काठमाडौं, ५ असार । सिरीजंघा गाउँपालिकाले कृषिजन्य उत्पादनलाई जोड दिन ‘पकेट क्षेत्र निर्धारण’लाई प्राथमिकता दिएको छ । सो कार्यक्रम अन्तर्गत वडा नं ३ र ६ मा बाख्रा पालन, वडा नं २ र ५ मा किबि , वडा नं ७ र ८ मा चौँरी , वडा नम्बर १ र ४ मा मकैको पकेट क्षेत्रका रुपमा अघि बढाउने गाउँपालिकाले जनाएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त योजनालाई अघि सारिइएको हो । यस्तै चालुआवबाटै शुरुआत भएको ‘सिरीजंघाको सान, उद्यमशील किसान’ भन्ने कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । कार्यक्रम अन्तर्गत अब यहाँका किसानले माटो र भुगोल सुहाउँदो खेतीका लागि निः शुल्क माटो परीक्षण गर्न पाउनेछन् । यसका लागि गाउँपालिकाले यहाँ स्थित सिनाम माध्यामिक विद्यालयमा रहेको माटो प्रयोगशाला मार्फत निशुल्क परीक्षणको व्यवस्था मिलाउने आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै गाउँपालिका क्षेत्र भित्रका ७२ टोलमा किसानको मागमा आधारित कार्यक्रम साझेदारीमा सञ्चालन गर्ने समेत व्यवस्था मिलाइने जनाइएको छ । पोषणजन्य हिउँदे र वर्खे तरकारी उत्पादनमा कृषकलाई आकर्षित गर्न बीउ बिजन खरिद गरी सम्बन्धित क्षेत्रका टोल विकास संस्था मार्फत वितरण गरिने छ ।
तरकारी खेतीका लागि पालिका अन्र्तगतका आठ वटै वडाका गरी ५५० कृषकसंगको लागत साझेदारीमा टनेल खरिद गरी वितरण गर्ने व्यवस्था गाउँपालिकाले गर्ने छ । यसैबीच कृषिजन्य उपजको भण्डारणका लागि वडा नं २ र ५ मा स–साना शीतभण्डार निर्माण अघि बढाउने गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारीदिनुभयो । “माटो र भुगोल सुहाउँदो खेतीपातिमा कृषकलाई अघि बढाउँदै आयआर्जनमा वृद्धि गर्न र कृषि उपजमा गाउँपालिकालाई नै आत्मनिर्भर बनाउँन केही नयाँ कार्यक्रम सहित सिरीजंघाको सान, उद्यमशील किसान कार्यक्रमलाई निरन्तरता दिने भएका छौँ”उहाँले भन्नुभयो ।
उक्त योजनाले किसानको आयआर्जनमा सघाउ पुग्नुका साथै गाउँपालिकालाई समेत फाइदा पुग्ने जनाइएको छ । गाउँपालिकाले गत विहीबार आगामी आवका लागि ४३ बुँदे नीति तथा कार्यक्रम सहित रु ५० करोड ५७ लाखको बजेट ल्याएको थियो ।
