१३ श्रावण २०७८, बुधबार

माइला बाको छोटा हात झन्डै खाको बाको लात (बाह्र जराप खरको कथा )

kamdardainik.com (First, Fast & Accurate)

सरोज नेपाल यो प्रशङ्ग सायद मैले नौ कक्षामा पढ्दाको हो । त्यतिबेलासम्म हाम्रो गोठमा खरकै छानो थियो । जाडो यामको शनिबारको एक दिन बिहान उठ्नासाथ बाले भन्नुभयो ” असम गोठ छाउनु पर्ने त्यै भएर मैले पुग्दी थापा माइल्दाइसङ्ग खरको कुरो गर्याछु , ल अब एक्छिन पछि ढेँगाहरु ( घरको सहयोगी कामदारहरू ) पनि आउलान तँ पनि उनिहरु सङ्गै खर बोक्न जा ” ।
( पाठक मित्रहरूलाई जानकारीको लागि : खर नाप्ने माध्यमलाई जराप भनिन्थ्यो , खर बेच्ने ब्यक्तिको हातले तीन हात र एक बित्ता को डोरीले सकेसम्म बाँधेर कस्दा त्यो डोरीमा अटाउने जति परीमाण एक जराप हुन्थ्यो )
एक छिन पछि ढेँगादाइहरु आइपुगे । चिया खाइसके पछि हामी तीन जना पुग्दीतिर लाग्यौं । फेदीको ठाँटीनेर पुग्दा भेटिएका पिपलबारे जेठा बासङ्ग ढेँगा दाइले भने ” छिनिङ च अघ्घोर ज चिटिक्मले, ढे डाइ ” ( आज त बेसरी ठिहिर्याएको छ हैन त दाइ ?) “हटब “( त्यही त नि ) जेठाबाले जबाफ दिए । झण्डै एक घण्टामा पुगियो पुग्दी । औसत भन्दा होचो कदका , निकै नम्र र भद्र स्वभावका थापा माहिला बासङ्ग बारीमै भेट भयो । बाह्र जराप नापेपछी माइलाबाले भन्नू भो “लौ यत्ती हो बेच्नलाइ कुरा भाको ,अरु त आफैलाइ पनि चाहिएला” । चलेको भाउ अनुसार घरबाटै अड्कलेर दिएको पैसा बुझाइयो । सबै खरको भारी कसे पछि मैले भने ” सबै भारी त यो ओरालो बोकेर झार्न गार्है पर्ला ” ।ढेगादाइले भने ” बेस्सेरी छ्याक्निसिङ खोरोक्मयोहो न ” ( बलियो सङ्ग बाधेर गुल्ट्याइदेउ न ) । मैले दुई भारी गुल्ट्याइदिएँ ,आफू फर्कने बाटोतिरै । अरुले बोकेरै लगे । दिसुवा बुढाबाको घर अगाडीको खोल्सोमा पुगेको भारी बोकेर म पनि सङसङ्गै लागेँ घर तिर । घर पुगेर खाना खाइ अरु आफ्ना काममा लागे । म पनि एकछिन सुस्ताएँ । करिव दुई बजे तिर बाले भन्नू भो ” ए केटा जा भो त्यो बाँकी खर लिन , अच्कालका छोटा दिन एकै छिनमा झमक्कै हुन्छ” । बाँकी एक भारी लिन जादा घाँस काट्ने हरुले दद्रा पारीको बन रन्काउँदै थिए । (मेट च माले छो ज्यानी छाकठा, नाकुङ मया ले माले ङाकठा, स्याब्बोइ स्याब्बोइ , डस काल्या इलाङ आल्या चैट, चैट , चैट )। गीत र स्वरबाटै थाहै भयो ती गाउनेहरु प्राय सबै मगर समाजका किशोर किशोरीहरु थिए । अलिक पर घुसीघान माथी पनि बनमा त्यस्तै रन्को थियो गीतको । ( ए……….. लाउ मया लाउनेले , नलाउ मया बर्षौटे पाउनेले , पानीमा सलल, ओहोइ ओहोइ, …….उररै उररै , …..गाइले मुत्यो तुर्‍रै …….यस्तै यस्तै ।ती गाउनेहरु अगिल्लो टोली भन्दा अलिक उरन्ठेउला र बाहुन समाजका थिए जस्तो लाग्यो गीतको भाव र आवाज सुन्दा ।
