जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन जस्तोसुकै त्याग गर्न पछि नपर्ने बताउनुभएको छ ।पार्टीको आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुकमा विसं २००७ र २०४६ का परिवर्तनलाई उल्टाउने कार्य भएको इतिहास रहेको हुनाले वर्तमान उपलब्धिलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी पार्टीको काँधमा रहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले जनताले पाएको अधिकारलाई जोगाउनु, संरक्षण र संस्थागत गर्नु पार्टीको पहिलो लक्ष्य भएको चर्चा गर्दै विभेद र असमानतालाई हटाउन संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष यादवले मुलुकको आर्थिक विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, जलस्रोत र पर्यटन क्षेत्रको विकास गरी नेपाललाई दातृराष्ट्र बनाउन हामीसबै लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।अध्यक्ष यादवले पूर्वअध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्नु भनेको तर उहाँ पियन बन्न खोज्नु भएकाले चोइटिएर जानुभएको उल्लेख गर्नुभयो ।
पार्टीका वरिष्ठ नेता अशोककुमार राईले पूर्वसरकारले संसद् विघटन गर्ने कार्य सङ्घीयतामाथिको खड्ग प्रहार भएकाले विरोध गरेको चर्चा गर्दै कार्यकर्ताले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारको सदैव विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।नेता राईले आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयारी थाल्न आग्रह गर्दै चारमहिने पार्टी सुदृढीकरण र जनपरिचालन (सुज) अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
पार्टीका कार्यकारिणी समिति सदस्य महेन्द्र राय यादवले मुलुकको मुख्य शत्रु भनेको गरिबी हो भन्दै तराई, पहाड र हिमालका जनतालाई एकजुट बनाई समृद्धि ल्याउने बताउनुभयो ।उहाँले सरकारले सबै जनतालाई कोरोनाको खोप, बाढीपीडितलाई राहत र चुरे संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो । अभिमुखीकरणमा प्रदेशका १४ जिल्ला कार्यकर्ताको सहभागिता रहेको छ ।
