सर्लाहीमा आसन्न १४ अधिवेशनका सन्दर्भमा पटकपटक भईरहेकाे विवादले निकास पाए सँगै अधिवेशन हुने भएको हो। जिल्ला अधिवेशन गर्न अनिवार्य वडा अधिवेशन गर्नुपर्ने नेपाली कांग्रेसकाे विधानले गरेकाे व्यवस्था अनुसार वडा अधिवेशन गर्न विवादका बुदाहरूमा शुक्रवार (हिजो) वार्ताबाट निकास निकालिएको हो । अधिवेशन गराउन केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच लालबन्दीस्थित होटल यूनाईटेड ईन डुमडुमेमा राति ९: ३० सम्म वार्ता भएको हो ।
वार्तामा पूर्व जिल्ला सभापति लक्ष्मण राय समुहले अघि सारेको क्रियाशील विवादका विषयमा छलफल भएको र छलफलमा यश अघि पार्टी केन्द्रीय कार्यालयमा सहमति हुनुपूर्व प्राप्त क्रियाशील सदस्य काे सूचिलाई मान्यता दिने र थप भएका क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा सहभागी गराउने सहमति भए सँगै अब निर्वाचनको प्रक्रिया अघि वड्ने भएको हाे । जसअनुसार मंसिर १२ गते (आाईतवार ) वडा अधिवेशन गर्ने,प्रदेश अधिवेशन सरेमा १४ गते पालिका अधिवेशन गर्ने र नसरेमा प्रदेश क्षेत्रकाे अधिवेशन गर्ने ,१५ गते क्षेत्रीय अधिवेशन र १७ गते जिल्ला अधिवेशन गर्ने सर्वसम्मति भएको निर्वाचन अधिकृत राउतले बताए।
वार्तामा जिल्ला सभापति नागेन्द्र कुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, अर्का आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह,३ नं क्षेत्रका क्षेत्रीय सभापति पुन्यहरी घिमिरे , लालबन्दी ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने सहभागी भएका थिए । त्यसैगरी, पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवली राय,सचिव नवीन अधिकारी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशलकिशोर राय र नेता बलीराम झा ,रविन्नदन चाैधरी वर्तामा बसेका थिए ।
निर्वाचन अधिकृत राउतले आज (शनिवार ) वडा अधिवशेन गराउने प्रयास गरेपनि क्रियाशील सदस्यताको विवादले वडा अधिवेशन हुन सकेन् । हिजो (शुकवार) भएको वार्ता पछि आज (शनिवार ) प्रक्रिया अघि बढ्ने र आईतवार निर्वाचन हुने निर्वाचन अधिकृत राउतले बताए । सर्लाही कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूह अर्थात संस्थापन पक्ष र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह अर्थात संस्थापन ईतर पक्षका हुन् । दुई समूहबीच केन्द्र र जिल्लामा समेत गरी अधिवेशन गराउने पटक–पटक सहमती भएपनि अन्तिममा आएर सहमती भाँडिने गरेको थियो ।
