काठमाडौं, २१ असार । पार्टीको १४ औं महाधिवेशनको रौनक क्रमशः बढ्दै गइरहेको बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षले कम्तिमा डेढ वर्ष महाधिवेशन सार्ने प्रस्ताव सभापति शेरबहादुर देउवा समक्ष गरेको छ । कोभिड संक्रमणको महामारीका कारण तल्लो तह सम्म अधिवेशन गर्ने वातावरण नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन सार्ने प्रस्ताव अनौपचारिक रूपमा गरेको कांग्रेश उच्च स्रोतले राष्ट्रपुकारलाई बतायो ।
कोभिड संक्रमणको कारण देखाए पनि महाधिवेशन सार्ने प्रस्ताव भित्र राजनितिक कारण रहेको स्रोतको भनाइ छ । पौडेल पक्षले डेढ वर्ष महाधिवेशन सारेर सभापति देउवालाई पार्टी चलाउन कार्यकाल थपिदिने र १४ औ महाधिवेशनमा देउवा चुनावमा नलड्ने प्रतिवद्धता गर्नु पर्ने प्रस्ताव गरेको हो ।
देउवा चुनाव नलड्ने प्रतिबद्धतासंगै अहिलेको कार्यसमितिमा आफ्नो पक्षबाट उपसभापति र महामन्त्री राजनितिक निर्णयका आधारमा थप गर्न समेत पौडेल पक्षले प्रस्ताव गरेको छ । तर देउवा पक्षले पौडेल पक्षको प्रस्तावलाई अस्वीकार गरेको छ । संस्थापन पक्षले पौडेल पक्षको प्रस्तावलाई डेढ वर्ष कार्यकाल थपेर पार्टी कब्जा गर्ने रणनीतिका रूपमा बुझेको छ ।
संस्थापन इतर पक्षबाट पार्टी सभापतिमा उम्मेदवारको संख्या धेरै भए पछि व्यवस्थापनको समस्या देखिएको छ । वरिष्ठ नेता पौडेल सहित महामन्त्री डा. शसाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह देखि कल्याण गुरुङ सम्मले सभापति लड्ने घोषणा गरे पछि यो समूह अप्ठ्यारोमा छ ।
पार्टी एकता प्रक्रियाबाट आएका र संस्थापन हुनुका कारण पनि देउवा बलियो अवस्थामा रहेको पौडेल पक्षको बुझाई छ । त्यस कारण देउवालाई डेढ वर्ष कार्यकाल थपेर आन्तरिक व्यवस्थापनसंगै आफु अनुकूलको परिस्थिति बनाउन सकिने विश्वास संस्थापन इतर पक्षको छ ।
पौडल पक्षको यो प्रस्ताव पछि संस्थापन पक्ष महाधिवेशनको सघन तयारीमा जुटेको छ । आफु निकट नेताहरुलाई सभापति देउवाले महाधिवेशन घोषित मितिमै हुने भएकाले तयारीमा लाग्न निर्देशन दिएका छन ।
