सर्लाही कांग्रेस सभापतिमा संस्थापन पक्षका सुरेन्द्र प्रसाद सिंह निर्वाचित

मुख्य समाचार राजनीति

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा संस्थापन पक्षका सुरेन्द्र प्रसाद सिंह निर्वाचित भएका छन्।

आइतबार अबेर राति सम्पन्न मतगणनाअनुसार संस्थापन पक्षका सभापति उम्मेद्वार सुरेन्द्र प्रसाद सिंहसहित एक जनाबाहेक उक्त प्यानलका सम्पूर्ण उम्मेद्वार नै निर्वाचित भएका हुन्।

संस्थापनइतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार निर्वाचित भएका छन्। सभापतिमा विजयी सिंहले संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याए। ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकामा बदरबाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र पाए।

त्यस्तै उपसभापतिमा संस्थापनकै डा। सरोज कुमार (राजु) १ हजार ७६४ र संस्थापनइतरका अधिकारी १ हजार ४९३ मतका साथ विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र इतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरे।

उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी लोकप्रिय मत ल्याउने डा सरोज निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायका छोरा हुन्।

त्यस्तै सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए। इतरबाट सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाए ।

त्यसैगरी सहसचिवमा संस्थापनकै इन्द्र बहादुर योञ्जन १ हजार ७११ र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मतसहित विजयी भएका छन्। इतरका सूर्य बहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्र १ हजार २३७ मत मात्र पाएर पराजित भए।

आइतबार राति नै जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विजयी सभापति सिंह सहित पदाधिकारीलाई बधाई दिए। नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्धता जनाए।

कामदार दैनिक डट कम बधाई तथा पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछ ।