काठमाडौं, १९ असार । केन्द्रीय कमिटीको बैठकअघि सहमति खोज्न बसेको एमालेका दोस्रो तहका नेताहरूको बैठक निष्कर्षविहीन भएको छ । माधव नेपाल पक्ष कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न राजी नभएपछि शनिवारको छलफल निष्कर्षमा पुग्न नसकेको हो । ललितपुरको सानेपास्थित समिट होटलमा दुवै तर्फका दोस्रो तहका नेताहरू सहभागी थिए । शनिवारको बैठकमा पनि माधव पक्षले पूर्व माओवादी पृष्ठभूमिका नेताहरू विनाको स्थायी कमिटी बसेर केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडान राखेका थिए ।
‘देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न उहाँहरू अझै सहमत हुनभएन,’ बैठक स्रोतले लोकान्तरसँग भन्यो । शुक्रवारको केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्न सोमवार साँझसम्मको समय दिएको छ ।
छलफलमा उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल तथा नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य लगायत सहभागी थिए । सहमति जुट्न नसकेपछि संस्थापन पक्षका नेताहरू केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटारतिर लागेका छन् ।
छलफल चलिरहेको समयमा नेता भुसाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । शनिवारको बैठकअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको स्रोतले बतायो । टेलिफोन संवादका लागि भुसालले सहजीकरण गरेका थिए ।
बिहीवार साँझ पनि ओली र नेपालबीच कुराकानी भएको ओलीले शुक्रवारको बैठकमा बताएका थिए । सोमवारसम्म हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त नेता नेपालले अस्वीकार गरेका छन् । शनिवारको बैठकले महाधिवेशनबारे निर्णय लिने सम्भावना रहेको एक नेताले जानकारी दिए ।
