११ असार २०७८, शुक्रबार

सिक् है सिक्

kamdardainik.com (First, Fast & Accurate)

…….सिक्न उमेरले रोक्दैन । खाने मुखलाई जुँगाले छेक्दैन । जिन्दगी भनेकै सिकाइ हो । जन्मेदेखिन् सेता लुगामा बेरिनुभन्दा एकछिन अगाडिसम्म सिक्न छोड्नु हुँदैन । ज्ञानको लालची भ´को भ´यै हो । भन्छन् नि:- सन्तोष लिनु राम्रो हो । म भन्छु सन्तोष लिनु राम्रो होइन । सन्तोषी बन्ने हो भने परिवर्तन कसरी हुन्छ ? विकासका बाटा कसरी कोरिन्छन् ? प्रगति कसरी हुन्छ ? सन्तोषम् परमम् शुखम् । यो घटिया स्तरको अर्ती हो । यो अर्तीलाई जजसले फलो गर्छन् ती तीले दुख पाउँछन् । त्यसैले तँसँग जोडिएका हरेक आयामहरू सिक् ।
ए, तँ ऐले कम्प्युटर सिक्दै छस् । ल्यापटप चलाउँदै छस् । चला । हात बस्तै जान्छन् । राम्ररी सिक् । तँ पुरानो मान्छे । केही मुस्किल होला । साना कुराबाट सिक् । एकैचोटि जान्दछु भन्ने नठान् । यो आधुनिक प्रविधि हो । यो भित्र संसार अटेको छ । ब्रह्माण्डकै कुरा भेट्छस् । सिक्दै जा। रस बस्दै जान्छ । निरन्तरता दे । तँलाई पैले खोल्नै आउँदैनथ्यो । बन्द गर्नै जान्दैनथिस् । अब सिक्दै गइछस् । नेपाली टङ्कण गर्ने भइस् । आफ्ना विषयका प्रश्न आफैँ हान्ने भइस् । इमेल इन्टरनेट चलाउने भइस् । लुकाउने अनि चाहिएका बेलामा निकाल्न सक्ने भइस् । सिफ्ट,क्यापलक्स,इन्टर,ट्याब,स्पेस, अल्टर र कन्ट्रोलहरूको नाउँ तेरा जमानामा कैले सुनिरैथिस् र ! यतिखेर चाल पाउँदैछस् । तँलाई कक्षामा सिकाउँन सजिलो पार्ने धेरै आयाम छन् यसमा खुराक छन् । ती सबै क्रमश: सिक्दै जा । तँलाई थाहा छ नि, सिकाइ छिटो हुँदैन । त्यसैले अल्छे नबन् । हतोत्साही नहो ! तँ ता मास्टर पो । केटाकेटी पढाउँने मास्टर ! ज्ञान बाँड्ने मास्टर। योग्यतम् नागरिक उत्पादन गर्ने मान्छे । समाजको अगुवा मान्छे । तैँले नसिकेर हुन्छ ! एकैचोटि माथि नउक्ली । सिम्पल टु कम्प्लेक्स नियम थाहा छ नि ? त्यसै गर् । भुल र प्रयत्न भन्ने सुनेको छस् ? यो नियम यहाँ लागू हुन्छ । त्यसैले सिक्छस् । होला, बुढा औँला छिटो नचल्लान् । हात काम्लान् ।
आँखा तिल्मिलाउलान् । नो प्रोब्लम् । बानी पर्दै जान्छस् । अभ्यस्त हुँदै जान्छस् ।
ओइ कपाल फुलुवा मान्छे ! शिक्षणमा नयाँ नयाँ परिपाटी आएका छन् । सिद्धान्त बनेका छन् । विधि बद्लिएका छन् । बद्लिँदो सामाजिक आकाङ्क्षा पूरा गराउने खालका पाठ्यक्रमहरू बनेका छन् ।पाठ्यक्रमले निर्दिष्ट गरेका लक्ष्यमा तँ पुग्नुपर्छ । “बूढो भएँ, ठिटाहरू गरून्।”कहिल्यै नभन् । राज्यको दानापानी हसुरेपछि इमान्दारीपुिर्वक काम लाग्नै पर्छ ।
तँ ठिटौले हुँदा कक्षाभित्र के बोकेर छिर्थिस् ? डल्लो खरी बोक्थिस् । बेटरीको कालो दलेका सल्लाका फलेकमा खरी घोट्थिस् । थुक उछिट्ट्याइ उछिट्ट्याइ फलाक्थिस् । तैँ मात्रै एकोहोरो बोलिरहन्थिस् क विद्यार्थीले सुनिरहन्थे । हाहा र हुहु गर्थिस् । तेतिखेर कक्षामा जुन मास्टर धेर काराउँछ उही जान्ने कहलिन्थ्यो । अनि विद्यार्थी अटल भएर चुँ नगरी निर्जीवजस्तै बस्थे त्यै मास्टर बढी योग्य ठहरिन्थ्यो । तर, ऐले तेस्तो जमाना छैन । पैले तँ पढाउँथिस् । ऐले तैँले सिकाउँनुपर्छ । सहजीकरण गर्नुपर्छ । धेरै बोल्नै पर्दैन । खरीको जमाना छैन । न सेता लिँडको(चक) अस्तित्व छ । अश्वेतपट कोल्याप्स । श्वेतबोर्डको टँगाइ । बुढीऔँला जत्रा मोटा फुल्टिन । सललल चिप्लिने । मेट्न सजिलो ! साइँसुइँ जाने । मसी सकियो कि पुनर्भरणको सुविधा । सिनिमाबाट पनि सिकाउने चलन ! यतिले मात्रैको भर परेर कहाँ हुनु ! तैँले राम्ररी सिकाउन आफूले सिकेको सिक्यै गर्नुपर्छ । विज्ञानले पत्ता लाएका गतिविधिमा आफू अपडेट भइरहनुपर्छ ।
