काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

मुख्य समाचार राजनीति

काठमाडौं। काठमाडौं उपत्यकाभित्र मात्र होइन अहिले निषेधाज्ञा भएका ७५ वटै जिल्लामा रहेका नागरिकको साझा प्रश्न हो – के होला अबको निषेधाज्ञा?

यही प्रश्न हामीले ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई सोध्यौं। उनको जवाफ भने अपेक्षा गरेभन्दा खासै फरक थिएन।

दोस्रो लहरमा कोरोना भाइरसका संक्रमित संख्या बढेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्ने आवश्यक कदम चाल्ने अधिकार जिल्ला प्रशासन कार्यालय प्रमुखलाई दिएको छ। त्यसैले पनि प्रजिअ निरौलाको उत्तरले काठमाडौं उपत्यकाभित्र थप निषेधाज्ञा हुने स्पष्ट गर्छ। त्यस्तै, यही प्रश्नको जवाफ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि उस्तै हिसाबले दिए। ‘स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ। केही खुकुलो बनाएर थपिन्छ भन्ने हो,’ सीडीओ पराजुलीले भने।

काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा भने तीन जिल्लाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बसेर छलफल गरि निर्णय गर्छन्। उनीहरुको निर्णयलाई जिल्ला कोभिड संकट व्यवस्थापन समिति (​डीसीसीएमसी) निर्णयले केही मार्गनिर्देशन गरेको हुन्छ।

काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदखि जारी रहेको निषेधाज्ञा असार १४ गते रातिबाट सकिँदैछ। आज बस्ने सीडीओहरुको बैंठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ। ‘दुई दिन समय छ। हामी छलफलमा बसेर कति दिन र कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने छौं,’ ललितपुरका सीडीओ निरौलाले भने।

एक साताअघि थपिएको निषेधाज्ञाले जनजीवनलाई केही खुकुलो बनाएको छ। अहिले अधिकांश प्रकारका पसलहरुलाई समय र बार तोकेर खोल्न दिइएको छ। अनि निजी सवारी साधनलाई समेत जोर बिजोरको आधारमा चल्न दिइएको छ। होटेल र रेष्टुराँले टेक अवे सुरु गर्न पाएका छन्।

सिनेमा हल, सपिङ मल, मठ मन्दिर, स्कुल कलेज लगायत मानिसको धेरै भिडभाड हुने क्षेत्रलाई अझै पूर्ण रुपमा निषेध गरिएको छ। त्यस्तै, सार्वजनिक सवारी साधान समेत निषेधको मारमा परेको छ। यी क्षेत्रमा अब थपिने निषेधाज्ञामा सम्बोधन कसरी हुन्छ?

अबको रणनीति पनि निषेधाज्ञालाई थप खुकुलो पारेर लैजाने नै हुनेछ। तर, कुन क्षेत्रलाई कसरी खुकुलो पार्ने भन्ने बारेमा छलफलमै रहेको सीडीओ निरौलाले बताए।

‘माग भएका क्षेत्रलाई केही खुकुलो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। फेरि छलफलबाट केही होला। केही खुकुलो हुन्छ,’ सीडीओ निरौलाले भने।

त्यसो त निषेधाज्ञा अझै खुकुलो बनाउने भन्नुको अर्थ कुनै क्षेत्र खोल्नुमात्र होइन। अहिले संचालन गर्न दिएको क्षेत्रलाई समय बढाउनु पनि खुकुलो बनाउनु भित्र नै पर्छ। खुकुलो बनाएर संचालनमा ल्याएका क्षेत्रबाट संक्रमणलाई के कस्तो असर पर्‍यो भन्ने सम्बन्धित निकायको सुझाव लिएर निषेधाज्ञाको मोडालिटी संशोधन गर्ने तयारी भइरहेको हो।

केही निकायले संक्रमण बढेको भन्दै निषेधाज्ञा कडा गर्न सुझाव समेत दिएका छन्। तर, अस्पतालको बेडमा बिरामीको अवस्था, सङ्ख्यात्मक रुपमा संक्रमण दर दुवैमा कमी छ। यसकै आधारमा कोरोना भाइरस नियन्त्रणतिर आएको भन्ने पनि छ। तर, अहिले नियन्त्रण भएको संक्रमण केही समय अघिको कडा निषेधाज्ञाका कारण हो। र, अहिलेको भिडभाडले संक्रमण बढ्नसक्ने र जसको असर केहीपछि मात्र देखिने भन्ने किसिमका सुझाव पनि सीडीओ कार्यालयलाई प्राप्त भइरहेको एक अधिकृतले जानकारी दिए।

वैशाख महिनादेखि बन्द रहेको आन्तरिक उडान पनि असार १७ गतेदेखि संचालन हुने भएको छ। तर, हवाई उडानको सङख्यामा कटौती गरिएको छ। आधामात्र जहाजले आधा क्षमतामा यात्रु बोकेर उडान गर्न पाउने छन्।