काठमाडौं । मनसुनजन्य बाढीपहिरोबाट १० दिनयता २३ जनाको मृत्यु भएको छ । यसवर्ष गत २८ जेठबाट मनुसन सुरु भएकोमा ३१ जेठदेखि ९ असारसम्मको १० दिनको अवधिमा मनसुनजन्य विपद्का ९३ घटनाबाट २३ जनाको ज्यान गएको हो ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको बुधबारसम्मको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाको बाढीपहिरोमा ज्यान गएको र २० जना बेपत्ता छन् । यसैगरी, रोल्पा र डोटीमा तीन–तीन जनाले बाढीपहिरोमा परेर ज्यान गुमाएका छन् ।
पाँचथर, सप्तरी, काभ्रे, गोरखा, कास्की, पाल्पा, अर्घाखाँची, प्युठान, जुम्ला, कालिकोट, बाजुरा र बझाङ एक÷एक जनाको ज्यान गएको छ । विभिन्न जिल्लामा बाढीहिरोमा १८ जना घाइते भएका छन् । बाढीपहिरोकै कारण सिन्धुपाल्चोकमा मात्रै यो अवधिमा २ सय १ घर पूर्ण क्षति भएको छ । मनाङमा ५१ घर पूर्ण र २० घरमा आंशिक क्षति भएको छ ।
यस अवधिमा देशभर बाढीपहिरोका कारण ३ सय २५ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ । प्रतिकार्य योजना प्रभावकारी बनाइ“दै सरकारले मनसुन सुरु भएसँगै विपद् बाट हुने घटना न्यूनिकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना कार्यान्वयनमा लगिसकेको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी गरिएको छ ।
जसअनुसार प्रत्येक जिल्लामा सडक पहुँच भएको ठाउँमा घटना भएको ३० मिनेटभित्र सुरक्षाकर्मीको टोली परिचालन हुनेछन् । यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन वटै सुरक्षा निकायसम्मिलित ‘डेडिकेटेड डिजास्टर रेस्पोन्स टिम’ (डीडीआरटी)समेत तयार गरिएको छ । त्यस्तै, घटना भएको स्थानबाट प्रभावितलाई तत्काल अस्थायी बसोबास प्रबन्ध गरी क्षति पुगेका घर पुनर्निर्माण गरिने योजना प्रतिकार्य योजनामा राखिएको छ ।
सो योजनामा मुख्यगरी पहिरोको वडास्तरीय नक्सा तयार पारी जोखिम न्युनिकरण कार्यक्रम समावेश गरिएको छ । त्यस्तै, बाढीपहिरो तथा कोभिड जोखिम पहिचान गरी नक्सा तयार पारिएको छ । यसवर्ष पहिरो पूर्वानुमान गर्नेगरी नौ जिल्लामा प्रविधि जडान गरिएको छ । यसैगरी, प्रतिकार्य योजनामा मानिसको सुरक्षित अवतरणका लागि खुला स्थान पहिचान गरी आवश्यक तयारी गरिएको छ ।
मुलुकका विभिन्न क्षेत्रमा १ सय ५५ खुला स्थान तय गरिएको छ । गृह प्रवक्ता जनकराज दाहालका अनुसार सरकारका सबै संयन्त्र बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनमा परिचालित हुन प्रतिकार्य योजन बनाएरै क्षेत्रगत रूपमा सबै निकायको जिम्मेवारी तोकिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख अनिल पोखरेलले मनसुनको सय दिने अवधिमा गर्नुपर्ने पूर्वतयारीमा प्राधिकरणले काम गरिरहेको जानकारी दिए ।
