माधव प्रसाद आचार्य
लेखकका प्रकाशित कृतिहरु
—विगतका अनुभव (कविता संग्रह)
—मनको तरंग (कविता संग्रह)
—भक्ति सुमन (भजन संग्रह)
—कलिकालमा महिला हिंसा (सत्य घटनामा आधारित)
—सम्झनाको तरेलीमा शहिद सरोज (तपाईको हातमा)
—जन आकांक्षा स्वर्ण जयन्ती
मध्ये तराइको केन्द्र जनकपुरधामलाई मुख्य कार्य क्षेत्र बनाएर ५० वर्ष भन्दा लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आउनु भएका वरिष्ठ पत्रकार माधव आचार्यको ८० वर्षमा निधन भएको छ । बुढानिलकण्ठ नगरपालिकाको आकाशे धारास्थित आफ्नै निवासमा वि.सं.२०७८ साल जेठ ०८ गते बिहान उहाँको निधन भएको हो । वरिष्ठ पत्रकार आचार्य विगत केही वर्षदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । गत वर्ष मात्र उहाँको स्वास्थ्य उपचार पहिला काठमाडौं र पछि संयुक्त राज्य अमेरिका भएको थियो ।
नेपाल पत्रकार महासंघ, धनुषाको दुई कार्यकाल सभापति समेत रहिसक्नु भएका आचार्यले आप्mनै सम्पादन तथा प्रकाशनमा जनआकांक्षा साप्ताहिकलाई वि.सं.२०२४ सालदेखि नियमित रुपमा प्रकाशन गर्दै आउनु भएको थियो । लोकतन्त्रप्रति आस्थावान आचार्य लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको संस्थापक सदस्य रहनु भएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागी भएकाले पटक पटक जेल पर्नु भएका वरिष्ठ पत्रकार आचार्यले निर्दलीय पञ्चायती शासनकालमा समेत जनआकांक्षा साप्ताहिकको प्रकाशनलाई निरन्तरता दिनु भएको थियो ।
सम्झनाको तरेलीमा सरोज कोइराला , कलिकालमा महिला हिंसा गायत आधा दर्जन कृति प्रकाशित गरिसकेका स्व.आचार्यका एक श्रीमती, तीन छोरा, बुहारी र दुई नातिनातिनी छन् । कृषि व्यवसायबाट पत्रकारिता व्यवसायमा रुपान्तरित भएका आचार्यका तीन छोरा र तीन बुहारी नै चिकित्सक छन् ।
वाक तथा प्रकाशन स्वतन्त्रताका लागि जीऊ धनकै बाजी
व्यवसायिक पत्रकारिताको ५० वर्षे यात्रा
—माधव प्रसाद आचार्य
सम्पादक÷प्रकाशक
जन आकांक्षा साप्ताहिक
व्यवसायिक पत्रकारिताको ५० वर्षे यात्रा पार गरिसक्नु भएका धनुषा जिल्लाबाट ४८ वर्ष अगाडिदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आइरहेको जन आकाँक्षा साप्ताहिकका सम्पादक÷प्रकाशक माधवप्रसाद आचार्यले जुन बेला जनकपुरधामबाट पत्रकारिता आरम्भ गर्नुभएको थियो, त्यसबेला आम नेपाली जनतालाई आजको जस्तो मनमा लागेको कुरा बोल्न र लेख्न (अभिव्यक्ति स्वतन्त्रता वा वाक तथा प्रकाशन स्वतन्त्रता ) पाउँने अधिकार थिएन । त्यसैले आम नेपाली जनता र पत्रकारहरु साहित्यको सहारा लिएर आफूलाई लागेको कुरा लेख्न पुग्थे र साहित्यकै माध्यमबाट आफ्नो मनमा लागेका बुरा बोल्ने गर्दथे । त्यतिगर्दा पनि कुनैबेला तत्कालिन निरंकुश निर्दलीय शासकहरुको पत्रपत्रिका र पत्रकारहरुमाथि बक्रदृष्टि पर्न पुगिहाल्थ्यो । त्यसबेलाका पत्रकारहरुले अनेक प्रकारका लाक्षणिक र प्रतिकात्मक बिम्बहरु सिर्जना गरेर (कु)शासनको आलोचना गर्न बाध्य थिए । कतिपय अवस्थामा त रातभरि पत्रिकाको छपाई काम सकेर बिहान सबेरै (६ बज्नु अगाडि नै ) जनकपुरधामको रेलबाट जयनगर भाग्नु पर्ने अवस्था आउँथ्यो । वाक तथा प्रकाशन स्वतन्त्रताका खातिर आज जनकपुरधामको मात्र नभएर नेपालकै वरिष्ठ पत्रकारको रुपमा परिचित माधवप्रसाद आचार्यले ती सबै काम गर्नुभयो जुन काम अन्य आम स्वतान्त्रता प्रेमी पत्रकार र नागरिकहरुले गर्दथे । वाक तथा प्रकाशन स्वतन्त्रताका लागि उहाँले आफ्नो जीउ धनकै बाजी राखेर काम गर्नुभयो । निरंकुश निर्दलीय पञ्चायती व्यवस्थामा प्रजातन्त्रवादी पत्रकारहरुले पत्रपत्रिका प्रकाशन गर्न आफ्नो खल्तीबाट पैसा लगानी गरेर ठूलो जोखिम मोलेर जीउधनको बाजी राख्नु पथ्र्यो । आज नेपाली पत्रकारिताले जुन उन्मुक्त वाक तथा प्रकाशन स्वतन्त्रता पाएको छ, विगतमा उहाँहरुले लिएको जोखिमकै परिणाम हो भन्ने मान्यता राख्नुहुने आचार्य निर्दलकालमा आफ्नो पुस्ताले त्यो जोखिम नलिएको भए नेपाली पत्रकारिताको आजको पुस्ताले आफ्नो स्वतन्त्रताका लागि संघर्ष गर्नु पर्ने बाध्यता हुन्थ्यो । वाक तथा प्रकाशन स्वतन्त्रताका लागि पैतृक सम्पतिको ठूलो हिस्सा खर्चेर मात्र नपुगेर अनेक प्रकारका हण्डर खेप्नु भएका आचार्यलाई आज पत्रकारहरु पनि बैंकका सिइओहरुले जस्तै तलब भत्ता सहितको ठूलो धनराशीको सुविधा पाउँछन् भनेको सुन्दा गौरव लाग्छ ।
जनकपुरधामलाई आफ्नो कार्यक्षेत्रको केन्द्रबिन्दु बनाएर सक्रिय पत्रकारिता गर्दै आइरहनु भएका आचार्यले वाक तथा प्रकाशन स्वतन्त्रताको उद्देश्य पूरा गर्नका लागि के मात्र गर्नु भएन ! निर्दलीय पञ्चायती व्यबस्थाको कोपभाजनदेखि त्यस व्यवस्थाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्ताहरुको असामाजिक र जनबिरोधी गतिविधिहरुको जनआकाँक्षा साप्ताहिक मार्फत भण्डाफोर मात्र गर्नुभएन, सो व्यवस्था नै निरंकुश भएको उजागर गर्दै निर्दलय पञ्चायतमा लागेकाहरु निरंकुशन र तानाशाही शासक भएको तथ्य जनता समक्ष उदाङ्ग समेत पारिदिनुभयोे ।
पारिवारिक पृष्ठभूमि र शिक्षा
गाँस, वास र कपासको दैनिक गुजारा चलाउनका लागि उहाँलाई केही कुराको पनि कमी थिएन । पिता……… ले जोगाएर राखेको जग्गाको आम्दानीबाट नै उहाँको घरको दैनिक गुजारा राम्रो चलिरहेको थियो । ब्राम्हण परिवारको कुलदीप भएकाले छोरो धेरै पढेर विद्वान बनोस् भन्ने पिताको सदिक्षा थियो । त्यो जमानामा पढ्ने कुरा चानचुने थिएन र आम सर्वसाधारण सबै नेपालीले आफ्ना छोराछोरीलाई पढाउँदैनन् पनि थिए । ज–जसले पढाउँथे, तिनीहरु समाजका विशेष हुनेखानेमा स्वतः दरिन्थे । त्यस्ता पिता…….का कनिष्ठ सुपुत्र हुनुहुन्थ्यो–त्यो बेलाका माधवप्रसाद आचार्य र मातापिताकै जोडबलमा पढ्नका लागि जनकपुधाममा बस्न पुग्नु भएको थियो ।
