बेत्रावती, १९ मङ्सिर । नुवाकोटको बेलकोटगढी नगरपालिका–कुुमारीमा समुदायबाट सञ्चालित जनजागरण सामुुदायिक पुस्तकालय स्रोत केन्द्र यो वर्षको ‘पहुँच युक्तता’ पुरस्कारबाट सम्मानित भएको छ ।
अपाङ्गता भएका व्यक्तिको २७औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा पुस्तलकायले सन् २०१८ को उक्त पुरस्कार प्राप्त गरेको हो । पुस्तकालयले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा गरेको कार्य, पुस्तकालय भवन अपाङ्गतामैत्री बनाएर सञ्चालन तथा पुस्तकालयको सेवा तथा सुविधामा अपाङ्गता भएका व्यक्तिलाई सहज अध्ययन एवं प्रयोगका सामग्री व्यवस्था गरेबापत सम्मानित भएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले जनाएको छ ।
हरेक वर्ष प्रदान गरिने पुरस्कार महासङ्घले नेपालभरका अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थामध्ये उत्कृष्टलाई सम्मान गर्ने क्रममा यो वर्ष आफूहरुले प्राप्त गरेको जनजागरण सामुुदायिक पुस्तकालयले आज विज्ञप्तिमाफर्त जानकारी दिएको छ ।
पुस्तकालयलाई पहुँच युक्तता पुरस्कार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पुस्तकालयका अध्यक्ष रामचन्द्र तिमल्सिनाले प्रदान गर्नुभयो । रिड नेपाल तथा एएसबीको आर्थिक तथा प्राविधिक सहयोगमा रु दुई करोड ७५ लाखमा निर्मित पुस्तकालय गत वैशाख २० गतेदेखि सञ्चालनमा छ ।
बहुप्रकोप प्रतिरोधात्मकसहित अपाङ्गगतामैत्री पुस्तकालय नेपालकै नमूना र स्रोत केन्द्रका रुपमा पुस्तकालय कक्ष, बाल कक्ष, महिलामैत्री कक्ष, युवा कक्ष, सभाहल, समाबेंसी विपद् जोखिम न्यूनीकरण कक्ष, आइसिटी कक्ष र श्रव्यदृष्य कक्षसहित सात कक्षबाट सेवा दिँदै आएको छ ।
पुस्तकालयमा अपाङ्गता भएका व्यक्तिका लागि साङ्केतिक भाषाका पुस्तक, ब्रेलपुस्तक र डेजीपुस्तकसहित श्रवणयन्त्रलगायतका पहुँचयोग्य प्रयोगका सामग्री समावेश गरिएको पुस्तकालयका कार्यक्रम संयोजक श्यामराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
