११ असार २०७८, शुक्रबार

लोतेको सपना

kamdardainik.com (First, Fast & Accurate)

आज भन्दा झन्डै ३७ बर्ष पहिलेको कुरा हो ।
१ . शहरमा बस्ने एकजना शिक्षित र प्रतिष्ठित ब्यक्ती भाइटिका लाउन आफ्नो गाउँ जान्छन ।
२ . भाइटिकाको दिन उनका नजिकका आफन्तसङ्ग भेट हुन्छ ।
३ . भेटकै क्रममा शहरियाले ती आफन्तसङ्ग भन्छन ” हैन ए दाइ ! त्यता अलिक राम्रो घ्यु पाइन्न ? हेर्नुस न उता घ्यु त पाइन्छ तर यताको जस्तो शुद्ध हुँदैन ।
४ . आफन्त – हेर भाइ मेरो त भन्नलाइ दुइटा भैंसी छन , तर एउटा थाक्यो । त्यै अर्काकोले घरमै सत्र स्याल छन , एकेक डाडु दुध सबैलाइ तुर्क्याउदैमा कहिले त खन्याउनै पुग्दैन , अनि कसरी होस घ्यु । अँ….. .भन्नाले…. कति चाहिने हो र तँलाइ ?
५ . शहरीया. राम्रो पाइयो भने गोडा सातेक माना जति ।
आफन्त . खै चाहाड सकिदै छ बल्ल , दशै त्यार्का रोटा पकाउनै पर्यो , कल्ले राख्या होला र तेत्ती त । हलौ अहिले जाँदै तस एस्सो बुझम्ला केरे कतै रैछ भने पठाइदिम्ला ।
६. शहरीया . हुन्छ पाइएछ भने भोलि ब्यानै है दाइ , म पनि भात्सात खाएर हिन्ने भनेको हो ।
७. ती आफन्त आफ्नो घरतिर जान्छन , ब्यहोरा सबै बताएर आफ्नी जाहानलाइ घ्यु खोज्न पठाउँछन , तीन घर चाहार्दा ६ माना जुट्छ ।
८. तीनै घरको घ्युमा आफ्नो घरमा भएको एक माना मिसाएर एकैपटक तताउँछन । Red Cow milk लेखेको पुरानो टिनको बट्टा तातो पानीले पखाल्छन पानी सुकाउन आगोमा बट्टा सेकाउँदै गर्दा आफ्नो दस बर्षे छोरोलाइ भन्छन “ए लोते सुन याहाँ , ……..( फलाना) आछ , तँ भोलि ब्यानै त्यहाँ यो घ्यु लिएर जा जम्मा सातमाना छ , एक माना घर्कै हो त्यस्को परेन अरु किनेको भनेस ,अनि चाइने सो जो छ मानाको मात्रै पैसा नहराइकन ल्याएस । भोलि जेमघन्टेको दिन उस्तै परे मास्टरै आओइनन पढाई पनि नहोला नत्र किताप लिएरै जा तेतै खाएर ओरेर तेतैबाट इस्कुल गए पनि भयो । उस्तै परे तँलाइ मिठाइँ खानी पैसा पनि दिन बेर छैन तेल्ले त , बेस्सेरी धनी ज छ केरे ” ।
९. मिठाइको आश देखेर केटोले तुरुन्तै हुन्छ भन्यो । गोजी भरीको सुन्तली र धर्के मिठाइ अनि धर्के मिठाइले रा…तो भएको जिभ्रो को कल्पना गर्दै लोते निदायो ।
१० . केटो भोलि बिहान छिट्टै उठ्यो । “दुत्को च्या खाएर जा , निक्ला पेट्मा हिन्दा शीत लाग्छ बाले दोहेर ल्याउने बेला भो ” आमाको कुरा वास्ता राखेन ,केटो हिड्नै तर्खरियो । बुट्टे गम्छामा बाँधेर घ्युको बट्टा बोकेर लोते हिड्यो ।
११. बाटोमा पिङ खेल्दै जादा डेढ घन्टाको बाटो अढाइ घन्टा लाग्यो ।
१२ . केटो ठाउँमा पुग्यो , “ऊ….. बल्ल आयो” शहरीयाले चस्मा मिलाउदै भने ।
१३. शहरीया . एत्थेर आउने हो लन्ठु ? हिन्न ढिला भैसक्याथ्यो ।
१४ . “दुगुर्दै आको हो केरे । जम्मा सातमाना छ । एक माना घरकै हो , छ माना किनेको , छ मानाको मात्रै पैसा दिनु अरे ” केटोले एकै सासमा भन्यो ।
१५ . शहरीयाले बट्टा खोले नाक नजिकै लगे लामो सास ताने र भने घिउ त ठिकै छ तर …तर तर……. सात्माना होला त ?
१६ . कसैले भने ” छ किन नहुदो हो , पातलो बट्टा यत्ती सम्म छ , कसैले “पुग नपुग होला सात माना भनेको कति हो र उचाल्दै थाह हुन्छ भो ” पनि भन्न भ्याए ।
१७ शहरीया . सातमानाको कति हो त ? (चलेको भाउ उनकै घरकाले बताइदिए )
हिसाब गरे पछि भने ” ए उहाँ भन्दा त महङ्गै पर्यो भो । यो भाउमा यहाँ देखि लगेर के मत्लब भयो र भो लैजा चाइएन उतै किनम्ला ।
१८. घ्यु छोड्न जादा शहरीयाले खुशी भएर मिठाई खान पैसा दिन्छन , रिट्ठेकुनेको पसलमा गएर सबै पैसाको धर्के मिठाइ किन्छु सबैलाइ देखाइ देखाइ झराम झराम मिठाई खान्छु मुख भरी । अनि इ ….ल हेर भन्दै रातो जिब्रो देखाउदै हिड्छु भन्ने लोतेको कल्पना एकै छिनमा तुहियो, भत्कियो, चकनाचुर भयो । अत्यन्तै ठूलो अपमान बोधको अनुभूति भयो । केटोले बट्टा बाध्यो र तुरुन्तै हिड्यो ।
१९ . पछाडी बाट आएका ” ए ……लौ हेर हिडिसक्यो ए ……बाबू …. भात त खाएर गाको भा ………ए …..साच्चै त्यो एक माना त ….. जस्ता आवाज बिस्तारै मधुरो हुँदै गयो ।
२० . केटो घर पुग्यो बट्टा थेचार्दियो बाकै अगाडि र घोसे मुन्टो लाएरै बस्यो ।
२१ . केटाको बा – ए के भयो? ए चिमाहा किन बोल्दैनस ?
२२ . केटोले भन्यो “तेस्ता छुचाले पनि किन्छन ? हिसाब गरे अनि उता भन्दा महङ्गो पर्यो लैजा भने ” खुब पैसा पनि दिन्छन भन्नू भाथ्यो नि मिठा……..( केटोले डाँको छोड्यो )
केटाको बा . झन तेत्ती भाती उ गरेर पठाको त कस्तो उल्लु रैछ त्यो ।
केटाले सबै रिस आफ्नो बाउ सङ्ग पोख्यो र रुदै भन्यो “मलाइ एत्रो दुख दिएर …….आज बाख्रा त मोरे पनि चराउन्न ”
२३ . लोते ( केटो)को बा . हलौ हलौ आज बाख्रा ठुल्केटीले चराउली नि त ।
त्यो लोते
त्यो केटो
त्यो मिठाइको सपना भत्किएको पात्र
बास्तवमा म आफैं थिएँ।
२०८७/२/२३ नयाँ नैकाप, काठमाडौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *