११ कार्तिक २०७८, बिहीबार

संगठन चुस्त, दुरुस्त र पारदर्शी हुनुपर्दछ।(अन्तरवार्ता)

kamdardainik.com (First, Fast & Accurate)

अशोक खड्का 

काठमाडौँ। 

 

धादिङमा जन्मिएर बेलायतस्थित रेडिङ विश्वविद्यालयमा कार्यरत रामशरण सिम्खडाले आगामी अक्टोवर तेस्रो साता हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । दुई कार्यकाल आइसीसी सदस्य रहेका उनी तीन पटकपटक विधान संशोधन समिति सदस्य पनि रहेका थिए । संघको परोपकार समितिमा सदस्य सचिव भइसकेका उनी सन् २०११ को एनआरएनए युकेको निर्वाचनबाट महासचिव भएका थिए

 

 

प्रस्तुत छ अशोक खड्काले कामदार दैनिका लागि सिम्खडासँग गरेको कुराकानी

तपाइहरुको गतिविधि हेर्दा एनआरएनएको चुनाव सुरु भए जस्तो छ ?

 

सायद मेरो सामाजिक संजालहरु हेरेर यो धारणा बनाउनु भएको होला, जुन सत्यको नजिक पनि छ । सन् २००३ देखि प्रत्यक्षरुपमा सन २००५ को शुरुदेखि औपचारिकरुपमा यो आन्दोलनमा जोडिएको छु । तत्पश्तचात कुनै न कुनै भूमिकामा छु । पहिलो पटक अन्तराष्ट्रीय परिषदको निर्वाचित भूमिकामा गइ नीतिनियम र यसको कार्यान्वयमा परोक्ष सहभागीता जनाउने सोच अनुसार रायसल्लाहको लागि सामाजिक संजालमा राखेको थिएँ– धेरै अग्रज तथा शुभचिन्तक शुभेच्छुकहरुको रायमा केही पत्रपत्रिकामा समेत आएको छ– अब भन्दा हुन्छ, औपचारिक घोषणा नभए पनि आगामी दशौ अन्तराष्ट्रीय महाधिवेशनमा आकांक्षी छु– यसको मतलब चुनाव शुरु भयो भन्दा हुन्छ ।

 

तपाइको उम्मेदवारी के उद्देश्यका लागि हो? एजेन्डा के हुन् ? के आधारमा निर्वाचनमा होमिनु भएको हो ? कि चर्चाकै लागि उम्मेदवारी दिनु भएको त होइन ?

 

यो संस्था शुरु भएको १८ वर्ष भयो । कुनै बालाक जन्मिएपछि यो अवधिमा उ बालिग हुन्छ यानकी वयस्क हुन्छ । कुनै पनि संघसंगठनको जीवनमा १८ बर्ष भनेको प्रर्याप्त समय हो र पनि यो न त आन्दोलनको रुपमै छ न संगठनको संरचना र काम कार्यवाही नै संस्थागत रुपमा परिपक्व देखिन्छ । मुलभूतःरुपमा संस्था हो भने संस्थागत र विधिविधानको अक्षरस पालन गरेर चलाऔं, आन्दोलन हो भने सोही अनुरुप यसका कामकार्यवाहीलाई अघि बढाऔं । भनिने गरेको ५० औं लाख नेपाली गैरआवासीय नेपालीको दायरामा पर्दछन् तर के कतिीसाथीहरु यसमा संलग्न हुनुहुन्छ ? के कति श्रमिक साथीहरुलाई यस संगठनले समेट्न सकेको छ ? के राज्य (नेपाल सरकार) ले चाहेनुसार सबै गैरआवासीय नेपालीहरु सम्बृद्ध नेपालको लागि पुँजी, सीप, प्रविधी देशभित्र भित्र्याउन लागेका छन त ? यी मुलभूत कुराहरुलाई सम्बोधन गर्न संगठन चुस्त, दुरुस्त, पारदर्शी र यसका ध्येय, ऊदेश्य र कृपाकलापहरु आम गैरआवासीय नेपाली माझ अनुभूत हुने हिसाबले संप्रेषण गरी बुझाउनु पर्दछ । सो हुन सकिराखेको छैन । र, यसको दायरा फराकिलो पार्न समेत मेरो उम्मेदवारी हो ।

संगठनको जम्मा पंजिकृत सदस्य संख्या यस पटक ईतिहांसमै १ लाख कटेको छ तर आसन्न महाधिवेशनमा मतदाता (डेलिगेट)को रुपमा विधानतः करिब २५०० को आसपासमा भइन्छ होला । यसको यकिन तथ्याङ्क १–२ दिनमा सचिवालयबाट प्राप्त हुने नै छ । चुनावमा होमिनुको कारण भनेको आजसम्म अग्रजहरुले यस संस्थालाई जसरी जुनरुपमा यो अवस्थासम्म ल्याईपुर्याउनु भयो, उहाहरुप्रति सम्मान र अनुग्रहित हुँदै अब सुस्प्रष्ट मार्गमा हिँडाउन हिजोको राम्रो पक्षलाई अंगिकार गर्दै माथि उल्लेख गरिएका आधारमा संस्था परिवर्तन हैन रुपान्तरण गर्न योजना र त्यसको कार्यान्वयनका आधारहरुसहित मेरो दाबेदारी हो । यस पटक पूर्ण तयारी र जितको आधारसहित प्रस्तुत भएको छु ।

 

 

गैर आवासीय नेपाली अभियानको सक्रिय अभियन्ता हुनुहुन्छ, बेलायतको एनआरएनए संख्या र सदस्यका हिसावले ठुलो छ तर बेलायतमा नेपालीको पहिचान र सामाजिकीकरणको मुद्दामा कहिल्यै केन्द्रित हुन सकेन र समुदाय संधै विवादित र विभाजित रह्यो, केन्द्रिय सचिवको हैसियतले बेलायतका नेपाली समुदायलाइ कसरी विभाजनबाट रोक्नु हुन्छ ?

 

म त यस अभियानको एक वफादार सिपाही हुँ । विगत १८ बर्षदेखि यसै संस्थामा मैले अधिकांश समय खर्चको छु । जहाँसम्म राष्ट्रीय समन्वय समिति यूके (बेलायत) को सवाल छ, बेलायती नेपाली डायस्पोरा संख्यात्मक रुपमा ठूलै मानिन्छ । यस संस्थाले समेट्नु पर्ने धेरै तह र तप्काका नेपालीहरु यहाँ पनि नसमेटिएका छन नै । प्रथमतः यो संस्थामा किन लाग्ने ? के यो संस्था केही पर्दा मेरो पछाडि उभिन्छ ? यसले के तमाम नेपालीको प्रतिनिधित्व गर्दै राज्य समक्ष साझा मुद्दाहरु उठाउन सक्छ ? जस्ता प्रश्नहरुको जवाफ हामी आफै नेतृत्वमा जान तम्सिएका तथा गएर काम गरिसकेकाहरुबाट अपेक्षाकृत हुँदोरहेछ । यी कुराहरुमा आश्वस्त पार्न सक्यौ भने निसन्देह नेपाली पहिचान होस् वा सामाजिकीकरण जस्ता सवालमा यसको भूमिका केन्द्रबिन्दुमा हुनेछ । गत २ महिनाअघिको उदाहरण दिऔः निवर्तमान अध्यक्ष पुनम गुरुङज्यूको पहलमा करिब १० दिनमा २ करोड ६० लाख रुपैया नेपालमा अक्सिजन पठाउन संकलन त भो त । यो एक सामान्य नजिर मात्र हो । जनजनको मन छुने सवालहरुमा नेपाली एक ठाउँमा उभिएका पनि छन् तर हाम्रो सोच र संस्कार अझै हामी बढी चुनावमुखी हुने र सो को ह्याङ्गओभर बाँकी कार्यकालभरी नै बोकी हिँड्नाले अपेक्षाकृत राम्रो नतिजा दिन नसकेको साँचो नै हो । हामीलाई अझै पनि नेपालको राजनिती, सरकार, संस्कारले तानिरहेको हुन्छ । कतिपय ठाउँमा स्थानीय मुद्दाहरुले समेत विभाजित गराउँछ । यहाँ पनि यसको असर होला नै– म सचिवमा निर्वाचित भएँ भने यी सबै समस्याहरुको निर्मूलिकरण गर्छु – यो दावी मेरो रहन्न । तर मेरो प्रयास सामाजिक सदभाव र भातृत्व कायम गर्दै संस्थालाई पारदर्शी र सबैको अपनत्व हुने गरी संचालन र सबै अट्ने र पर्दा मेरो साथ यो संस्था छ भने अनुभूत गराउन सक्दो सतप्रयास गर्नेछु ।

 

पूर्व गोर्खाहरुको समान हकको मुद्धामा समेत नेपाली समुदाय विभाजित देखिन्छ, जसका कारण पूर्व गोर्खाहरुको माग र मुद्धा ओझेलमा परेको छ । पटक पटकको संघर्षपछि पनि उनीहरुको मागको सम्बोधन कतै भएको छैन, तपाईले कसरी हेर्नु भएको छ यो समस्यालाई ?

विगत २ सय ७ बर्षदेखि त्रिपक्षिय सम्झौता अनुसार छुट्टै पहिचान र ब्यवस्थाको आधारमा गोर्खाजहरुले बेलायतमा सेवा दिँदै आउनु भएको छ । असमानता र भेदभाव छ भन्ने सवालमा सम्पूर्ण गोर्खाज र नेपाली समुदाय सचेत हुँदाहुँदै पनि यसलाई सम्बोधनको तौरतरिकामा केही सामान्य विमति देखिन्छ नै तर यो अहं बिषय हैन, कार्यगत शैलीमा फरकमात्र हो । मुलभुतरुपमा मुद्दामा समानता देखिएपछि शैलीमा आएको फरकपनलाई मिलाउन सकिन्छ । जसको लागि गोर्खाज अभियन्ता तथा गैरआवासीय अभियन्ताहरुले समेत पटक पटक प्रयास गरेका छन् । पहिलेको जस्तो तात्विक मतमतान्तर छैन । तर बृटिस सरकार बिलियन डलरको आर्थिक भार उठाउन भर्खरै तैयार नहुनु र अधिकांश सरकारहरु सोझै यस देशको समकक्षी (सरकार)सँग आँखा जुधाएर वार्ता गर्न नसक्दा समेत यो समस्याको समाधान नभएको हो । यसको सार्थक प्रयास केही बर्षदेखि शुरु भएको छ । अब अन्तिम धक्का दिन सरकार र नागरिक समाज समेत जागरुक हुनुपर्ने देखिन्छ ।

 

 

एनआरएनएको चुनावसँगै नेपाली डायस्पोरा जाति, धर्म, आस्थाका आधारमा विभाजित भैरहेका छन्, होइन एनआरएनएकै कारण डायस्पोरा विभाजित हुने हो भने त यस्तो संगठनको औचित्य के भयो र भनेर बौद्धिक वर्ग एनआरएनए अभियानबाट टाढिने क्रम जारी छ, संख्यात्मक हिसावले सदस्यको संख्या मात्र गनिन्छ तर शुद्दिकरण कहिले हुन्छ ?

 

अहं सवालको उठान गर्नु भो । सत्य यही हो, जुन दुर्भाग्यपूर्ण छ । हामी पहिलो पुस्ताका नेपाली हौ र हामीले दशकौं नेपालमै बितायौं । कयौ पटक चाहे विद्यार्थीहरुको चुनाव होस्, चाहे स्थाौनीय वा संसदीय चुनावमा होमिएका र त्यसको रंगको आधारमा लागेका साथीहरु यहाँ पनि छौं । जस अनुरुप हामी व्यवहार गर्न उध्दत हुँदारैछौं । जसले गर्दा विभिन्न वाद, दल, जात, धर्म र क्षेत्रका आधारमा एनआरएनका संजालहरु विभाजित हुन पुगेको छ । एनआरएनकै कारण सबै नेपाली डायस्पोरा विभाजित छौं भन्दा चै अतिशयोक्ति होला तर यसमा समेत बाछिटा परेको चै साँचो हो। यति भनिरहँदा यस संगठनकै औचित्यमाििथ प्रश्न उठाउनु हुँदैन । यी कमिकमजोरीलाई सुधार्दै सबै अट्ने संगठन निर्माणको लागि लाग्नु आजको आवश्यकता हो । यो विकृतिलाई चिर्न जरुरी छ । यसै छिनाझप्टीले गर्दा प्रबुद्धबर्ग टाढिदै गएको यथार्थ हो । यी चुनौतीहरु छन, अब यो संस्था यथास्थितीमा केही वर्ष मात्र टिक्छ– यसमा आमूल परिवर्नको खाँचो जरुरी नै भैसकेको छ । सुद्धिकरणको मुल उद्धेश्यको साथ हस्तक्षेपकारी भूमिका जरुरी भएर नै सो गर्न गराउनकै लागि त्यहाँ नितीनियम बनाउने निकाय र कार्यान्वयन गर्ने ठाउँमा जाउँ भन्ने हो । तपाईले थोरै मात्र अघि नियाल्नु भयो भने विधान समितिले राम्रो विधानको खाका प्रस्तुत गरेको थियो – आखिर मोलमोलाईमा सम्झौताको दस्ताबेजको रुपमा आयो र पनि आंशिक परिवर्तनको अनूभुत भै रहेको छ । अबको दिशा भनेको विधिविधानमा सुप्रष्ट र कार्यान्वयनमा निर्ममताको साथ संस्थालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नु हो । यसले मात्र शुद्धिकरणको प्रत्याभूति दिलाउन सक्छ।

 

गैरआवासीय नेपाली अभियान सुरु भएका दिनदेखि भनिदै आएको ‘एक पटकको नेपाली सधैको नेपाली’ नेपालको संविधान २०७२ ले सम्बोधन गरेन । यो विषयमा प्रचारवाजी त धेरै हुन्छ तर परिणाम नेपाली डायस्पोराले कहिले पाउछ ? तपाईको एजेन्डामा पर्छ कि पर्दैन यो मुद्दा ?

 

यो नारा एनआरएन शुरु भएदेखि नै उठान भएको विषय हो । १०-१२ बर्षअघि यो विषय राम्ररी पनि सुन्न नचाहने, साह्रै नकारात्मक समकालिन दल, नेताहरु २०७२ को संविधानमा ‘गैरआवासिय नेपाली नागरिकता’को प्रावधान राख्न त बाध्य भए नि । यो आंशिक उपलब्धी हो । हाम्रो माग भनेको पूर्ण नागरिकता यानेकी नागरिकता निरन्तरताकै हो । अन्यत्रको पनि इतिहास हेरौं– ५०औ बर्षमा बल्ल यस्ता मुद्दाहरुलाई स्थापित गराई अधिकार प्राप्त गरेको हामी पाउँछौ । हामीलाई अझै केही समय लाग्छ तर यसमा निरन्तर पैरवी र लविङ गर्दै जानु पर्छ । खासैमा भन्ने हो भने यो मुद्धा ‘एक पटकको नेपाली सधैँको नेपाली’ वा नागरिकताको निरन्तरता मूलभूतरुपमा केही अंग्रेजी बोलिने देशहरुको सवालमा आकर्षित हुन्छ त्यो भन्दा ठूला र दैनानुदिनमा ठोक्किने श्रमिकका मुद्धालगायत मेरो अजेण्डामा छन । समग्रमा यी सबैको सम्बोधन जब सम्भव हुन्छ तब संस्था दीगो, पारदर्शी र उद्धेश्यमा परिपक्व र स्पष्ट हुन्छ– जसको लागी मेरो उम्मेदवारी हो । मलाई आशा र भरोशा छ मेरो विगतको कामको इतिहास, लगाव, निरन्तरता र परिणाममुखी कार्यशैलीलाई मध्यनजर राख्दै म परिभाषित दायित्वमा पुगेँ भने मेरा हरसम्भव प्रयासहरु यिनै विषयमा केन्द्रीत हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *