काठमाडौं, ३ पुस । प्राकृतिक सम्पदाहरुको दिगो संरक्षणका लागि सामूहिक सहकार्य हुनुपर्नेमा वातावरणविद्को साझा दृष्टिकोण व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को नेपाल राष्ट्रिय समितिले संरक्षणको क्षेत्रमा गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल गर्न आज यहाँ आयोजित कार्यशालाका सहभागीहरुले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि सझौताहरुमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको र देशभित्रै पनि विभिन्न नीति, ऐन नियमहरु तर्जुमा गरेको सन्दर्भमा त्यसको कार्यान्वयनका लागि सबैको प्रतिवद्धता हुनुपर्ने धारणा राख्नुभएको थियो ।
आइयूसिएन–नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा ऋषि शाहले सदस्य संस्थाहरुले आ–आफ्नो तवरमा संरक्षणका विभिन्न कार्यहरु गरिरहेको भएतापनि सबैको सहकार्य र सामूहिक प्रयासबाट संरक्षणको क्षेत्रमा ठोस नतिजा हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
आइयुसिएन नेपालका राष्ट्रिय प्रतिनिधि डा प्रल्हाद थापाले कार्यशालाले तयार गरेको योजनाहरुले आइयुसिएनलाई नेपालमा आगामी दिनमा कार्य गर्न रणनीतिक मार्गदर्शन प्रदान गर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाल, आइयुसिएनको पारिस्थितिकीय प्रणाली व्यवस्थापन आयोगका अध्यक्ष डा माधव कार्की, आइयुसिएनका एसिया क्षेत्रीय काउन्सिलर मङ्गलमान शाक्यलगायत विभिन्न विज्ञहरुले संरक्षणको क्षेत्रमा गर्नुपर्ने भावी कार्ययोजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा आइयुसिएनमा आबद्ध नेपालका २४ संस्थागत र करीब ४० व्यक्तिगत सदस्यको उपस्थिति रहेको थियो ।
हाल नेपालमा करीब १३० जना विज्ञ विभिन्न छ आयोगअन्तर्गत व्यक्तिगत सदस्यको रूपमा रहेका छन् । आइयुसिएनले विश्वका १६० राष्ट्रका २५० भन्दा बढी सरकारी निकाय र ११ सयभन्दा बढी गैरसरकारी संस्थाहरू क्रियाशील छन् ।