पुग्दी पुगेर खरको भारी लिएर आउँदा साझ पर्न लागिसकेको थियो । भारी बिसाएर खुइय सुस्केरा काढ्दै बसेको मलाइ बाले सोध्नु भो ” सप्पै ल्याइस त ? ल्याएँ भन्ने भावमा टाउको हल्लाएँ मैले । ” खै बार्ह जराप पुरै होला त “? बाले शंका मिश्रित भावमा म तिर हेर्दै भन्नू भो। बाको कुरा सुनेर अघिल्लो दिन हाम्रो घर आउनु भएका हाम्रा बाका मामा डुकुलराज हजुरबाले भन्नुभो ” चाइने जोकेरेमा जो आफै नापे त भयो नि भानिज, कत्रो कुरो भयो र ” ।
ए… हो त नि भन्दै बाको आफ्नो हातले तीन हात बित्ता नाम्लोको बरियोले नाप्दा पुग नपुग दस जराप भन्दा बढी भएन । बाले म तिर हेर्दै भन्नू भो ” दुई जराप त पुगेन नि केटा” । ” मलाइ के थाहा ? जराप पुरै नापेकै हो , नापे जति ल्याकै हो ” नाम्लोको पातोले दुखेको टाउको मुसार्दै मैले भने । बाले भन्नुभो ” किन झर्किन्छस त्यसै, बिनामेसै ? पैसा परेको माल त सबै ल्याउनै पर्यो नि , कि ल्याउनै बिर्सिस नत्र दस जराप मात्रै किनिस । त्यसरी घरमै ढाट्ने बानी लायो भने नराम्रो दुख पाइन्छ , तँलाइ चाहिने पैसो देकै छु , यसरी आफ्नै बाउलाइ छक्काउन नखोज न । पहिले घरखेल गर्नेले पछि चोरखेल गर्छन भन्ने त आहानै छ” । अब भने सरासर म माथी शंका गरेको बुझेको मैले “राम राम, सुरेलेस्म ( सुर्यले भस्म ) बिद्या नष्ट ……बाहारै जराप ल्याको हो नपत्याए ढेगा सोध्नुस” ……………….भने ।
हामी बाबू छोराको कुरा हुँदाहुँदै टुप्लुक्क आँगनको डिलमा देखिएका ओख्ले जेठा बा ( डम्मर बहादुर सारु )ले म तिरै हेरेर सोधे ” हि छाना र होइ ? हि के नार्च आला र नाकोके ? ( के भयो र ? किन गाली गरेको हो र तिमीलाइ ?) । मैले सबै फेहरिस्त बताइ दिएपछी टुप्पी सम्मै खुइलिएको टाउकोको टोपी अझै माथी सार्दै , एक्कै छिन आँखा बन्द गरेरे केही सोछे जस्तो भावमा, हँसिलो अनुहार लाएर जेठ्बाले हाम्रा बा तिर हेर्दै भने ” ए ……. बाबू पनि , आब टेटी डल्लो मान्छेको हाटले नापेको जराप पनि टपैको हाटले पुग्डो हो ट ? टपाइको हाटले नापेको जराप ट माहेलाको हाटले चार सारे चार हाट ट हुँडो हो भो निस्सै पनि ” ।
बास्तवमा सत्य कुरा त्यहि नै थियो होचो कदका थापा माइला बाको हातले नापेको खर झण्डै ६ फीट उचाइको हाम्रो बाको हातले नाप्दा नपुग्नु स्वाभाविक थियो ।
” बेकारमा मलाइ शंका गरेर ………” मैले च्याँठ्ठिदै भने ।
डुकुलराज हजुरबाले मलाइ सम्झाउने भावमा भन्नू भो ” हेर नाति चाइने जोकेरेमा जो यस्तै हुन्छ कैले काहीं बेभारमा ” तर बा केही बोल्नु भएन , केवल हो .. हो भन्ने भावमा टाउको मात्र हल्लाउनु भयो ।
# मैले अहिले कल्पना गर्छु , ओखलेका जेठ्बा नआएको भए मैले ढाँटेको अभियोगमा त्यस दिन बाको लात पक्कै खान्थे होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *