११ आश्विन २०७८, सोमबार

भगवानको नाममा समाजलाई गुमराहमा राखेर मानिसहरूमाथि हुने खुल्लम खुल्ला लुटपाट कहिलेसम्म?

kamdardainik.com (First, Fast & Accurate)

-खेम साउद

(फोटोमा महामल सिंह साउद)

शिक्षकको काम विद्यार्थी पढाउने र तलब पकाउने मात्र होइन, समाज र भावी पुस्तालाई चेतनशील बनाउने पनि हो। शिक्षकहरु समाजका सम्बाहक हुन। विचार, चेतना र परिवर्तनका सम्बाहक हुन। धार्मिक अन्धबिस्वास, परम्परा र संस्कृतिको नाममा समाजलाई गुमराहमा राखिनु हुँदैन। समयसंगै समाजमा बिद्यमान अन्धबिस्वास, कुरिती र बिसंगतिहरु हटाउदै जानुपर्ने हुन्छ। समाजमा पहिला सती प्रथा, देउकी प्रथा जस्ता कुसंस्कारहरु थिए। कालान्तरमा ती कुसंस्कारहरु हटाइए। त्यसले समाजमा सकारात्मक प्रभाव पार्यो। समाजमा बिकृतीको रूपमा रहेको छुवाछुत छोइछिटो चलन पनि हटेको छ। यसबाट कुनै देउता रिसाएनन्।

 

तर समाजमा कतिपय यस्ता थुप्रै गलत संस्कारहरु अझै बिद्यमान रहेका छन, जसका बिरुद्ध कसैले बोल्ने आँट समेत गर्दैनन्। यस्ता समस्या समाजका लागि जति चुनौतिपूर्ण छन, आम मानिसहरुले यसबाट खेपिरहेको सास्ती पनि त्यत्तिकै बिकराल छ। समाजमा बिद्यमान यस्ता कुसंस्कार बिरुद्ध बर्षौदेखि आवाज उठाउदै आएका बैतडीको तल्लो स्वराड स्थित नागार्जुन उच्च मा वि सर्मालीका प्रधानाध्यापक महामल सिंह साउद भन्नुहुन्छ- हाम्रो समाजमा खास गरी सुदूरपश्चिममा प्रचलित धामीझाँक्री प्रथाले गहिरो जरा गाडेको छ। खास गरी यहाँका सबै जसो मन्दिरहरुमा एक एक जना धामी रहने प्रचलन रहेको छ । धेरै पहिले जब औपचारिक संस्थाको रूपमा कुनै न कुनै देवताको नामले मन्दिरहरुको स्थापना भैसकेको थियो त्यति बेला गाउँ ठाउँको सबै जसो पक्षमा आपसी छलफल गर्ने मञ्च नै मन्दिर रहेको थियो। आजभोलिको जस्तो गाउँ पालिका, वडा , समूह, सहकारी, उपभोक्ता समिति, आमा समूह, बि व्य स, जस्ता मान्छे एक ठाँउमा भेटघाट गर्ने मन्दिर बाहेक अन्य कुनै निहुँ थिएनन्।

 

मन्दिरमा स्थानीय बुद्धिजीवी पुजारीको रूपमा, एक जना भण्डारण तथा कोष हेर्ने भंडर्या, गाउँ समाजको अगुवा एक जना मुखिया लाई मन्दिर को मुख्य ब्यक्ति को रुपमा मुखिया को पद सिर्जना गरिएको अवस्था थियो होला । कहिलेकाही मन्दिर सम्बन्धी तथा गाउँ ठाउँका साना तिना समस्या तथा वाद-विवाद , झैझगडा छिनोफानो गर्न अप्ठ्यारो पर्दा धर्म कचहरीको रूपमा रहेको मन्दिर सित संबंधित व्यक्तिहरुको सहयोग पनि लिने अवस्था आएको हुन सक्छ। समस्या बल्झिदा अथवा समस्याले जटिल रुप लिदा मुखिया लगायत , भण्डारे, पंडा आदि मिलेर एउटा नयां पद सिर्जना गरिएको होला “धामी” को पद। धामीलाई मन्दिर समितिको प्रबक्ताको रूपमा उनीहरुले गरेको निर्णय सुनाउने, देउताको तर्फबाट बोल्ने पद भनेर सर्वसाधारणमा परिचय गराइएको, एउटा राम्रो सभ्य शिष्ट ब्यक्ति, बास्तब मै देउता को जस्तो बोली वचन र व्यबहार भएको ब्यक्ति, राम्रो सुझबुझ भएको न्यायाधीशको भुमिका निभाउन सक्ने ब्यक्ति, जसको बारेमा देउता नै बोल्ने त्यो ब्यक्तिमा र उसले भनेको सबैले मान्नुपर्छ भन्ने प्रचारप्रसार सर्वसाधारण मानिसहरुमा गरिएको हुन सक्छ। यसरी धामी भन्ने महत्वपुर्ण पदको जन्म हुन गयो।

 