आज भन्दा ७२ वर्ष पहिला सिन्धुली जिल्लाको रातमाटा बोहोरेटारको जैसी गाऊँमा जन्मनु भएका आचार्यको पढाइका अतिरिक्त जनकपुरधाम क्षेत्रमा चिरपरिचित निर्दलीय पञ्चायती व्यवस्थाका बिरोधी र प्रखर प्रजातान्त्रिक सवाजवादी नेता सरोजप्रसाद कोइराला(प्रजातन्त्रवादी सहिद)संग हिमचिम बढ्यो । निक्कै चतुर र फूर्तिलो युवक आचार्यले छोटै समयमा कोइरालाको मन जित्न सफल एक विश्वास पात्र बन्न पुग्नुभयो र उहाँले ने.काँ.को सदस्यता पनि सरोज कोइरालाबाटै लिनुभयो । त्यसबेलादेखिको कोइराला परिवारसंगको निकटता आजसम्म पनि अटल छ ।
कोइरालाकै प्रेरणाबाट आकाँक्षा साप्ताहिकको प्रकाशन
पत्रकार आचार्यले तत्कालिन नेपाली काँग्रेसका नेता सरोजप्रसाद कोइरालाको प्रेरणा र हौसलाबाट आकाँक्षा साप्ताहिक(साहित्यिक पत्रिका)को प्रकाशन आरम्भ गर्न पुग्नुभयो । राजनीतिसंग सरोकार नराख्ने र विशुद्ध साहित्यिक सिर्जनालाई मात्र प्रकाशन गर्ने अनुमति प्रशासनबाट लिएर प्रकाशन आरम्भ गरिएको आकाँक्षा साप्ताहिकको उद्देश्य भनेको साहित्यलाई माध्यम बनाएर बहुदलीय प्रजातन्त्रको वकालत गर्नुकासाथै जनकपुरधाम र आसपासको क्षेत्रमा निर्दलीय पञ्चायती व्यवबस्थाका बिरुद्ध जनमत तयार गर्नु थियो । जुन उद्देश्यका लागि आकाँक्षा साप्ताहिकको प्रकाशन आरम्भ गरिएको थियो, त्यो त गर्नु नै पर्ने थियोे । तर त्यो तत्कालिन निर्दलीय शासक र चटुकार(सत्ताका दलाल)हरुका लागि सैह्य हुने कुरै भएन । त्यसैले आकाँक्षा साप्ताहिकमाथि स्थानीय प्रशासकको कुदृष्टि प¥यो र राज्य सत्ता नै बैरी बनेर खनियो । वाक तथा प्रकाशन बिरोधी तत्कालिन निर्दलीय पञ्चायती निरंकुश शासकको तारो मात्र बनेन आकाँक्षा साप्ताहिक शिकार नै भयो स्थानीय प्रशासनले सधैंका लागि बन्द(प्रतिबन्ध) गरिदियो ।
आकाँक्षाको पुनर्जन्म जनआकाँक्षा
पत्रकारिताको रसवादन(चस्का) गरिसक्नु भएका युवा पत्रकार माधव आचार्यका लागि पत्रिका बिहिन हुनु भनेको आत्महत्या गर्नु बराबर जस्तै हुन पुग्यो । फेरि जुन उद्देश्यका लागि आकाँक्षा साप्ताहिकको प्रकाशन आरम्भ गरिएको थियो, त्यो उद्देश्य पनि त पूरा भएको थिएन । त्यसैले फेरि आकाँक्षा साप्ताहिक जनकपुरधाम र सो आसपासको बहुदलीय प्रजातन्त्रवादी काँग्रेसी जमातमा तत्कालिन समयमा एउटा विशेष ताजा बहसको बिषय नै बन्न पुग्यो । आचार्यका लागि त्यो बहस के खोज्छस् काना आँखो जस्तै हुन पुग्यो । त्यसपछि सबै शुभचिन्तक र सहयात्रीहरुको योगदान सहितको प्रेरणाले प्रकाशन सामग्रीमा आमूल परिवर्तन भएर आकाँक्षा साप्ताहिकको पुनर्जन्म जनआकाँक्षा साप्ताहिकको रुपमा भयो । यद्यपि त्यो समय निर्दलीय पञ्चायती व्यवस्थाको निरंकुशता चरमोत्कर्षमा थियो । प्रजातन्त्रवादीहरुलाई निर्दलीय निरंकुश शासकहरुले अराष्ट्रिय तत्वको बिल्ला लाएर अनेक बहानामा पक्राउ गर्ने, अनेक प्रकारका दुःख दिने, भाग्यो भन्ने बहानामा गोली ठोकी मारिदिनेसम्मका कुकार्यहरु गर्दथे । पत्रपत्रिकाहरुले निर्दलीय पञ्चायतको बिरुद्धमा ‘प’ पनि लेख्न पाइदैन थियो । त्यस्तो बेलामा पनि आचार्यले निडरताकासाथ जन आकाँक्षालाई प्रजातन्त्रको असल पहरेदार पत्रिकाको रुपमा प्रकाशित गर्ने जोखिम लिनुभयो । उहाँले त्यसबेला भोग्नु परेका यातनाहरु आजको खुल्ला समाजमा पत्रकारिता पेशा अवलम्बन गर्नेहरुका लागि एकादेशको कथा जस्तो हुन पुगेको छ । तर उहाँले भोग्नु भएको यथार्थता भनेको समाचार र विचार प्रकासित गर्न प्रहरी कष्टडीमा यातना भोग्न र राजकाज मुद्दा खोप्नका लागि मानसिक रुपमा तयारी हुनु पथ्र्यो । त्यस्तो अवस्थामा पनि आचार्यले मातापिताको चाहना बिपरित लोकतन्त्रका खातिर निर्दलीय निरंकुश शासकहरुको जनआकाँक्षा मार्फत कोपभाजन गरिरहनु भयो र सुविधाजनक सम्मानित जागीरे जीवनको यात्रालाई सधैंका लागि तिलाञ्जलि दिनुभयो । यद्यपि उहाँलाई निर्दलीय प्रशासकहरुले पत्रिका प्रकाशन गरेर आफ्नो शरणमा आए राम्रो नोकरी दिलाई दिने प्रलोभनन देखाएका होइनन् । तर उहाँले नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादलाई आफ्नो आदर्श मूल्य र मान्यता बनाएर जीवनभर त्यसैमा समर्पित हुने कसम खानुभयो,जुन आज पनि कायमै छ ।
निर्दल कालमा एक समय नेपाली काँग्रेसको आधिकारिक मुखपत्र समेत बन्न सफल जनआकाँक्षा साप्ताहिकले देशमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि भने आशातित रुपमा आफ्नो योगदानको कदर स्वरुप नेपाली काँग्रेसबाट सम्मानित हुने अवसर पाउन सकेन । निर्दलीय पञ्चायती कालमा जागीर खान कुद्नेहरु बहुदलकालमा पनि अवसरहरुको तर मार्न अगुवा भए र थुप्रै माधव आचार्यहरु स्वतः ओझेलमा पर्न बाध्य हुन पुगे । तर काँग्रेस नेतृत्वबाट उपेक्षित माधव आचार्यहरु आज पनि अनेक कष्ट र पीडाहरुलाई पैतालाले थिचेर आफ्नो प्रजातान्त्रिक समाजवाद, बहुदलीय व्यवस्था अनि राष्ट्रिय मेलमिलाप नीतिको आस्था र विश्वासको दीपलाई प्रज्वलित गरिरहेका छन् । त्यसको एउटा ज्वलन्त दृष्टान्त हो जनआकाँक्षा साप्ताहिकले पार गरेको ५० वर्षको जीवन यात्रा ।
सरोजप्रसाद कोइरालाको हत्या दुःखद
आफ्नो मनले खाएको प्रिय नेता सरोजप्रसाद कोइरालालाई तत्कालिन निर्दलीय पञ्चायती निरंकुश शासकहरुले अनेक जाल झेल गरेर, जेलबाट डाका छुटाएर ‘अराष्ट्रिय तत्व’ भनेर भारतको मधुवनीमा हत्या गराउन लगाए । यद्यपि सरोज हत्याको पुष्टि आजसम्म सार्वजनिक हुन सकेको छैन र आचार्यका दृष्टिकोणमा नेपाली काँग्रेसले पनि सरोज हत्य काण्डको खोजी गरेर सत्यतथ्य प्रकाशमा ल्याउन नसक्नु दुःखद हो,जब कि काँग्रेस पटकौ पटक सत्तासिन भयो र आफू शासक बनिसकेपछि पनि आफ्ना प्रिय नेताको हत्या प्रकरणलाई उजागर गर्न नसक्नु खेदजनक कुरा हो । शायद त्यसैले होला सरोज हत्या आचार्यको जीवनकै लागि ज्यादै दुःखद दुर्घटना बन्यो र आज पनि त्यो दुर्घटना सम्झिंदा उहाँलाई पीडा बोध भएर छटपटी सुरु हुन थाल्छ । जनताका लागि मरिमेट्ने प्रजातन्त्र र बहुदलका लागि त्यागी नेता सरोज कोइराला हत्या प्रकरण सार्वजनिक हुनुपर्छ भन्ने मान्यता आज पनि पत्रकार आचार्य राख्नुहुन्छ ।
म कसरी काँग्रेस भएँ….?
माधव प्रसाद आचार्य
त्यो क्षण घनघोर अन्धकारमय जीवनको सुन्दर भविश्यको खाका तयार गर्नका लागि गतिशील यात्राको आरम्भ थियो । त्यो बेला आफ्ना अगाडि न कोही थियो र न पछाडि नै । तर निरन्तर अगाडि बढिरहने पथिक थिएँ म । आज मैले त्यो क्षणलाई सम्झंदा एउटा उज्ज्वल भविश्यको सपना साकार पार्नका लागि धर्तीलाई उचाल्ने र आकाशलाई छुने उत्कट अभिलाषाहरुले भरिएको सशक्त युवक नयाँ जिन्दगी र नयाँ भविश्यको खोजिमा भौतारिरहेको पाउँछु । मातापिताको चाहनालाई पूरा गर्नका लागि मात्र पनि उच्च शिक्षा हासिल गर्नुपर्ने दायित्व त ममा छँदैथियो । त्यसकासाथै मेरा आफ्नै चाहनाहरु पनि थिए र तिनीहरुलाई पनि पूरा गर्नु थियो । शायद त्यसैले हुन सक्छ, नयाँ सम्भावनाको खोजीमा म भौतारिन थालें । त्यही भौतारिने क्रममा शिक्षाको पहिलो ज्ञानको ढोका खोपेको महान विभूति राजा जनकको राजधानी र जगत जननी माता सीताको आदर्शले सुशोभित नगर जनकपुरधाममा आजभन्दा झण्डै ६ दशक अगाडि मेरो भेट हुन पुग्यो, तत्कालिन नेपाली काँग्रेसका परम आदरणीय जाजोल्यमान नेता सरोज दाई (सरोजप्रसाद कोइराला)संग । उहाँलाई त्यतिबेला भेट्दा मलाई के खोज्छस् काना ?आँखो जस्तै आभाष भएको थियो र त्यो भेट पर्यन्त आजका दिनमा पनि मलाई सरोज कोइरालालाई पाएकोमा ढुङ्गो खोज्दा देउता पाए जस्तो भएको थियो । सरोज कोइरालाकै प्रेरणाबाट मैले लेख्ने गोरेटो समातेको हो र आजसम्म पनि लेख्ने क्रम रोकिएको छैन । आफ्नै पत्रिका जनआकाँक्षामा प्रजातन्त्रको पक्षधर भएर नियमित लेखेँ र आज पनि लेखिरहेको छु आफ्नै पत्रिकाको सेरोफेरोमा ।
चाहे मन परोस् वा नपरोस् जीवन पर्यन्त मैले अर्कैका विषयमा लेखिरहेँ । लेख्नु मेरो कर्म हो भने छाप्नु(प्रकाशित गर्नु) धर्म हो । आज सम्म यो नित्य नै चलिरहेको छ । तर १७ पुराण लेख्दा पनि व्यासलाई सन्तोष नभए जस्तो मन सन्तुष्ट भने छैन ! यद्यपि पञ्चायतका ती कालरात्रीमा पत्रिका प्रकाशित गर्नु भनेको एउटा महान क्रान्तिमा होमिनु थियो र पाठकसम्म पुग्नु भन्दा अगाडि नै स्थानीय प्रशासनको बक्रदृष्टिको शिकार पनि हुनु परेको थियो । पञ्चायती शासकको बिरुद्धमा ‘प’ लेखिएको पाए भने पनि पत्रिका जफत गर्ने र त्यसको सम्पादक÷प्रकाशकलाई पक्राउ गर्ने र थुन्ने गर्थे । अर्थात् पत्रिका प्रकाशित गर्नु भनेको प्रशासकको बक्रदृष्टिमा पर्नु र जेल चलान हुन तयार हुनका लागि आत्मस्वीकृति पनि थियो । ती दिनहरु सम्झँदा आज पनि जीउँ सिरिङ हुन्छ । पञ्चायत प्रशासकहरुले थुन्ने, छेक्ने र पिट्ने काम गर्थे । तर जति थुनिए र पिटाई खाए पनि पत्रकारिता गर्न छाडिन र आफ्ना बारेमा लेखिनँ पनि !
आज नेपालको पत्रकारिता जगतमा भएको विकास र सञ्चार क्षेत्रमा आबद्ध पत्रकारहरुले नाम र दाम दुबै कमाउन सफल भएको सुन्न र देख्न पाउँदा पत्रकारिता गर्दा आफूले बिगतमा भोग्नु परेको कष्ट समेतलाई सम्झंदा एक प्रकारले आनन्द अनुभूति हुन्छ । अर्थात् हाम्रो कालखण्डका पत्रकारहरुले अनेक प्रकारका प्रशासनिक हण्डर नखेपेका भए आजका पत्रकार बन्धुहरुले प्रजातन्त्र, वाक स्वतन्त्रताको अधिकारका लागि प्रारम्भिक संघर्ष गर्नु पथ्र्याे र नाम र दाम कमाउने अवसर नै जुट्ने थिएन । तर पत्रकारिता क्षेत्र बिस्तारित भए पनि पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने आजका नयाँ पत्रकार बन्धुहरुमा भावनात्मक र मानवीय चिन्तनमा गम्भीर हुन सकेको महसूस मलाई हुन सकेको छैन । अर्थात् पत्रकारिता राम्रो नाना, मिठो खाना र सुन्दर छानामा मात्र सीमित हुँदैन र यो देश र जनताको नसा नसामा फैलिएको हुन्छ भन्ने वास्तविकतालाई हामीले कहिल्यै पनि बिर्सिनु हुँदैन । देश र जनतालाई बिर्सिएर गरेको पत्रकारिता केवल ज्याला मजदुरीमा सीमित हुन्छ र त्यसले व्यक्तिलाई मात्र लाभान्वित गराउँछ । मेरो मान्यतामा त्यस्तो खाले पत्रकारिताको कुनै मूल्य हुँदैन र तासको घर जस्तै जुनसुकै बेला आउन सक्ने प्रतिकूल हावाको एउटै सानो झोँकाले जमिनमा बिलिन गराइदिन्छ ।
कसरी म काँग्रेस भएँ भनेर लेख्न थालेको त पत्रकारितातिर पो बहकिएँ छु । यद्यपि म अर्थात् पत्रकारिता मेरो जीवनको पर्याय हो । तर यहाँ उठान गर्न खोजेको मूल विषय कसरी म काँगे्रस भएँ भन्ने कुरा नै हो ।
एक दिनको कुरा हो । त्यसताका उच्च शिक्षाका लागि म भरखर जनकपुरधाममा पदार्पण गरेको थिएँ । त्यसै क्रममा मेरो भेट सरोज कोइरालाकी आमा मनोरमा कोइरालासंग भयो र उहाँकै आग्रहमा सरोज प्रसाद कोइरालासंग भेट गर्न हामी भारतको जयनगर जाने, आउने गथ्र्यौं । त्यसरी जाने, आउने गर्दा कहिले मनोरमासंग त कहिले मैयाँ भाउजु(सरोज प्रसाद कोइरालाकी धर्मपत्नी लीला कोइराला, जो नेपाली काँग्रेसको केन्द्रीय नेतृ हुनुहन्छ)संग हुन्थ्यो । हामीसंग कहिलेकाँही जनकपुरधामकी चर्चित समाजसेवी तथा महिला अधिकारवादी सुश्री माधुरी आले पनि हुने गर्नुहुन्थ्यो । सरोज कोइरालाले म र माधुरी आले(हालःस्वर्गवासी)लाई एकै पटक नेपाली काँग्रेसको साधारण सदस्य (चउन्नी सदस्य)बनाउनु भएको हो । माधुरी आलेले गोप्य राख्न मसँग सर्त गराएकी थिइन् किनभने उनी पञ्चायतमा संलग्न थिईन् । यसरी म नेपाली काँग्रेस भएको हो । जुन बेला म र सुश्री माधुरी आलेले काँग्रेसको चउन्नी सदस्यता लियौं, त्यसताका ने.काँ.को सदस्यता लिनुलाई डरलाग्दो अपराध गरेको मानिन्थ्यो । काँग्रेसी हुनु भनेको स्वतः पञ्चायती व्यबस्थाको बिरोधी हुनु थियो र पञ्चायती शासन सत्ता ढाल्ने मोर्चाको लडाकु मानिन्थ्यो । नभन्दै त्यस्तै भयो । प्रजातन्त्र पुनर्वहालीको आन्दोलनलाई सफल बनाउने सरोजको आव्हानमा सरिक हुँदा जेलनेल, हत्कडी र यातना भोगेको तत्कालिन काँग्रेसका वरिष्ठ नेताहरुलाई सर्वविदितै छ । बहुदलीय प्रजातन्त्र पुनस्र्थापना नहुँदासम्म खेप्नु परेका हण्डरहरुको वयान गरेर साध्य नै छैन ।
मैले भारतको जयनगरमा २०२२ सालमा सहिद सरोज कोइरालाको हातबाट नेपाली कांग्रेसको चौवन्नी सदस्यता रसिद लिएको थिएँ । सरोज दाजुले रसिद दिनुभयो तर चारआना पैसा पछि दिनु भन्नुभएको थियो, त्यस कालखण्डमा ४ आनाको ठुलो मुल्य हुन्थ्यो, ५–७ जनाको पेट मजाले भरिन्थ्यो । त्यो चारआना पैसा मैले दिन भ्याइन, अर्काे पल्ट जादा दिएको थिएँँ । उहाँलाई क्रुर पञ्चायती शासकहरुले मधुवनीमा हत्या गराइ छाडे । नेपाली कांग्रेसका पहाडीमुलका मधेशका होनहार नेता सरोजको हत्याले नेपाल मात्र रोएको थिएन, छिमेकी भारत पनि रोएको थियो । उहाँको दाहसंस्कार जयनगरको कमलाधारमा हँुदा लाखौंको संख्यामा उर्लेको जनलहरले नेपाल तिर औंलो ठड्याएर अब नेपालमा प्रजातन्त्र ल्याउने वाचा गरेको थियो जुन ०४६ सालमा पुरा भयो । ०६२÷६३ को जनआन्दोलनले त गणतन्त्र नै ल्यायो ।
यो मेरो सरोज कोइरालासंग दोश्रो पटकको राजनीतिक भेट थियो । यसअघि म सरस्वती हाइस्कूलमा अध्ययनरत रहँदा महेन्द्रनारायण निधि चुनाव प्रचारमा आउनुभएको थियो । यो २०१५ सालको वृतान्त हो । विद्यालयको पूर्वतिर, जहाँ सरस्वतीको मन्दिर स्थापित छ, त्यसैसँग जोडिएर एउटा भव्य मञ्च निर्माण गरिएको थियो । त्यस मञ्चमा महेन्द्रनारायण निधि आफ्नो आसनमा बस्दा बेहुला बसे जस्तो देखिन्थ्यो । हेर्नमा पनि राम्रा दोहोरो जीउका निधिले भाषण गर्दा तालीको गडगडाहट हुन्थ्यो । मैले केही मेलो पाएको थिइँन । म कोरा थिए । स्कूलका हेडमास्टर गंगाधर दत्तको आदेशमा म लगायत स्कूलका अन्य प्रमुख साथीहरु वयलगाडामा चढेर हातेमाइक बोकेर इन्क्लाब जिन्दाबाद, नेपाली कांग्रेस जिन्दाबादको नारा लगाएका थियौं । त्यो समय, त्यो बेला क्या आनन्द थियो । न शोक थियो न कुनै प्रकारको सुर्ता नै । वास्तवमा स्कूले जीवन आनन्ददायक जीवन हो । मानिस सप्रने विग्रने स्कूले जीवनमा निर्भर रहन्छ । त्यसैकारण स्कूललाई मानिसको प्रथम पाठशालाको संज्ञा दिइन्छ । निधिको चुनावको प्रचार गरेर २÷३ दिनपछि निधिजीकै आदेशमा सरोज दाजुको चुनाव क्षेत्र धवौली पनि गइयो ।
धवौलीमा चुनाव प्रचारको वैलगाडीमा हामी विद्यार्थीका माझ सरोज कोइराला बसेर नारा लगाउनु हुन्थ्यो । सरोज दाजु चुनावको गीत गाएर भाषण गर्नुहुन्थ्यो । प्रत्येक दोबाटोमा सरोजको स्वागत हुन्थ्यो । फुलमालाले सरोजको अनुहार छोपिएको हुन्थ्यो । त्यसरी धवौलीमा सरोज दाजुसँग राती सँगै बस्ने सौभाग्य प्राप्त भएको थियो मलाई । त्यतिबेला हाम्रा साथमा सरला दिदी,माधव कोइराला, ठाकुर कोइराला, सरोज कोइरालाकी भाञ्जी इन्दु, मेरी आफै दिदी आरती, माधुरी आले, भवानी देवु झा, राजेन्द्र झा, निर्गुण यादब,आदि पनि हुनुहुन्थ्यो । अन्य सबैकोनाम सम्झना भएन । सरला दिदीको त्यहाँ हालीमुहाली चल्थ्यो । जसको साथमा भएको कारणले हामीलाई खानपीनमा असुविधा भएन । दही, च्यूरा, झिल्ली कचरी, मुरी, चप,जुलेवी खुव खाइएको थियो । कार्यकर्ताहरुले मुरी, चिउरा, चप, पकौडी ढक्की का ढक्की थुपारेका हुन्थ्ये । सरोजको चुनाव प्रचारको वेग्लै आनन्द थियो । घुम्टो छोपेका स्वास्नी मानिसहरु सरोज दाजुको गोडा छुने गर्दथ्ये । शालीन व्यक्तित्व उज्यालो अनुहार हरहमेशा मुस्काइरहने सरोजलाई जो कोहीले पनि एकपटक भेट्यो भने त्यो मोहित नहुने पश्नै हुँदैन थियो । बोलीमा पनि ज्यादै मिठास थियो । त्यसकालखण्डमा मैथिली भाषाको त्यति धेरै प्रचलन थिएन । हिन्दी भाषामै धेरै कुरा हुने