काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ ।
क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो ।
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने जानकारी दिए ।
पार्टीले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडा स्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो ।
कांग्रेसका सहमहामन्त्री महतले क्रियाशील सदस्यताको विवरण गाउँ तहसम्म पु¥याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव नदेखिएको बताए ।
केन्द्रीय अधिवेशन नसर्ने पार्टीको केन्द्रीय अधिवेशनको कार्यतालिका भने हेरफेर नगर्ने तयारी छ । पूर्वनिर्धारित समयमा अधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण केन्द्रीय महाधिवेशन भने नसर्ने उनले स्पष्ट पारे ।
पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ । कोरोनाको जोखिमका कारण देखाएर केही समय महाधिवेशन पर सार्न सकिने सम्भावना भए पनि निर्धारित समयमै अधिवेशन सम्पन्न गर्ने नै अहिलेसम्मको तयारी रहेको जानकारी नेताहरूले दिएका छन् ।
यस विषयमा निर्णय गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । पार्टीका नेताहरूका अनुसार महाधिवेशनको पूर्वनिर्धारित समयतालिकामा पुनर्विचार गर्ने विषयमा नेताहरूका बीचमा कुराकानी भइरहेको छ तर महाधिवेशन सार्नुपर्छ भन्ने कुरा कसरी प्रस्ताव गर्ने भन्नेमा समस्या भएका कारण यसले औपचारिकता पाउन सकेको छैन ।
खासगरी स्थानीय तहको निर्वाचन अघि पार्टीमा धुव्रीकरण बढ्न सक्ने भएकोले महाधिवेशन रोक्नुपर्ने सुझाव नेताहरूले सभापति देउवालाई दिएका छन् । केन्द्रीय सदस्य सुजाता कोइराला स्थानीय तहको मुखैमा पार्टीको महाधिवेशन हुँदा कार्यकर्तामा मनमुटाव हुने कुरालाई नकार्न नसकिने बताउँछिन् । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।
