काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरेर सबै नागरिकलाई लगाउने प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार जनताको जीवन रक्षाको लागि गम्भिर र संवेदनशिल नभएको निष्कर्ष निकाल्दै कोरोना नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रवन्ध मिलाउन माग गरेको हो ।
जनताको जीववन रक्षाको निम्ति सरकार गम्भिर बन्नुपर्नेमा बैठकले जोड दिएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । उनले भने – ‘कोभिड १९ नियन्त्रणका लागि सरकार गम्भिर बन्नु जरुरी छ । स्वास्थ्य सामाग्री, उपकरण, भ्याक्सिन ठुलो मात्रामा आयात गर्नुपर्नेछ । त्यसको प्रवन्ध गरेर हरेक नेपाली नागरिकलाई तत्कालै भ्याक्सिन लगाइदिने । कुटनीतिक प्रयत्न गरेर सबै नागरिकलाई भ्याक्सिन लगाइदिने प्रयत्न गरियोस् । जनताको जीवनरक्षामा सरकार गम्भीर बनोस् भन्ने हामी जोड दिन चाहान्छौँ ।’