सुरु सुरुमा त समाजको निकै योग्य ब्यक्ति लाई धामी छान्ने चलन रह्यो होला। पंडा, भण्डारे, मुखिया मिलेर धामी छनोट गर्ने गरेको अवस्था थियो। मुखिया को छोरा मुखिया हुने, पंडाको छोरा पंडा हुने चलन रहे सरह धामीको छोरा नै धामी हुने अवस्था आएको होला पछि गएर। सुरु सुरुमा त धामिले मन्दिरको अन्य कर्मचारी हरुको सरसल्लाह र मुखियाको अधीनमा रही काम गर्नुपर्ने अवस्था थियो, उ मन्दिरको प्रवक्ताको रुपमा निर्णय गर्नु भन्दा पनि निर्णय लागू गराउन प्रभाबकारी होस भनेर देउता नै बोलेको जस्तो अभिनय गरेर सर्वसाधारण माझ प्रस्तुत हुने परिपाटी थियो तर हाल आएर निर्वाचित ब्यक्तिले गाउँसमाजको मुख्य ब्यक्तिको स्थान लिन पुगेको र गाउँ समाजमा मुखियाको पद कम्जोर हुँदै गएकोमा गाउँको मुखियाको पद मन्दिर सम्म मात्रै सिमित रहन गई कुनै कुनै ठाउँका मन्दिरमा धामी शक्तिशाली बन्न पुगेको देखिन्छ । धामीको पद सिर्जना हुनुको कारणबाट मुखिया, पन्डा आदि नै अनभिज्ञ रहन गएको कारण, धामीमा साच्चिकै देउता आउँछ र धामी काम्दा देउता बोल्छ भन्ने अन्धविश्वास सर्वसाधारणमा कायम हुन गएको देखिन्छ । यहि अनभिज्ञताको फाइदा उठाउदै यतिबेलाको धामीहरु आफुमा देउता आउने, काम्ने बेला आफू नबोलेर देउता बोलेको, आफू देउता आउने मान्छे भएकोले आफू लाई बिगतका सबैको बाजे परबाजे को समयको कुरा जान्ने, उसले भनेको कुरा सबैले मान्नु पर्ने, नत्र देउता रिसाउने, देउता रिसाएमा संबंधित मान्छे तथा परिवारको कुभलो हुने, अनेकौ दुख कष्ट आई पर्ने भनेर समाजमा डर त्रासको वातावरण फैलाउन धामी सफल भएको र आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्न सफल भएको देखिन्छ । धामीमा देउता आउने वा काम्ने भन्दा पनि निजले सो को अभिनय गरेर सर्वसाधारणलाई ठग्दै आफ्नो प्रभुत्व र प्रभाव कायम राख्न सफल भएको देखिन्छ । शिक्षाको क्षेत्रमा पछि परेकोले सचेतनाको कमि, अन्धविश्वास, रुढीबादिता को भरपुर फाइदा उठाउदै धामीले सर्वसाधारणलाई देउताको नाउमा लुटि रहेको अवस्था गाउँ घरतिर र सहरमा समेत देख्न पाइन्छ ।

 

साउद भन्नुहुन्छ- म रहेको ठाउँ शर्माली बैतडीको सन्दर्भमा भन्ने हो भने स्थानीय स्तरमा धामी पदको सार्है दुरुपयोग भएको देखिन्छ । यसरी लुटिने तथा ठगिने हरुमा सबैजसो समुदायका मानिसहरू परे पनि बढि जसो दलित समुदाय बढी ठगिने गरेको देखिन्छ । बाजे बराजु ( पितृ) को भाकलको निहु पारेर केही बर्ष अगाडी एउटा गाउँको सबैजसो घरधुरीबाट उक्त समुदायको धामीले एउटा घरबाट रु एक लाख चौबीस हजार, अन्य केही परिवारहरुबाट प्रति परिवार रु चौसट्ठी हजार का दरले र बाकी घरपरिवारबाट रु ३,५००/- सम्म देउताको नाममा संकलन गरि शर्मालीको एउटा दलित परिवार बाट स्थानीय धामीले जरिवाना स्वरुप उठाएर लाखौं को रकम गायब गरेको अवस्था छ। सचेतना को अभावमा र धामी रिसाए देउता रिसाउछ र देउता रिसाए त सबै थोक समाप्त हुन्छ भन्ने बिश्वास बोकेको समुदाय त्यो लाखौं को रकम कहाँ गयो भनेर धामी समक्ष र अरु ठाउँमा समेत पश्न उठाउन सक्ने अवस्था छैन । धामीले देउताको नाउमा पैसा उठाएर सो पैसा दुरुपयोग गरेको, ब्यक्तिगत स्वार्थ पूरा गरेको महसुस हुदाहुदै पनि सो सम्बन्धी कुरा गरे धामी रिसाउने र धामी रिसाए देउता रिसाउने अन्धविश्वासले कुरा सम्म गर्न समेत डराउने अवस्था देखिन्छ ।

 

