ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ ।
शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र वन्यजन्तु कोषसमेतको पहलमा ब्यूरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पतिलगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संवद्र्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गर्ने र प्रभावकारी रुपमा आपसी संवाद, सहकार्य गर्ने जिम्मेवारी ब्यूरोले पाएको छ ।
विसं २०७७ पुस २८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेअनुसार ब्यूरो गठन गरिएको हो । शिकार आरक्ष फैलिएका म्याग्दी र रुकुम पूर्वमा पनि ब्यूरो गठनका लागि सिफारिस गरी विभागमा पठाइएको कँडेलले जानकारी दिनुभयो ।
“यो एउटा एक्शन समिति हो, जसले संरक्षणमा विशेष ध्यान दिएर काम गर्छ”, कँडेलले भन्नुभयो, “शिकार आरक्ष क्षेत्रका वन्यजन्तु, वन पैदावार, वनस्पतिलगायतको संरक्षणमा ब्यूरोले विशेष काम गर्नेछ ।
” ब्यूरोमा जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, कारागार र जिल्ला हुलाक कार्यालयका प्रतिनिधिको सहभागिता रहनेछ ।
