 

 

नेपालमा मजदुर आन्दोलन 

अब हाम्रो आफ्नै परिवेशको कुरा गरौं । मजदुरको परिभाषा समय र काम अनुसार फरक फरक हुने गर्छ । एक तरिकाबाट हेर्ने हो भने  हामी सबै मजदुर नै हौं ।  श्रमिक भन्ने बित्तिकै हामी अधिकांशको मानसपटलमा धुलो मैलोमा पसिना चुहिने गरि कारखाना या खुल्ला ठाउँमा ठेक्का पट्टामा काम गर्ने मजदुर भन्ने बुझ्छौं तर  बौद्धिक कार्य गर्नेहरू पनि बौद्दिक श्रमिक हुन । काम अनुसार श्रमिकको पनि बर्ग बिभाजन गर्न सकिन्छ । श्रमिकले श्रम नगर्ने हो भने आज विश्व अन्तरिक्ष जगतमा पुग्न सक्दैन थियो । आज हामी घरमै बसेर विश्व हेर्न र पढ्न सक्छौं इन्टरनेट र यस भित्रका खुराकका माध्यमले , यी पनि सबै श्रमिककै  उपज हुन् । तेसैले  श्रमिकको महत्व कति छ भनेर दुइ चार बाक्यमा बर्णन गर्न सक्दैन । तर आज यहाँ  बौद्धिक श्रमिक भन्दा पनि ती श्रमिक जो हरेक कममा अग्र पंक्तिमा बसेर काम गर्छन् अझ भनौ सबैभन्दा तल्लो श्रेणीमा काम गर्ने मजदुरको   बारेमा थोरै चर्चा गर्न चाहन्छु  । नेपालमा पनि अन्य देशमा जस्तै हरेक बर्ष अन्तराष्ट्रिय मजदुर दिवस मनाइने गरिन्छ । नेपालको मजदुर आन्दोलनको कुरा गर्दा हामी सबैले बिराटनगरमा २००७  सालमा  भएको मजदुर आन्दोलन सम्झिने गर्छौं  ।  तेसपछी पनि बिभिन्न माग राख्दै  कयौं मजदुर आन्दोलन भए तर ती आन्दोलनहरूले मजदुरको न्युनतम हक अधिकार  तथा परिवारको दैनिक जीवनमा के कति परिवर्तन भयो भन्नेबारे पछी छुट्टै खोज अनुसन्धान होला । हरेक बर्ष नेपाल सरकार लगायत सयौं  श्रमबादी संघ संस्थाहरुले यो दिन भव्य रुपमा मनाउँछन्  तर कति श्रमिकहरुलाई त यसकोअत्तोपत्तो सम्म पनि हुदैन । कतिपय राजनीतिक दल निकट श्रम संगठन अधिकांश कल कारखाना तथा कार्यालयमा छन तीनले पनि मजदुरकै पक्षमा बिबिध कार्यक्रम र अभियान चलाइरहेको दावा गर्छन् तर पनि मजदुरको पिडा ज्यूकात्यू देखिन्छ । बर्षको एक दिन सरकारी र गैरसरकारी स्तरबाट मजदुर हक अधिकारको बारेमा भब्य कार्यक्रम गरेर मनाइन्छ । तर पनि कतिपय मजदुरको दैनिकी अझै परिवर्तन भएको छैन । उत्पादन,  बिकास निर्माण र पुर्वाधार विकास क्षेत्रमा अग्रपंक्तिमा काम गर्ने मजदुरको स्थीती अझै पनि दयनिय छ ।

 

नेपालमा मजदुर स्थिति 

हामी मजदुर हक अधिकारको कुरा  गर्दा ज्याला  , स्वास्थ्य उपचार तथा बिमा ,  श्रमीकमैत्री कार्य स्थल , सुचनाको हक, कार्य सुरक्षा सामग्री, खाना तथा बासस्थान , मालिक र सहकर्मीको आपसी सम्बन्ध तथा व्यवहार,  समाजिक सुरक्षा , मजदुर माथीको सामजिक दृष्टीकोण जस्ता अन्य विविध  बिषयहरु पर्दछन् । हाम्रो देशमा अझै यी कुराहरू पुर्ण रूपमा लागू हुन सकेको देखिँदैन । श्रमिकले पाएको पारिश्रमिकले एक्काइसौँ शताब्दीको आधारभूत आवश्यकता पूरा गर्न सकिरहेका छैनन् । अन्य देशका श्रमिकहरूसंग तुलना गर्ने हो भने त हामी धेरै पछाडि छौं । हाम्रो देशमा मजदुरको  मुख्य समस्या भनेको उसले परिश्रम अनुसार पारिश्रमिक नपाउनु हो ।

 

