२ जेष्ठ २०७८, आईतवार

बदलिँदो शहरमा उ(कबिता)

kamdardainik.com (First, Fast & Accurate)

-घरडी कमलेश

घामले कहिल्यै खोज्न नसकेको
भुइँतलाको अध्यारो कोठा
ढोका खोल्ने बित्तिकै लाग्ने ग्यास चुल्हो
खाट छेउमा
कालो पोलिथिनमा थोरै चामल अनि दाल
आधी भरिएको हो वा
आधी खाली हो पानीको जार
अनि खाटमा भित्ता अडेस लाएर
भित्ता नै हेर्दै
सोचमग्न छ एक अधबैंस कटेको मान्छे

 

बाहिरको थोरै चिहाउने उज्यालोको
लाजलाई छेक्न
सकि नसकि झुन्डिएको
पर्दाको एक छेउमा नुकिलो काटिले
क्यालेन्डर अड्काएको छ
महिना चलिरहेको मंसिर हो
क्यालेन्डरले भदौ अङ्कित गरेको छ
पल्टाउन सामर्थ्य नभएर हो वा
पल्टाएर सार्थक नहुने भएर हो
उस्ले खासै जोश देखाएको छैन

 

ढोकाको ह्याङ्गरमा केही कपडा उनेको छ
धेरै जसो भने उ मुन्तिरबाट
उन्मुक्तिको पर्खाइमा छन्
प्रकाश नपरेर हो वा
रंग खिइएर हो
मलिन भित्ताभरी
केही फोटोहरु गमको सहायताले
केही टेपको त
केही काटीले टागिएका छन्
बेलाबेला पाएका सम्मान पत्र
रगत दानका सर्टिफिकेट
अनि केही स्वयंसेवकका ट्याग
हो अहिले उ त्यहीँ हेरेर
मन्त्रमुघ्न छ
सायद अतित केलाई रहेको पो हो कि?

 

शहर पस्नु पहिलेका सपना
शहरका गल्ली र चोकले लुकाए
गाउँको सिकाइले
शहरको स्कुलिङ्ग सङ्ग मात खायो
बचेकुचेको केही थोपा ज्ञान
पार्टीगत भातृ संगठनलाई बलि चढायो
शहरको रहनसहन पछ्याउँदा
गाउँको पाखो बारी र खेत गुम्यो
कलेजको फि मात्रै तिरियो
कक्षा टेक्ने समय मिलेन
सबै को सबै तिरियो बा आमा रुवाएर
तर
बा-माँको ऋण तिरिएन

 

बर्ष बिते
समय फेरियो
लागेको बानी फ़ेरिएन
गाउँबाट आउने पैसाको बिटो रोकिएन
चालढाल सहरिया पक्कै भयो
विवेक र औंकात भएन
त्यही भएर नितान्त एक्लो छ्
अचेल शान्त छ
त्यही भएर त भित्ता हेरेर अतीत केलाउछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *