११ आश्विन २०७८, सोमबार

हो, म त्यहीँ अभागी ‘बा’ हु (कबिता)

kamdardainik.com (First, Fast & Accurate)

-कमलेश घरडी

भोलि बिहान सबेरै उठ्नु छ
खाडीबाट प्लास्टिकले बेरेर
कफनमा दफन गरिएको
एक आसाको दियोको
बिलिप्त किरणलाई
आफ्नै चिहानको ज्वालामा
समाहित गर्नु छ
कठै म त्यहीँ अभागी बा हु
जस्ले छोराको चितामा
अग्निको मुस्लो पेस्नु छ

 

उठ्नु सबेरै छ
मरे निन्द्रा लाग्दैन
सुन्निएका आँखाका भिजेका परेलाले
यो भन्दा बढिको भार थेग्न सक्दैनन्
टुक्रिएको मुटुको
बुढ्यौली र सन्तापले होला
प्रष्ट सुनिएको विदारक आवाजले
निष्पट र शान्त रातमा
मनोभावको गहिराईमा कुलाडी मारेको छ
म त्यहीँ अभागी बा हु
जस्ले आफ्नो छोराको क्रियाक्रम गर्ने
दुर्भाग्य पाएको छु

 

घरको एक्लो छोरा
चञ्चलता, जिज्ञासुपन अधिक हुँदो हो
खाडीमा भासिए देखि त्यो चञ्चलता
फ़ेरि सुन्न र अनुहारमा देख्न पाइएन
ठट्यौली पारा र मुस्कान सहितको
बोलीको लवज बाकी राखेन
बोलिराख्ने उस्को बानी
शान्त र निर्दोष देखिन्थ्यो
सबैको चाख राख्ने छोरा
परिवारकै वास्ता गर्न छोडेको थ्यो
साच्चि त्यो खाडी त्यति क्रूर र भुक्तभोगी छ र?
कि त्यहाँ पुगेका मान्छेका सपना र मगज
आफुमा समाहित गरेर मान्छेलाई बेतुकको बनाइ दिन्छ?
धेरैका सपना मात्रै लुट्यो होला
मेरो त सर्वस्व लुट्यो
भविष्यको आधार लुट्यो
लुट्न केही बाकी नराखी लुट्यो
छोराको चिम्टी सास समेत लुट्यो
हो म त्यहीँ अभागी बा हु!

 

मेरा सपना संगै
उस्का आफ्नै सपना थिए
आफ्नै लक्ष्य थिए
आफ्नै भविष्य थियो
तर लुट्न पल्केको खाडीले त
उस्को सास समेत लुट्यो
अन्तिम सास फेर्दा आफन्तको काख पाएन
मरे लगत्तै आफ्नै कात्रो पाएन
महिनौं सम्म आफ्नै चिहानमा पुग्न
त्यो मृत देहले संघर्ष गर्नुपर्‍यो
हो म त्यहीँ अभागी बा हु

 

कसै संग केही गुनासो छैन
र हुने पनि छैन
केही बाकी भएको र रहेको भए पो गुनासो
लुट्न पल्केका नेपालका नेता भन्दा नि
कठोर त्यो खाडी संग के गुनासो
अनि आफ्नो देशको लाचारीपन संग
अब के को गुनासो
बस्, यत्ति हो
भोलि सबेरै उठ्नु छ
छोराको प्लास्टिकमा बेरिएको
त्यो मृत देहको
विधिसम्मत अन्तिम संस्कार गर्नु छ
हो म त्यहीँ अभागी बा हु!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *