हेलो मकै !

साहित्य

एस निरौला

मकै गुणकारी वनस्पति ! यसका अनेकन छन् फाइदा ! कुखुरा परेवालाई चारो दिन सजिलो ! खसीलाई दाना दिन उत्तिकै असल । मकै खा`का खसीको मासु उधुम `टेसिलो´ ! भुटेर खाँदा चमचम हुने। पोलेर खाँदा उत्तिकै रसिलो । झोल हालेर भातसँग सपक्क मुछ्दा कति मिठो मिठो ! गाईभैँसीको दूध फुटेन भने ठुला भाँडामा च्याँख्लैसितको पिठो फत्काउँनुस् । लतत परेको खोले खान दिनुस् । दुई चार दिनपछि आहा ! गाईभैँसीको दूध फुटिहाल्छ । बाख्राका पाठा उत्तिकै सप्रिन्छन् ।
साना पाडालाई बिहान बेलुका पिठाको `पिँडो´बनाएर ख्वाउनुभयो भने पाडो मुस्लेर आउँछ । अनि त उसका भागको दूध पनि आफ्नामा पार्न सकिन्छ । मकैका पात, ढोड पनि गाईबस्तुका लागि मिठो घाँस भित्र पर्छ ।
मकैको बखान गरेर साध्यै छैन । बैगुन भन्ने त यसको केही छैन । गुनैगुन । मानिसको स्वास्थ्यका लागि मकैको भोजन अत्युत्तम मानिन्छ । दाँत हुनेका लागि मकै भट्मासको खाजा अवर्णनीय हुन्छ । फुलैफुल उठेका मकैभट्मास चरप चरप चबाउँदै र भैँसीको आलो मोही(मोई, मही) सुरुप्प पार्दा हुने मिठासताको वर्णन कसले पो गर्न सक्लान् र ! फेरि हेर्नुस् न,दाँत नहुनेका लागि मकैका सातु सारै गतिलो खाजा हुन्छ । चिया होस् वा मोई, पानी होस् वा जाँड जेसित पनि सातु खुल्छ । केटाकेटी र बुढाबुढीका लागि सातु औधी असल ।
धानको चामल, कोदाको पिठो भनेजस्तै मकैको च्याँख्ला ! कसैकसैले च्याँख्लालाई ठेट्ना पनि भन्छन् । (तर,ठेट्नाको अर्थ अर्कै पनि हुन्छ ।) च्याँख्लाको भात हरेक उमेर समुहका मान्छेलाई खान उपयुक्त मानिन्छ । नरम हुने, छिटो पच्ने र पोसिलो हुने भएकाले च्याँख्लाको भात सहरतिर पनि लोकप्रिय बन्दै छ ।