११ असार २०७८, शुक्रबार

हराउँदै सनपाट खेती

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं, २५ जेठ । करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्ला÷दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती महोत्तरीमा अब देखिन छाडेको हो ।

जिल्लाको भङ्गाहा नगरपालिका–४ का ८० वर्षीय हस्तबहादुर श्रेष्ठका हातमा अन्य कामबाट फुर्सत मिल्नासाथ अहिले पनि सुत्री कात्ने ढेडुवा (काठको तीन मुख भएको फिरफिरे ) हुन्छ । यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ । पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्री कात्ने श्रेष्ठ अब भने पाटका बोरा उधिन्दै त्यसको धागो छुट्याएर सुत्री कात्ने गर्नुभएको छ ।

“पहिले उमेर छँदा टन्न सनपाट खेती गरिन्थ्यो, आफूलाई वर्षभरि चाहिने नाम्ला, दाम्ला, डोरी र रस्सा बनाएर बाँकी बेचिन्थ्यो”, श्रेष्ठले भन्नुभयो, “अब सनपाट लगाउने आफ्नो हुति (तागत) छैन, गरिआएको काम के गरौँ ? बोरा उधिनेर सुत्री कातिन्छ ।”

श्रेष्ठमात्र नभएर मधेशमा पाका उमेरका आम किसान अन्य कामबाट फुर्सत भएको समय डोरी, दाम्लो र मोटो रस्सा बनाउन फुर्सतको समयमा ढेडुवा नचाउँदै सुत्री कात्छन् । सुत्री कात्नु उखरमाउलो गर्मीबीच समवयस्कसँग कुराकानी गर्दै आरामका बेलामा गरिने पाका किसानहरुको आम कुरा हो । पहिले सनपाटबाट बनाइने सुत्री अब पुराना बोरा उधिनेर कात्नुपरेको अहिले पनि फिरफिरे नचाइरहेका श्रेष्ठ बताउनुहुन्छ ।

करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा धेरथोर सनपाट खेती गरिन्थ्यो । कुत्रुङ्, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गरिएको श्रेष्ठकै समवयस्क रामनन्दन महतो बताउनुहुन्छ । “आफ्ना नाडी गले, गर्न सकिँदैन, छोराहरुले यो खेतीमा ध्यान दिँदैनन्”, महतो भन्नुहुन्छ, “तैपनि घरका पशुवस्तुलाई चाहिने दाम्ला आफैँ पु¥याउँ भनेर थोत्रा बोरा उधिन्दै सुत्री कातेको हूँ ।” पछिल्ला केही दशकयता हाटबजारमा प्लाष्टिकका दाम्ला, नाम्ला र डोरी प्रचुर आउन थालेपछि पछिल्लो पुस्ताका किसानले सनपाट सम्झन नै छाडेका महतोको भनाइ छ ।

सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्साका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले किन्ने गथ्र्यो । यसबाहेक असारमा धान रोपाइँ गर्नुअघि खेत हिल्याउँदा सनपाटसहित जोतेर सम्याएपछि मलको आवश्यकता पूरा हुने गरेको किसान सम्झन्छन् । “जेठ निगल्दो खेतमा लहलहाएको सनपाटसहितै जोतेर हिल्याएपछि पाँच÷सात दिनमा गलेर मल बन्थ्यो”, बर्दिबास–९ का किसान महेन्द्र महतो सम्झनुहुन्छ, “त्यही मलले धान राम्रो उत्पादन हुन्थ्यो ।”

सनपाट खेतीले जग्गाको उर्वरा शक्ति बढाउने किसान बताउँछन् । “डाँठ र पात कुहाएर प्राङ्गारिक मल हुने र जराका गिर्खाहरुले नाइट्रोजन मल बनाउने हुँदा यो जग्गाको उर्वरा शक्ति बढाउन उपयोगी भएको हो”, महतोले भन्नुभयो ।

सनपाट खेतीका लागि बोट छिप्पिएपछि काटेर गहिरो पानीमा डुबाएर केही दिन राख्नुपर्छ । महोत्तरीमा लगाइने गरिएका सनपाटमध्ये कुत्रुङ् २२ दिन, कश्मिरा तीन दिन र पटुवा १०÷१२ दिन पानीमा गलाएपछि चुटेर सफा पार्दै रेशा निकालिन्छ । पछिल्ला केही दशकयता पोखरी, दह र नदीमा पानी सुक्दै गएपछि यो खेतीको सम्भावना पनि सुक्दै गएको किसान बताउँछन् ।

सनपाटको रेशा (धागो) सुत्री कात्न र उद्योगलाई बेच्न सकिने र सन्ठी (डाँठ) दाउरामा प्रयोग गर्ने गरिन्छ । सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउन÷जगाउन गृहिणीले बचाएर राख्ने पुरानो चलन पाका गृहिणी बताउँछन् । सन्ठी दीपावली पर्वमा ‘हुक्कालोली’ खेल्न प्रयोग गर्ने मधेशको चलन छ । भूतप्रेत र दुष्ट आत्माहरुको बस्ती र बालीनालीमा आँखा नलागोस् भनेर सन्ठी बालेर ‘हुक्कालोली’ भन्दै नचाइने यो परम्परालाई खेलकै सङ्ज्ञा दिइएको छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको पाका किसान सम्झन्छन् ।

यो बहुउपयोगी खेती अब जिल्लामा हराउँदै गएको छ । कतैकतैमात्र पुराना किसानले थोरै जग्गामा लगाएको देखिन्छ । पशुपालक किसानलाई दाम्ला, डोरी चाहिरहने सामग्री हुन् । त्यस्तै पाटको रेशा राम्रो मूल्यमा बिक्री हुन्छ । यो खेतीको अर्को महत्वपूर्ण पाटो खेतबारीलाई उर्वर बनाइराख्न मलको आवश्यकता पूरा गर्ने हुँदा मल पाइएन भनेर छटपटिनु नपर्ने कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–६ का बासिन्दा कृषिविज्ञ राजकिशोर यादव बताउनुहुन्छ । जमीनको सामान्य चिस्यानमा हुनसक्ने सनपाट खेतीमा किसानलाई उत्प्रेरित गर्नुपर्ने यादवको भनाइ छ । सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको ठिक ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *