उत्तर कोरियाका नेता किम जोङ–उनले जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य जोखिमको समाधानका लागि काम गर्न उत्तर कोरियाली अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई चर्चा गर्दा खाद्य सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभएको हो । गएको वर्ष तुफानले उत्तर कोरियाको मुख्य खाद्यान्न बालीमा गम्भीर असर गरेको थियो भने यो वर्ष पनि केही हप्तासम्मको खडेरीपछि लामो मनसुन वर्षाका कारण बालीमा असर गरेको बताइउको छ ।
खडेरी तथा बाढीसहितका असामान्य मौसमी गतिविधिसँग जुध्नका लागि अबको प्रयास केन्द्रित हुनु पर्ने धारणा नेता किमले बिहीबार भएको पार्टीको पोलिटब्यूरो बैठकमा राख्नुभएको थियो ।
पछिल्ला वर्षहरुमा उत्तर कोरियामा पनि जलवायु परिवर्तनको असर गम्भीर रुपमा देखिन थालेको भन्दै उहाँले त्यससँग जुध्नका लागि तत्काल आन्तरिक प्रयास थालिनु पर्ने बताउनुभएको छ ।