त्यस्तै एक जना अर्का धामी जसले एक जना दलित समुदायको मान्छे लाई पटक पटक कामेर तेरो पितृको भाकल छ, मेरो छोरा भयो भने तराजुमा तोलेर ( तुला तोलेर ) रुपैयाँ चढाउला भन्ने छ भनेर केही वर्ष पहिला मात्रै सिक्का मा तोल्न नमानेर रु ६०,०००/- नगद लियर देउताको मा ठगेको घटना गाउँमा सर्वबिदितै छ । उक्त रकम देउतामै चढाउनु पर्ने भए सो रकम मन्दिरको कोषमा जम्मा हुनु पर्ने हो तर धामीले आफ्नो कोषमा जम्मा गरेको अवस्था छ ।
स्थानीय समुदाय यति सम्म रुढीबादी ग्रस्त भएर धामीको चङुलमा फसेको छ कि पितृको देउकी र गंगोत्रीको जल चढाउने भाकल छ भनेर धामीले देउताको नाउँमा ठगेको भरमा जल र देउकी मन्दिरमा चढाउन गाउका ४० परिवारले प्रती भारु ६,०००/- का दरले उठाएर झण्डै रु चार लाख खर्चेर देउतालाई गंगोत्रीको जल र देउकी चढाउन केटी नपाएको खण्डमा देउता ले सुनको देउकी को मुर्तीमा मानी हाल्छ भनेर सुनको मुर्ति बनाउन लाएर देउकी प्रथालाई निरंतरता दिएको अवस्था छ। यसरी मन्दिरमा सुन चांदी चढाउने परिपाटीले के कति नगदी जिन्सी जम्मा हुन पुग्यो भनेर शोधखोज गरेर खोज्ने चलन छैन। त्यसै गाउँ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना ले बनाएको खाने पानीको योजना मासिक रु १०/१५ मर्मत सम्भार तथा सामान्य खर्च तिर्न सक्दैनौँ भनेर मर्मत सम्भार खर्च उठाउन नसक्दा नभई नहुने वास्तविक जल धारामा आउन छोडेको छ । गंगोत्री को जललाई रु १०,०००/-सक्ने तर आफुले रात दिन पानी खाने खानेपानी योजनाको लागि १० रुपैया नसक्ने, यस्तो छ स्थिति गाउँ घरमा ।

 

यस्तै पोहोर साल मात्र शिबनाथ -६ बसेड़ीमा एक जना आईमाई भीरबाट लड़ेर गंभीर रुपमा घाइते हुदा स्थानीय धामीहरुले यसलाई त भूत लागेको छ, म निको बनाउछु, यसलाई म आज राती बाटो लगाउछु भोलि बाटो लगाउछु, झार्नेबाट ठीक पार्छु। चिंता नगर , म छु भन्दै अस्पताल समेत लान नदिएर बिरामी झन झन सिकिस्त हुदै जादा ६ महिना पछाडी काठमाडौं टिचिंग हास्पिटलमा उपचार गराउदा उनको दुबै हात, खुट्टा र कम्मर ठाउँ ठाउँमा भाँचिएको र ढिलो गरी अस्पताल पुर्याउदा उपचार गर्न समेत कठिन भएको र अप्रेसन पछि केही निको भएको थियो। गरीब परिवारको भए भरको पैसा पनि धामी र सोड्ने झारफुक गर्नेहरुले सकाएको र पछि उनको उपचारको लागि पैसा नहुँदा देश बिदेश बाट सहयोग उठाएर उनको उपचार गरिएको थियो। यस्ता थुप्रै घटनाहरु घटिरहेको अवस्था छ।
यी त केही उदाहरण मात्रै हुन। देउताको नाउमा यसरी असुलिएको सुन चादी र नगद्को कुनै अत्तोपत्तो छैन। केही वर्ष अघि मात्र मन्दिरमा चढाएका २ ओटा सोलार सिस्टम मन्दिरमा नभएर धामीको घरमा देखिन्छन् । सरसम्पती को लेखाजोखा राखिनु पर्यो, मन्दिर व्यबस्थापन समिति बनाउनु पर्यो भन्दा धामी र निजको मंडली मान्दैनन् । उनीहरु भन्छन देउताको सम्पत्तिको लेखाजोखा गर्न मिल्दैन र समिती गठन गर्न पनि मान्दैनन । स्थानीय जनताको सचेतनाको कमि, धामीले भनेको बिपरीत गएमा धामी रिसाउछ्न र काम्न आउदैनन, धामीले काम्न आएन भने सर्वनाश हुन्छ भन्ने अन्धविश्वास र डर सर्वसाधारणमा कायम छ। स्थानीय सरकार, राजनैतिक दलहरु र प्रशासन कसैलाई चासो र चिन्ता छैन । सायद जिम्मेवार पक्ष पनि अन्धविश्वास र धामीको डरत्रास बाट मुक्त हुन नसकेर होला। समस्या तथा लुटपाट महसुस गर्न नसकेको हो वा वास्ता नगरेको हो। जिम्मेवारी कसको ? जबाफदेही को ?यस्ताखालका समस्याहरुको समाधान र व्यवस्थापनका लागि समाज, सरकार, सम्बन्धित निकाय र जागरुक युवा वर्गले ध्यान दिनु जरुरी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *