मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाइने बताउनुभएको छ ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले आज जनकपुरधाममा आयोजना गरेको पत्रकारको स्वास्थ्य बीमासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री साहले सङ्घीयताको मर्म भावनाअनुसार अझै पनि पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापन व्यवस्थित हुन नसकेकाले आवश्यक नीति बनाएर व्यवस्था गरिने बताउनुभयो । “मुलुकमा सङ्घीय व्यवस्था आए पनि मधेश प्रदेशका पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन पाउन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “अहिले पनि सङ्घबाट पत्रपत्रिकाको वर्गीकरण भइरहेको छ, यसबाट मधेशका पत्रपत्रिकाको जुन ढङ्गबाट मूल्याङ्कल हुनुपर्ने हो त्यो हुन नसकेकाले प्रदेश सरकार यसप्रति गम्भीर छ ।”
पत्रकारको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नुहुँदै मन्त्री साहले पत्रकारको पेसागत सुरक्षालाई प्राथमिकतामा राखेर योजना बनाएर अघि बढ्ने बताउनुभयो । प्रदेश सरकारले ल्याएको पत्रकारको स्वास्थ्य बीमा कार्यक्रम पत्रकारको हितमा रहेकाले यसलाई व्यवस्थित बनाउन पत्रकार महासङ्घलगायतका सरोकारवाला सङ्घ सङ्गठनले सहयोग गर्नुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले प्रदेशभित्रका पत्रपत्रिकालाई सबल बनाउन प्रदेश सरकारले आगामी बजेटमा ठोस नीति तथा बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकार मधेश प्रदेशलाई पत्रकार मैत्री प्रदेश बनाउन चाहेको उल्लेख गर्नुहुँदै राज्यमन्त्री कर्णले सञ्चारमाध्यम सबल भएमात्र सञ्चारकर्मीको पेसागत सुरक्षा हुने भएकाले यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, बिएम खनाल, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायतले पत्रकारको स्वास्थ्य बीमासम्बन्धी ल्याएको कार्यक्रम सकारात्मक रहेकाले यसलाई व्यवस्थित बनाउनुपर्ने बताए ।
