११ असार २०७८, शुक्रबार

आमाको वृद्धालय

kamdardainik.com (First, Fast & Accurate)

अग्निराज पौडेल ‘अराप’

प्रसवपीडामा छट्पटाइरहँदा
बेपत्ता पारिएको लोग्ने
धेरै आरोप, लाञ्छना
गरिबी र अभावलाई आत्मसात गर्दै
आफन्तका कटु वचन र
समाजको अपमानलाई चुपचाप सहेर ।

बालआश्रम वा अरूलाई पाल्न दिने
छरछिमेकी र केही शुभचिन्तकहरूको
कठोर सल्लाहको बेवास्ता गर्दै
पिठ्युँमा भारी बोकेर उकालो–ओरालो गर्दा
बर्काेमा झुलाइन् छातीमा टाँसेर बोकिन्
मेलापात, रोपाइँ, घाँस–जङ्गल, झरी–बतास
एकैछिन टाढा हुन नदिई हुर्काइन्
आँखाकै नजिक राखेर
मुटुमै जोडेर ।

आफू भोकै सुतिन् कति रात
उसलाई पेटभरि ख्वाएर
लगलगी काँप्दै आफू
कठ्याङ्ग्रिँदो जाडोमा
थोत्रो बर्काे र फाटेको पछ्यौरीले बेरेर
सुताइन् छातीमा टाँसेर ।

नखाँदा को खाइ, को खाइ भन्दै फुल्याइन्
नपढ्दा हिर्काइन् मायालु हातले
नटेर्दा रिसाइन् मुटुभरि माया सजाएर
बदमासी गर्दा हप्काइन् पनि मधुर स्वरले
र टाढा हुन दिइनन् कहिल्यै ।

सँगसँगै रोइन् छेउमै बसेर
चिसो–तातो औषधि गर्दै
अनिँदो बसिन् कयौँ रात
सामान्य बिरामी पर्दा पनि ।

बाध्यता थियो वा रहर
ढुङ्गा फुटाउनु, माटो खन्नु
रोपाइँमा जानु, बस्तु चराउनु
जे काम भेटिन्, जे सकिन् त्यही गरिन् ।

समाजमा ठालु कहलिएका
आबारा, कुकुर र मैमत्त
साँढेहरूको गिद्देदृष्टिबाट
जोगाउँदै आफ्नो यौवनलाई
लागिरहिन् आफू बाँचेर
सन्तानलाई बचाउन ।

देवालय, औषधालय
विभिन्न मठमन्दिर धाइन्
र केही न केही मागिरहिन्
आफ्ना लागि होइन
उसैका लागि ।

थिइनन् उनी लडाकु लक्ष्मी बाईजस्ती
तर पनि
जाइलाग्थिन् घाइते बघिनीजस्तै
उसको सुरक्षाका लागि ।

हुन सकिनन्
क्लारा जेट्किन र जेनी माक्र्स
बन्न सकिनन्
गोर्कीकी उपन्यासकी महान् आमा
गरिनन् कुटिल राजनीति
इन्दिरा गान्धीले झैँ
भइनन् त्यागी र विद्रोही योगमाया
न कौशल्या, न त कैकेई
सबरी हुन् वा यशोदा
मात्र आमा थिइन् आफ्नो सन्तानको ।

उनलाई चाहिएन
श्रवणकुमारजस्तो आज्ञाकारी
चाहिएन राम/रावण
कर्ण/अर्जुनजस्ता शूरवीर सन्तान
चाहिएको थिएन उनलाई हनुमान
भीम र दुर्योधनजस्ता बलशाली
अमरसिंह, भक्ति, बलभद्रजस्ता
वीर पनि चाहिएन
आइन्स्टाइन खोजिनन् उसमा
न हिटलर वा सुवासचन्द्र बोस
न त इच्छा नै थियो महात्मा गान्धीको
पुग्छ मात्र समाज र राष्ट्र बुझ्ने
सामान्य सन्तान भइदिए ।

कर्मलाई धर्म मानिन्, सत्यलाई देवता
आनन्दित भइन् शिक्षित, सम्मानित,
खुसी र सुखी सानो परिवार बनाएर
संसारको सारा सुख र खुसी
अनुभव गर्न थालिन्
विगतका दुःख, कष्ट र पीडालाई बिर्सिएर ।

तर
देखियो, दोहोरियो विडम्बना !
व्यस्त सहरको एकान्त र शान्त
ठूलो मन्दिरको आडैमा
सहरकै सम्मानित व्यक्तिको
प्रमुख आतिथ्यका
सम्मान गरिँदै थियो
वृद्धाश्रम निर्माण र सञ्चालनमा
विशेष योगदान गरेकालाई ।

भव्य कार्यक्रममा
खुसी साटासाट भयो
सम्मान दिने र पाउनेको
प्रत्यक्ष प्रसारणमा सहभागी, समाजसेवी
पत्रकार, गन्यमान्यका साथमा
वृद्धालयका सञ्चालक र वृद्धहरू ।

तालीको गडगडाहट
विशेष सहयोगको घोषणा गरे प्रमुख अतिथिले
पुनः ताली र जयजयकार
फूलबुट्टा भरेर धन्यवाद ज्ञापन गरे
वृद्धाश्रमका सञ्चालकले ।

कार्यक्रमको पछिल्लो कुनामा
सनपाटजस्तो सेतो कपाल
चाउरी परेको अनुहार, रोगी र कमजोर काया
आँखाबाट झरेका आँसु पुछ्दै
घुँक्कघुँक्क भक्कानिँदै
जोडजोडले ताली पिट्दै थिइन्
तिनै आमा !
कसैले नदेख्ने गरी मुन्टो लुकाएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *