काठमाडौं उपत्यकामा पछिल्लो पटक नयाँ संक्रमितको भन्दा निको हुनेको संख्या बढि रहेको छ ।
उपत्यकामा पछिल्लो २४ घन्टामा ३ हजार ५४४ जना निको भएका छन् । काठमाडौंमा ३ हजार ३१, ललितपुरमा ३२४ र भक्तपुरमा एक सय ८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । उपत्यकामा हालसम्ममा एक लाख ५७ हजार ८२६ जना संक्रमित निको भइसकेका छन् ।
त्यसैगरी पछिल्लो पटक थपिने कोभिड १९ का नयाँ संक्रमितको संख्या ३ हजार ३४९ रहेको छ । काठमाडौंमा २ हजार ४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख नाघेको छ । हालसम्म उपत्यकामा २ लाख एक हजार ७७७ जना कोभिड १९ बाट संक्रमित भइसके ।
हाल उपत्यकामा ४२ हजार ४०४ जना सक्रिय संक्रमित उपचाररत छन् । ४० हजार ५७९ संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ८२५ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा रहेका १८५ जनामध्ये १०५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ । गएको २४ घण्टामा उपत्यकामा ६७ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ४८, ललितपुरमा ११ र भक्तपुरमा ८ जना संक्रमितको मृत्यु भएको हो ।
