शम्भु निरौला
हामी गाउँका मान्छे।दु;ख छ।टेन्छेन छ।किन त भन्दाखेरि पलायनले गर्दा।
हो,पलायनले समस्या थपेको छ।पहिलो हो प्रतिभा पलायन!दोस्रो बुहारी पलायन!
प्रतिभा पलायनले जान्नेबुझ्ने मान्छे गाउँमा छैनन्।दीक्षित शिक्षित सहर पसे।विद्वान विदुषी उतै हराए।अझ तीमध्येका अब्बल त बिलायत अमृका छिरे।गाउँ रित्तै।तेस्ता वरिष्टजनको बुद्धि-प्रयोगको थलो गाउँ हुन सकेन!
यो एउटा विडम्बना!त्यस्तै
बुहारीज्यूहरूको पलायनले झनै पारिवारिक समस्या बढेको छ।सामाजिक पनि।बिहेबटुलामा पातदुना गर्ने छैनन्।औँसीपुर्नेमा घर लिप्ने बुढीआमा।सराद्देमा बुहारीले साँधेको अचार अब पाइँदैन।खेतबारी सेता बनमाराले आक्रान्त।भित्रिबारीमा खोर्सानी छैनन्।रायोमुलाको कुरै नगरौँ।उता बुहारी सीतामढीको खोर्सानी किन्ने,यता ससुराबा सिगात्सेको लसुन किन्ने !यता सासूआमा घिस्रिघिस्री कलौरीलाई घाँस काट्ने,उता बुहारी आज लाएको नङपालिस भोलि खुर्किँदै भोलिको पर्सि खुर्किँदै गर्ने।45माथिको सेन्टिग्रेटमा काम गर्ने फेरि उता छ।सामुदायिक शिक्षामा उसको अरुचि छ।जब शिशु 40महिनाको हुन्छ,तब बोर्डिङको कालो छायाले उसलाई च्याप्छ।घाँटीमा टाइजडित नानीको चित्र अङ्कित हुन्छ मनमा।कहाँ बस्ने त्यो रिङ्गेट,रियाल,रुपये,दिराममा भर पर्छ।ठिकै छ भने सदरमुकाम।राम्रै छ भने राजधानी!उताबाट महिनैपिच्छे आइएमी,यता ब्युटिपार्लर,सपिङ मल,चिकेन पिज्जा,एन्ड्रोएड,टु पिस,वान पिस,लक्मे,फेस बुक,भाइबर,इमो,कोठाभाडा,दैनिक खानेकुरा,स्कुलको एघार आइटमको बिल।उता बुहारीका इन्डक्सनमा चिकेन फ्राइ भैरहँदा यता ओदानमाथिको ताप्केमा सिँबीका दाना गाल्ने दाउरा खै?उता विशेषज्ञ डाक्टरले बुहारी जाँचिरहँदा यता ससुराबालाई सिटामोलको जोहो कसले गरिदिने?
(यो कसैप्रति लक्षित छैन।कसैको जीवनसित मेल खाएमा संयोगमात्र हुनेछ।)