ए बूढो मास्टर ! तँ विद्यार्थीलाई “पढ पढ” भन्छस् । खासमा आफू कति पढ्छस् ? कति जना साहित्यकारलाई चिन्छस् ? कुन वैज्ञानिकले के गरे ? कुनै दार्शनिक विचारकहरूको नाउँ थाहा छ ? उनीहरूका सिद्धान्त, विचार, मान्यताका बारेमा केही जानकारी छ ? नेपालको भूगोल, ईतिहास,राजनीति कति बुझेको छस् ? हाम्रो सामाजिक जनजीवन कस्तो छ ? विश्वपरिवेशका बारेमा कति थाहा छ ? भन् त । थाहा छ ? छैन ! यही त हो विडम्बना ! कमजोरी यहीँ छ । तँ यस्तो ठान्छस्:-” अब जागिर स्थायी भइ´गो। पिल्सिङ्(पेन्सन) पाक्ने बेला भो । पढेरै जागिर खा`को हो । किन मैले अब पढ्ने ? किन खाटका सिरानमुनि किताब राख्ने ? ” किन नयाँ प्रविधिमा आफूलाई अपडेट गर्ने ? तेरो यही कुरो सर्वथा अनुचित छ । पछि परेको कारण यही हो ।
तैँले व्यक्तित्त्व विकासका लागि पढ्नुपर्छ । तैँले स्वाभिमान जोगाउन पढ्नुपर्छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा भरिदिन आफू पढन्ते हुनुपर्छ । अध्येता बन्नुपर्छ । मान्छेका छेउमा ट्वाँ परेर बस्ने हैन । तैँले आफ्ना अभिमत राख्नुपर्छ । तार्किक ढङ्गले कुरा हाल्नुपर्छ । तँ हेपिएको छस् नि थाहा छ ? किन होला ? आफू कमजोर छस् अनि हेपिन्छस् । दबिन्छस् ।जान्नेले नजान्नेलाई हेप्छ । तल पार्छ । घोचपेच हान्छ ।
ए पचास नाघेका मास्टर ! गलत अर्थ नलगा फेरि । मैले तँलाई सबै विषयमा पारङ्गत हो भनेको होइन । र,त्यो सम्भव पनि छैन । आधारभूत कुरामा तेरो चेत हुनुपर्छ । नेपाली पढाउँछस् । अलिअलि अङ्ग्रेजीका कुरा पनि सिक् । अर्थशास्त्र तेरो विषय होइन तर मुलुकको अर्थतन्त्रको अवस्थामा चासो राख् । राजनीति तैँले गर्ने होइन तर बुझ्नु चाहिँ पर्छ । राज्यले जारी गरेका कानुनहरूमा पनि सामान्य जानकारी राख् । एकादशी महात्म्य सुन्छस् । ठिक छ । कृष्णले गोपिनीका लुगा लुकाइदिएको तँलाई पक्कै थाहा छ । त्यसो भए येशूले भोजमा आएका मान्छेलाई एउटै रोटीले भुँडी चर्किउन्जेल ख्वाएको घटना पनि तँलाई थाहा हुनुपर्छ । कुर्आन र त्रिपिटक पनि हेर् । कुरा बुझिस् नि !
अलिकति साहित्य पढ् । यसका हरेक विधा पढ् । पत्रपत्रिका पनि पढ् । वैज्ञानिकहरूका खोज अनुसन्धान र आविष्कार पढ् । दार्शनिकहरूका विचार पढ् । पूर्वलाई पढ् । पश्चिमलाई पढ् । सबैभन्दा धेरै आफ्नू पेसासँग सम्बन्धित विषय पढ्।
ओ चस्माधारी मास्टर ! प्रकृतिको शाश्वत् नियम बुझ् । म बुढो हुन लागेँ भन्ने हिनताबोध नले ।आफ्नू पेसाप्रति गौरव गर । कर्तव्य, दायित्वबाट नपन्छी । शरीर बूढो देखिए पनि इच्छाशक्ति तरुनो बनाइराख् । जाँगरलाई युवापन दे । कुरा धेरैको सुन् । निर्णय आफ्नू दे । परिवेश सत्य छ भने कलिकति पनि नडग् ।
गफ थोरै गर् । काम धेरै गर् ।
जीवन सफल पार्नु छ भने विविध कुराहरू सिक् है सिक् !
एस निरौला

Leave a Reply

Your email address will not be published. Required fields are marked *