एउटा श्रमिकले भव्य शपिङ मल बनाउन अग्रपंक्तिमा रहेर काम गर्छ तर उसले आफु र आफ्नो परिवारको लागि त्यहाँ गएर किनमेल गर्न सक्दैन, ठुला ठुला अपार्टमेन्ट बनाउने काममा खटिन्छ तर आफ्नो लागि तेही एउटा फ्ल्याट खरिद गर्न सक्दैन, धरहरा बनाउँछ तर आफ्नो सन्तानलाई टिकट काटेर देखाउने हिम्मत गर्न सक्दैन, महङ्गा महङ्गा सामान उत्पादनमा  सहयोग गर्छ तर आफ्नो लागि सस्तो खोजेर हिँड्नु पर्छ । यी त केबल प्रतिनिधि मात्र हुन गहिरिएर हेर्ने  हो भने हजारौं यस्ता असमानता देखिन्छ, आखिर किन ?

 

एउटा श्रमिकले भव्य शपिङ मल बनाउन अग्रपंक्तिमा रहेर काम गर्छ तर उसले आफु र आफ्नो परिवारको लागि त्यहाँ गएर किनमेल गर्न सक्दैन, ठुला ठुला अपार्टमेन्ट बनाउने काममा खटिन्छ तर आफ्नो लागि तेही एउटा फ्ल्याट खरिद गर्न सक्दैन, धरहरा बनाउँछ तर आफ्नो सन्तानलाई टिकट काटेर देखाउने हिम्मत गर्न सक्दैन, महङ्गा महङ्गा सामान उत्पादनमा  सहयोग गर्छ तर आफ्नो लागि सस्तो खोजेर हिँड्नु पर्छ । यी त केबल प्रतिनिधि मात्र हुन गहिरिएर हेर्ने  हो भने हजारौं यस्ता असमानता देखिन्छ, आखिर किन ? किनभने हामीले समयानुकूल, बिश्व बजार अनुसार ज्याला पाइरहेको छैनौं । विश्व श्रम बजार हेर्ने हो भने अधिकांश देशका मजदुरले पाउने ज्यालाले त्यो देश अनुसार राम्रो जीवनशैली बिताउन सक्छ । स्वास्थ्य उपचार र बिमा मजदुरको अर्को अधिकार हो । कार्यस्थलमा बिना सुरक्षा सामग्री काम गर्नुपर्ने बाध्यता त छँदै छ यदी दुर्घट्ना भएर अंगभंग भएमा वा ज्यान नै गुमाउदाको पिडा छुट्टै छ। तेस्तोमा आश्रीत परिवारको पालन पोषण  र शिक्षा दिक्षाको सुनिश्चितता हुने बिमा तथा  ऐन नियम अझै स्पष्टसंग लागू गरिएको देखिदैन । खाना त बासस्थान मजदुरको अर्को मुख्य समस्या हो । 

 

गुणस्तरीय र पौष्टिक खानेकुरा दिनहुँ खानु अधिकांश मजदुरको पहुँच भन्दा अझै पर छ । कार्य स्थलमा दिइने खाना हेर्ने हो भने प्रायजसो ठाउँमा मजदुरको लागि र मालिकका लागि फरक फरक खानाको ब्यबस्था गरिएको देख्न सुन्न पाइन्छ । खानामा पनि मजदुरमाथी भेदभाव किन ? होटलमा काम गर्ने मजदुरले समेत भनेजस्तो खाना र बासस्थान नपाउनु त झन बिडम्बना हो । शारिरिक शोषण,गाली गलौज, कार्य प्रकृती भन्दा बाहिरको काम, घरायसी काममा प्रयोग जस्ता बिषय त यत्र तत्र देख्न सकिन्छ । कार्य क्षमता बढाउन हौसला , प्रोत्साहन  दिने खालका गतिविधिहरू जस्तै मनोरन्जनात्मक कार्यक्रम, भ्रमण, खेलकुद, प्रोत्साहन भत्ता जस्ता कुराहरूको त भर्खर केही ठाउँमा अभ्यास हुन थालनी हुदै छ ।  

 

