नाफा गर चुत्के सावाँ ब्याज फुत्के

साहित्य

सरोज नेपाल

ह्यार्नुस सरोज माआँ हाम्रो राम्पुराँ त यस्तो खालेको चलन आइसक्यो । मैले पनि हिजो किनेर ल्याएँ। सेतो निलो र पहेँलो रङ मिश्रित त्यस बेलाको सबैभन्दा इज्ज्यतिलो warrior जुत्ता लगाऊँदै राम्पुरे भान्जा सुनिल(ठुली भान्जीदिदीको छोरा) ले भने । त्यहि जुत्ता र रेडिमेड नयाँ पाइण्ट लाएर आफ्नै सुरमा गाउन थाले “म त कति राम्रो केलादीको बोटे झैं सिरिखण्ड घोटे झैं ” । चम्किला अाँखा ,गोरो हिस्सि परेको अनुहारका धनी हाम्रा भान्जा साँच्चै राजाकै छोरो झैँ देखिए त्यो जुत्ता लगाउँदा । दशैमा किनेको रु साठीको खाकी रङको मेरो जुता र भान्जाको वारिएर जुत्तालाइ पालै पालो नियालेँ । भन्न त २६५ भन्दा रैछन तर तान्सिन मोहन दाइले चिनेको भएर २५० मै दिए । जुत्ताको मोल पनि सुनाएर मेरो सानो भान्दाइ(पाठशाला सान्बाबु / सुनिलको मामा ) सङ्ग घर भित्र छिरे।
काठमाडौमा प्रहरीको तालिम गर्दागर्दै सार्है सतायो , आजित गरायो भनेर तालिम गराउने गुरुबालाइ नै मुक्का हानेर भागेका र त्यस बेला लापता जस्तै भएका मेरा सान्दाइ(मोहन) टुप्लुक्क आएर इ…. ह्यार्त तँलाई ल्याइदेको भनेर भान्जाको जस्तै जुत्ता ल्याइदिएको कल्पना गर्दै तिनढुङ्गेको ओरालो झरेँ। भारतीय फौजका लागी जुत्ता सिलाउने पेशाबाट सेवानिबृत्त भएका ऐतबीर नेपाली (एक खुट्टे बा)ले पनि अर्डर बमोजिमका जुत्ता बनाऊँथे जम्मा दुइ प्रकारको डिजाइनमा चुच्चे र मुन्डे, तर त्यसको मुल्य मलाइ मिल्ने साइजको कम्तिमा पनि १५० पर्थ्यो होला । एक खुट्टे बाले बनाएका जुत्ता आकर्षक त हुन्थे झण्डै बाँसबारीजुत्ता कारखानाको जस्तै तर शुरु शुरुमा खुट्टामा एक घन्टा लगाए दुइ घन्टा हातमा लिन पर्थ्यो रे खुट्टा दुखाएर । बेला बेलामा हिन्दी समेत मिसाएर बोल्ने एक खुट्टे बाले आफै भन्थे ” नए कुत्ते और नए जुत्ते हर्दम काटते है । भान्जाको जुत्ता जस्तो आकर्षक र आरामदायी पनि नभएकाले एक खुट्टे बाले बनाउने जुत्तामा मेरो रुची भएन । बुट्यान चौपारीमा बसेर मन मनै प्रतिज्ञा गरेँ ” अबको एक हप्तामा मैले पनि warrior जुत्ता लाऊँछु” तर पैसा खै ?………। त्यत्रो २५० कसरी जुटाउने ? घरमा माग्ने कुरै भएन , अस्ति भर्खर दशैमा किनेको हैन भन्ने जबाफ पक्का आउँथ्यो ।
दशैमा टीका लाऊँदाको २३ मोहोर जस्ताको तस्तै थियो । अरु पैसा जुटाउने उपाय सोच्दै जाँदा बर्भेली गोविन्दले भनेको सम्झिएँ । उनको को हो आफन्तले रम्भापानीको जर्मष्टमी मेलामा झण्डा बुर्जा(लङ्गुर बुर्जा) खेलाएर २२०० कमाए रे । त्यहि उपाय उपयुक्त लाग्यो र मेरो २३ मोहर र भाइकान्छा(तिर्थ) को ९ मोहोर गरेर जम्मा १६ रुपियाँमा गोटी र चित्र अङ्गित कपडा (टाट) किनियो । भाइटिकाको दिन कतिबेला टिका सकिएला र फेदी लाहुर्नी आमै (चुम्की)को घर अगाडी गएर झण्डा बुर्जा खेलाउला भन्ने हुटहुटीले सताइरह्यो ।
पारी जम्दारको घरमा ब्डुम्म बन्दुक पड्क्यो । ” “लौ है त्यार्को टिकोको साइत भएछ, छिच्छिटो गर” आमाले भन्नु भो। चिउरीको पातको ठूलो बुट्टे टपरी भरीका थरी थरीका रोटी छुदै नछोइ गनेर खाटमुनी लुकाइ हतार हतार भात खाइ दिदी बैनीलाइ दिएको दक्षिणा समेत सापटीको रूपमा फिर्ता मागेर, सापट नदिनेलाइ “कि सापट दे नत्र तैले लाइदेको टिका पुछ्दिन्छु मेरो पैसा पनि फिर्ता ल्या” भनि धम्क्याएर, तल माथी सर सापट समेत गरेर दुइ भाइ लागियो। मेरो जुत्ताको योजना कान्छालाइ थाह थियो ठाँटीनेर पुग्दा कान्छाले भन्यो ” दाइ मलाइ पनि ह्वाएर ह्वाएर जुत्ता किन्दिन पर्छ है”। ल ल भन्दै एकैछिनमा ठाउँमा पुगियो । पुग्नासाथ मैले सिकाएजस्तै गरी कान्छाले भन्न थाल्यो । लौ मौका मौका , रोपे फल्छ रोपे फल्छ ,एकको तीन पाँचको पन्ध्र एकको तीन पाँचको पन्ध्र , खेल शुरु भैहाल्यो। एउटामा पाँच रुपियाँ भन्दा बढी थाप्न नपाइ एउटामा पाँच ……….मैले आदेश दिए। “मेरो एक बाट दुइ अनि चार पनि खाइस अब दस हान ” भट्टीको नारायणीले जोस्सिदै भनि। मैले दस पाइन्न मात्रै के भन्याथे किन पाइन्न अघि भन्याथिस ? खानी बेलामा खाइदिन्छ अहिले हुन्न गरे अझै भन्दै रिसाइ नारायणी। भाड्बारी सुर्जे, बाङ्गेटिङ्गे बेसीको कर्ने , भट्टीको सारदा, भट्टल(देवी बहादुर) सबैले उसैको कुरामा हो मा हो मिलाए । आखिर इट्टामा दश हान्नै पर्यो डबल पर्यो , बीस तिरियो मन अमीलो भयो । खेलाउदै जादा खेल अलिक बढ्दै गयो । रानाकान्छा बाले पानमा दुइ चार आठ सोर्ह बत्तिस गर्दै थापे तर परेन अब चौसट्ठीको पालो थियो । त्यत्रो पैसा नहानौ भने काँचै खाउला जस्तो गर्लान , कान्छा सङ्ग सोधेँ पैसा कति छ ? “बाउन्न” जबाफ दियो कान्छाले । पान तिरअ……ल भन्दै रानाकान्छा बाले पैसा थापे यस पटक भगवानले उनको सुनेछन साँच्चै पानमा तृबल पर्यो । ले ले ले बाहुन छिटो ले नौ बीस बार्ह ले कान्छाबा उफ्रिहाले। हैट कति छिटो हिसाब गर्न भ्याइसकेका। भएको बाउन्न , तुरुन्तै गोटी र टाट बेचेको बीस गरी बहत्तर बुझाइ भाइलाइ उनिहरुसङ्ग धितो राखेर नपुग १२० खोज्न गए। लामाचौर गोविन्द, माथी केशव आदी सङ्ग गरेर १२० सापटी लिइ पैसा बुझाएर धितो राखेकोभाइलाइ छुटाएर लिएर आए । warrior जुत्ताको रहरले उल्टो रिन बोकायो । भिखोक खोला सम्म आउँदा उताबाट चिच्याउदै थिए “नाफा गर चुत्के सावाँ ब्याज फुत्के ।