काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहित चार नेताहरुबाट पार्टीबाट निष्कासित भएका छन् ।
सोमबार जसपाको बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठकले अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।
५२ सदस्यीय कार्यकारिणी सदस्यमा ३१ जनाको उपस्थितिमा बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।
बैठकमा सहभागी एक नेताले भने, ‘पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं ।’ यसअघि अध्यक्ष यादवले यी चार नेतासँग स्पष्टीकरण सोधेका थिए ।
जसपाको ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरिरहेको छ भने यादव पक्ष ओली नेतृत्वको सरकारको कदमलाई प्रतिगमन भन्दै विपक्षी गठबन्धनमा सहभागी छ ।