बैदेशिक श्रमिकको स्थिति 

मजदुरको  कुरा गर्दा छुटाउन नहुने अर्को पक्ष वैदेशिक रोजगारीमा जाने नेपाली मजदुरको बारेमा हो ।देशमा  समस्या तथा अबसर अभावमा विदेशीन बाध्य नेपाली मजदुरको पिडा त झन कहालीलाग्दो नै छ । विदेशी भूमि, फरक संकृति र रहनसहन, फरक सोच, विदेशी  कानुन, अमिल्दो खानपिन यी त समस्या नै होइन भन्दा पनि हुन्छ  । चाहे अध्ययनको सिलसिलामा होस या रोजगारीको गर्नुपर्ने त हामिले श्रम नै हो । सोचेभन्दा फरक र गार्हो  काम गर्नुपर्दा केही श्रमिक त सुरूवाती दिन देखि नै डिप्रेसनको सिकार हुन पुग्छन् । अन्य देशका श्रमिकहरूले गर्ने दुर्व्यवहार र शोषणको त कुरै छोडौं  आफ्नै सहकर्मी नेपाली दाजुभाइको  ब्यबहार र शोषणले निम्त्याउने हत्या र आत्महत्याको बारेमा त भनि साध्य छैन ।  नेपाली महिला श्रमिकले पाउने पिडा समस्याको बारेमा त दिनै पिच्छे आउने समाचारबाटै प्रष्ट हुन्छ । आफ्ना श्रमिक समस्यामा पर्दा अन्य देशका सरकारको त्यहाँ उपस्थिति देख्न सकिन्छ तर हाम्रो दुर्घटनामा मृत्यु हुँदा समेत शव स्वदेश सम्म पुर्याउन दुताबासको ढोका बारम्बार ढक्ढक्याउन पर्छ र पनि सोचे जति सहयोग नपाएको गुनासो बेला बेलामा बिभिन्न देशबाट सुन्ने गरिन्छ ।  नेपाल सरकारले बैदेशिक रोजगारीमा जादाखेर  जति सहजता नेपाली श्रमिकलाई दिएको छ तेही श्रमिक आफ्नै देश फर्कदा बिमानस्थलमा हुने व्यवहार र ल्याइएको सामानको झन्झटिलो प्रकृयाबाट श्रमिक माथीको दृष्टीकोण छर्लङ्ग हुन्छ ।   बिदेशमा हुने कार्य स्थल, सेवा सुबिधा, सुरक्षा जस्ता बिषयमा अहिले चर्चा नगरौं किनभने ती देशहरुको आ-आफ्नो कानुन अनुसार हुने कुरा हो। बैदेशिक श्रमिकको समस्या र पिडा हेर्ने हो भने अझ धेरै छन । सोचनीय कुरा के हो भने हामी वैदेशिक श्रमिक हुने स्थितिको सिर्जना कसरी भयो ? किन लाखौं युवा बिदेशी लाख संग आफ्नो देशको काख साट्नुपर्ने बाध्यतामा छन्  ? किन आफ्नै देशमा श्रम गरेर बाँच्न सक्ने आधार छैन ? कहिले सम्म हाम्रो देशले सामान होइन श्रम निर्यात गर्छ? धन कमाएर सुख दिन परदेशिएको सन्तान काठको बाकसमा फर्किदाको पिडा ती आमा बाबुलाई मात्र थाहा हुन्छ । यी र यस्तै धेरै समस्याहरु नेपाली वैदेशिक श्रमिकले भोग्दै आइरहेका छन् । 

 

समाधान के होला?

हामी श्रमिक किन सधैँ दोश्रो दर्जाको नागरिक जस्तो भएर बाँच्न विवश छौं, किन कानुन अनुसार हक अधिकार पाइरहेका छैनौं, किन माथी उल्लेखित समस्याहरू अझै श्रमिकले भोग्दै छन्? किनभने ती सबै मजदुर नियम कानुन हामीले होइन हाम्रो लागि अरूले बनाइएका हुन् । हो , हरेक बर्ष नारामा गुन्जिन्छ ” संसारका मजदुर एक हौं ” तर के हामी मजदुर एक छौं त ? पक्कै छैनौं, किनभने हामी कुनै न कुनै राजनीतिक पार्टी निकट मजदुर संगठनमा छौं , जसले आफ्नो अनुकुल कानुन र व्यवस्था बनाइदिन्छ जसमा मजदुरको हक अधिकार सुनिश्चित हुन सक्दैन । हामी मजदुर हौं मगजदुर होइनौं । तेसैले आफ्नो समस्याको समाधान हामी राजनितिक गोटी भएर  होइन, अरूबाट आश्रीत भएर होइन , अरूको दिमाग र बुद्दीले होइन  हाम्रो आफ्नै मगज प्रयोग गर्दै एक जुट भएर गर्न सक्छौं । अतः मजदुर बनौं,मगजदुर नबनौं!  जब सम्म मजदुर एक हुँदैनन् तब सम्म यी असमानताहरूको अन्त्य हुन सक्दैन । अन्त्यमा बिश्वमा फैलिएको कोरोना भाइरस  महामारी  कोभिड- १९ देखि सम्पुर्ण मजदुर साथिहरु सुरक्षित रहनुहोस् । तपाइ हामी सुरक्षित हुनु भनेको हाम्रो परिवार सुरक्षित रहनु हो। अनिवार्य माक्स तथा सेनिटाइजरको प्रयोग गरौं, सामाजिक दुरी कायम राखौं । अन्तराष्ट्रिय मजदुर दिवसको शुभकामना !

 

(दक्षिणकाली काठमाडौं निवासी सकृय सामाजिक अभियान्ता एंव लेखक राउत अहिले दक्षिण कोरियामा कार्यरत छन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *