महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने

मुख्य समाचार राजनीति समाचार

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो । यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिनुभयो ।

प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् । यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ ः ११ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजेको साइतमा स्थिरासनमा राखिएको कार्यालय प्रमुख खनालले सुनाउनुभयो ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने तयारी भएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ ।

हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी

हनुमानढोका दरबारको दसैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ । गोरखाबाट ३ ः ३० बजे जमलस्थित फूलपाती विश्रामस्थलमा आइपुग्ने छ । फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवं स्थानीयवासीसहितको टोली जमल जाने तयारी भएको छ ।

दिउँसो साँढे चार बजेसम्म हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत उच्च पदस्थ कर्मचारीको पनि सभागिता रहने जनाइएको छ ।