११ असार २०७८, शुक्रबार

रोडीदेवल दुर्घटनाले निम्ताएको बहस: युवा सामाजिक अभियन्ता महताको मार्मिक सन्देश

kamdardainik.com (First, Fast & Accurate)

 

राजनीति समाज सेवा हो । देश र समाजको भलाईका लागि केही गर्छु भन्नेहरुका लागि हो । तर त्यो व्यवहारिक रूपमा देखिनुपर्छ, बोली र गफले मात्र हुदैन। खासगरी नेताको त्यो नेतृत्व जनतालाई परेको आपत बिपदका बेला अझ बढी देखिनुपर्छ। तर जनतालाई दुःख, बिपद परेको बेला जनताका प्रतिनिधि हौं भन्ने हरु जनतालाई परेको बिपदका बेला सहयोग गर्नुको साटो टाढा भाग्छन र सहयोगका लागि न्युनतम मानवीय समबेदना समेत देखाउदैनन भने तिनका प्रति जनताको आक्रोश पोखिनु स्वाभाविक हो।

बैतडीको पंचेश्वर-६ रोडिदवलमा अस्ति भएको कहाली लाग्दो जीप दुर्घटनाले गाउँलाई मात्र होइन, सिंगो तल्लो स्वराड लाई नै स्तब्ध बनायो। वडा सदस्य गोविन्द सिंह भण्डारीको चट्याङ लागेर मृत्यु भएपछि उनको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम लैजाने क्रममा सोही क्षेत्रका जनप्रतिनिधिहरुको आँखा अगाडी शव बोकेको गाडी भीरबाट खस्दा त्यसमा सवार ६ जनाको मृत्यु र अन्य ४ जना गम्भीर घाइते भए। तर अचम्मको कुरा त के देखियो भने जन प्रतिनिधिहरुको आँखा अगाडी जीप भीरबाट खस्दा जन प्रतिनिधिहरु उद्दार गर्नुको सट्टा भागेर सदरमुकाम हानिए। घटनामा गम्भीर रुपमा घाइतेहरुको उद्धारमा खटिएका स्थानीय आफन्तहरुका अनुसार घाइतेहरुलाई जिल्ला अस्पताल सम्म ल्याउन र त्यहा समेत उपचार हुन नसकेपछि कोबिड महामारीका बीच घाइतेहरुलाई धनगढी ल्याएर आफन्तहरु अस्पताल र बेडको खोजीमा रात भर भौतारिए। गाउँले र आफन्तहरुको सहयोगमा बल्ल तल्ल अस्पताल खोजेर बिरामी बेड भर्ना गरियो। दुखको घडीमा जसको आफन्त, परिवार परेको छ, जसको घरको चुलो निभेको छ, जो माथि आइपरेको छ, तिनीहरूलाई मात्र थाहा हुन्छ। सहजीकरण र सहयोगका लागि सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरु र नेताहरुसंग संपर्क गर्न खोज्दा न त फोन नै उठाउछन। न सम्पर्कमा आउँछन्। फोन उठाउनेहरु पनि ब्यस्त छु , पछि फोन गर्नु भन्दै पन्छिएपछि सामाजिक सञ्जालमा स्थानीयहरुको आक्रोश बढेको छ।

 

नेताहरुको यस्तो व्यवहार पछि दुख व्यक्त गर्दै सामाजिक अभियन्ता जितेन्द्र सिंह महताले बिगतमा यस्तो नभएको र सदभाव, सहकार्य र जुटेर जनताको काममा खटिने गरेको सम्झन्छन। उनी भन्छन- काठमाडौंमा क्याम्पसको विद्यार्थी र स्वराड विकास समाजको सचिव हुँदै गर्दा आफू र अरु अग्रज ब्यक्तित्वहरुको सहयोगमा स्वराड क्षेत्रको विकास र त्यहाको स्वास्थ चौकी निर्माण र उच्च शिक्षाको लागि हामी सबैले मिलेर दौडधुप गरेका थियौं। विभिन्न योजना र तिनको कार्यन्वयनमा देखाएको तदारुकता अनि बेथिति बिसंगति र तिनको समाधानमा पहल कदमी पनि गर्थ्यौं। त्यो बेला सहयोग गर्ने सबैलाई सम्झिदै गर्दा अहिले देखिएको भ्रष्टाचार, कालोबजारी र कुरितीले जर्जर बनाएको बताउछन। काम गरेका र गुन लगाएका मान्छेहरुलाई बिर्सनु, सामाजिक कार्यभन्दा ब्यक्तिपरस्त भएको अहिलेको वातावरण प्रति पनि खेद प्रकट गरेका छन।

 

अहिलेका ठुला भनाउदा र आफुलाई उच्च देखाउने र ठुला नेता मान्नेहरुलाई इंगित गर्दै उनी लेख्छन् “महाशयले त्यो क्षेत्रमा कुनै सिन्को नभाच्दै त्यो क्षेत्र नटेक्दै देखि शिक्षा, स्वास्थ्य, यतायात, सिंचाइ लगायत विभिन्न क्षेत्रमा सकेको पहलकदमी गरेर आफ्नै पसिनाको कमाईबाट सानै भएपनि योगदान गरेको छु। देश, समाज राम्रो हुनुपर्छ हामी जस्ताले राजनीति गर्नु आवश्यक छैन। अविकसित देशको राजा बन्नु भन्दा विकसित देशको एक नागरिक बने हुन्छ । हामीलाई अन्य कुनै कुराको प्रबाह छैन तर जुन क्षेत्रबाट दानापानी, नुन खाएको छ त्यसको गुनचाहिँ तिर्नुपर्छ । एकैनासको दिन कसैको हुंदैन। जसको काधमा टेकेर माथि पुग्यौ, तिनीहरू माथि धोका धडी नगर।

 

अहिले वर्तमान परिपेक्षमा घटिरहेका घटना र विभिन्न बेथितिहरुलाई उहाको सुझाव छ “यो विपत र विभिन्न किसिमका घटनामा पनि नाफा, नोक्सानको हिसाबले होइन, मानवीय संवेदना, मानवीय भावले काम गरौं, समाजका लागि गरौं। यस्ता बिना काममा पैसा पचाउने सडकको आवश्यकता छैन यस्ता सडकको फुई कसैले नगरे हुन्छ यी ज्यानमारा सडक हुन बरु पैदल नै ठीक छ। जथाभावी डोजर आंतक गरेर जनताको ज्यान र खुन पसिनाको स्वाहा नगरौं । काम गरे राम्रो गरौं , गुणस्तरीय काम गरौं । सकिँदैन भने विकासको नाममा डोजर आंतक गरेर ठाउँ ठाउँमा दुर्घटना गराउनुभन्दा भोक, शोकले मर्न लागेका नागरिकहरुलाई राहत र उपचार गरेर बचाउन लागौं । राम्रो अस्पतालको प्रबन्ध गरौं । गलत कामको फल गलत नै हुन्छ। अहिले नै कसैले केही नभने समय र युवा पुस्ताले अवश्य जवाफ दिनेछ।”

 

जितेन्द्र महताको यो प्रतिक्रियालाई पछ्याउँदै पत्रकार पदम राज जोशी लेख्नुहुन्छ- जितेन्द्र भाईले पुरानो दिनको याद गराउनुका साथै वर्तमान स्वराडको यथार्थ चित्रण पनि गर्नुभएको छ। उहाँले स्वराड विकास समाज मार्फत गर्नुभएको योगदानको यहाँका बासिन्दाले प्रत्यक्ष फाइदा लिनुका साथै स्वास्थ्य चौकी निर्माणमा होस या शिक्षाको क्षेत्रमा होस् अतुलनीय योगदानप्रति सधैं नतमस्तक छन् ।
त्यस्तै हाल जापानमा रहेका विद्यार्थी कालु महताले उहाँको भनाईमा सहमती जनाउदै सन्तुलित विकासका कुरामा आएको समस्यालाई समाधान गर्न जितेन्द्र महता जस्ता सामाजिक व्यक्तिहरुको खाँचो रहेको औल्याएका छन्।

 

पत्रकार खेम साउदले उहाँको भनाईलाई समर्थन गर्दै अहिले राजनीतिमा देखिएको नोकरसाह र चाकरीवाजहरुको दुर्गन्धित प्रबेशले राजनीतिमा नैतिक पतन आएर यसले जनताको भावनासँग खेलवाड गरिरहेको अभिव्यक्ति दिएका छन।

 

सामाजिक अभियन्ता बल्देब सिंह चाड र सु.प. समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष लाल साउद तथा स्वराड विकास समाजका पूर्व अध्यक्ष देबेन्द्र भट्ट लगायत बुद्धिजीवी सामाजिक अगुवाहरुले समर्थन तथा प्रतिक्रिया जनाउदै नेताहरुमा निष्पक्ष समाजसेवा र नैतिक राजनितीको अभाव रहेको र नेताहरुले बिपरित परिस्थितिमा जनताको पीर मर्का नबुझ्नु दुखद रहेको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *