आर्थिक वर्ष २०७८/७९ को बजेटलाई प्रचारमुखीको संज्ञा

मुख्य समाचार राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई प्रचारमुखीको संज्ञा दिएको छ । कांग्रेसले बजेटलाई जनता झुक्याउने र प्रचारमुखी नारा राखिएको बताएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई कांग्रेसले निर्वाचन लक्षित र जनता झुक्याउन ल्याइएको नाराको संज्ञा दिएको हो ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले काम चलाउ सरकारले घोषित निर्वाचनलाई लक्षित गरेर जनतालाई झुक्याउने गरी बजेट ल्याइएको बताए ।

‘बजेटमा जनतालाई झुक्याउने नाराहरू समेटिएका छन्, वैधानिकता गुमाएर काम चलाउ बनेको सरकारले जनता झुक्याउने नारा बजेटमा ल्याएको देखियो,’ कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्रीसमेत रहेका नेता रिजालले भने ।

उनले बजेटका कुनै पनि आँकडा सजिलो नभएको र आकार मात्रै ठूलो रहेको बताए । यस्तै, बजेटको अनुमानित खर्च र राजस्व संकलन पनि सम्भव नरहेको बताए ।

‘यो वर्षको संशोधित खर्च भन्दा झन्डै ३० प्रतिशतले बढी खर्च गर्छु भनेको छ, त्यो सम्भव छैन, राजस्वको अनुमान २५ प्रतिशतले थपिन्छ भनेको छ, त्यो पनि सम्भव छैन,’ कांग्रेस नेता रिजालले भने ।

यसैगरी पूर्व अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. रामशरण महतले बजेट राजनीतिक स्वार्थ पूरा गर्न केन्द्रित देखिएको बताए ।

‘बजेट राजनीतिक स्वार्थ पूरा गर्न केन्द्रित देखियो, बजेट कार्यान्वयन हुन कठिन छ, बजेटमा कुन कार्यक्रम कति समयमा सकिने भन्ने पनि उल्लेख छैन,’ कांग्रेस नेता महतले भने ।

उनले सरकारले प्रस्तुत गरेको बजेटलाई प्रचारात्मक बजेटका रूपमा आफूले हेरेको बताए । ‘यो तुरुन्तै लागू हुँदैन, बजेटमा स्वार्थपूर्तिको मूल लक्ष्य मात्रै देखियो, यसबाट देशले केही पाउने मैले देखिराखेको छैन, कार्यान्वयन कठिन छ,’ महतले थपे ।