गरेको मलाई अहिले सम्झना छ । उहाँले तेश्रो दिन फर्काइ दिनुभएको थियो । विद्यार्थीलाई पढाइमा बाधा पर्छ, जाओ खुब पढ भन्नुभएको मलाई राम्रो हेक्का छ । चुनाव प्रचारका नाममा मेरो त्यसवखतको त्यो हिडाइ र गराइ अहिले भने आजको मितिमा भन्नु पर्दा राजनीति हुन पुगेछ । अहिले गुनेर ल्याउँदा आज म राजनीतिको मुल्याङ्कन गर्न पुगेको छु । त्यो समयको राजनीति र अहिलेको राजनीतिमा कति फरक आएको गम्न पुगेको छु । त्यो समयको राजनीतिमा छल, कपट, द्वेष, प्रतिशोध घात अन्र्तघात थिएन । राजजनीतिमा व्यापार थिएन । सेवाभाव थियो । अहिले त राजनीति व्यापारीकरण भएको छ । कुन पार्टीमा लाग्दा बढी मुनाफा हुन्छ त्यसै पार्टीमा लागेको देखिन्छ । त्यसबेला रानीतिमा सिद्धान्त र निष्ठा थियो । अहिले लाभ हानी मात्र हेरिन्छ । साना साना झिना मसिना विषयलाई पनि विवाद बनाइन्छ र राजनीति गरिन्छ ।
यसरी केलाउँदै जाँदा राजनीतिमा धेरै विकृति जन्मि सकेको छ । यसले राम्रो गर्दैन । डाक्टरी पढेका मान्छे, इन्जिनियर पढेका मान्छे आफ्नो पेशामा विश्वास नलागेर राजनीतिमा होमिन थालेका छन् । किनभने डाक्टर इन्जिनियरको पेसा भन्दा उनीहरुले राजनीति व्यापार चाडै फस्टाएको देखेका छन् । राजनीतिज्ञले जति घुस खाएपनि जति भ्रस्टाचार गरे पनि पाच्य छ, अरुमा छैन । अरुलाई अख्तियारले समाउँछ । तर राजनीतिज्ञलाई अख्तियार लाग्दैन । समाजमा डाक्टर इन्जिनियरको ठूलो इज्जत छ । समाजले स्थापित गरिदिएको मान सम्मानलाई अर्थमा पैसामा मूल्याङ्कन हुन थाल्यो । राता रात करोडपति बन्न राजनीतिज्ञ वाहेक अरु हुन सक्दैनन् भन्ने भयो । डाक्टरको पेसा भनेको मानविय पेशा हो । इन्जिनियरको राष्ट्रसेवा । डाक्टर इन्जिनियरमा मानवसेवा राष्ट्रसेवाका ज्ञान भावना पलाउन नसक्नु राष्ट्रको लागि ठूलो दुर्भाग्य को विषय हो । शिक्षकले पनि पढाउन छाडेर राजनीति गर्न थाले । शिक्षकले विद्यार्थीलाई चाहिने शिक्षा दिनुको साटो राजनीतिको क्लास लिन थाले । यसरी शिक्षकहरुले सही शिक्षा दिनुको साटो राजनीति क्लास लिन थालेपछि विद्यार्थीको भविष्य के हुने । भविष्यका कर्णधार विद्यार्थीहरुलाई पंगु बनाइ आफ्नो दुनो सोझो पार्ने काम गर्दा आज शिक्षाको स्तर कस्तो भएको छ भनीरहनु परेन । राजनीतिमा फोहोरी खेल हुन थाल्यो । नेताहरुको चरित्र भ्रष्ट हुन थाल्यो ।
२०१५ सालमा सरोज कोइरालाको चुनाव प्रचारमा गएका वखतको राजनीतिक चेतना सुन्यता, २०२२ सालमा सरोज कोइरालाबाट कांग्रेसको चौवन्नीया सदस्यता लिएर आजसम्मको यात्रा पछि आपूmलाई कांग्रेस बनाउनेलाई सम्झना गर्दा मूल्यांकनको यस्तो भावना आउँछ । त्यसवखतको राजनीति र अहिलेको राजनीतिमा आकाश जमिनको फरक आइसकेको छ ।
साभारःआचार्यद्वारा लिखित पुस्तक सम्झनाका तरेलीमा सरोजबाट ।
हाम्रा आदरणीय दाइ, लोकतान्त्रिक छापामाध्यमको संस्थापक सदस्य तथा कार्यसमिति सदस्य, जन आकाँक्षा साप्ताहिकका सम्पादक÷प्रकाशक, लेखक माधवप्रसाद आयार्यको दुःखद् निधनले हामीलाई स्तब्ध तुल्याएको छ । उहाँको आत्मालाई चीर शान्ति मिलोस् भन्ने कामनाका साथै शोकशन्तप्त परिवारजनप्रति हार्दिक समवेदाना प्रकट गर्दछौं ।
लोकतान्त्रिक छापामाध्यम परिवार
युगव्यथा साप्ताहिक परिवार
कामदार दैनिक डट कम परिवार
सेवा प्रवाह डट कम परिवार
