राष्ट्रिय लोकदोहोरी दिवसको अवसरमा प्रतिष्ठान नेपाल कोरिया शाखा द्वारा कार्यक्रम सम्पन्न

कोरियाअपडेट मनोरन्जन

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

राष्ट्रिय लोकदोहोरी दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, द-कोरिया शाखाले कार्यक्रम गरेको छ। कार्यक्रम यही फाल्गुन 29 गते “राष्ट्रिय लोकदोहोरी दिवस”को अवसरमा प्रतिस्ठान कोरिया शाखाले प्रत्यक्ष भेटघाट गर्ने सहज परिस्थिती नभएकोले भर्चुअल रुपमा जुम मार्फत रमाइलो सांगितिक कार्यक्रम गरिएको हो।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान, नेपाल स्थापना भएको करिब दुई दशक भएपनी स्थापना मितिलाई आधार मानेर विगत ३ वर्षदेखि फाल्गुन २९ लाई राष्ट्रिय लोकदोहोरी दिवसका रुपमा मनाउँदै आएको छ ।

 

 

प्रतिस्ठानका देशभित्र र बाहिर विभिन्न शाखाहरु रहेका छन्, वैदेशिक शाखाहरुले पनि बेलाबेला लोकगीत संगीत संरक्षण संवर्धनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेका हुन्छन् । त्यस्तै गतवर्ष केन्द्रको साधारण सभामा उत्कृष्ट शाखा पुरस्कार पाउन सफल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाले लोकदोहोरी दिवसको अवसरमा भर्चुअल माध्यम जुम मार्फत “विशेष सांगितिक कार्यक्रम” सम्पन्न गरेको हो।

कोरियन समय दिउँसो १ बजेबाट शुरु गरिएको कार्यक्रम दुई भागमा विभाजन गरिएको थियो औपचारिक र अनौपचारिक । औपचारिक कार्यक्रम संस्थाका कृयाशिल व्यक्तित्त्व, गायक राज खाम्चा मगरले सन्चालन गरेका थिए । प्रतिस्ठान कोरियाका अध्यक्ष सुरज केसीको सभापतित्वमा सन्चालित कार्यक्रममा निवर्तमान संरक्षक सिपि मगरप्रमुख अतिथीको रुपमा र हालका संरक्षक जितन भाइ श्रीषलेविशिष्ट अतिथीको आसनग्रहण गरेका थिए ।

 

 

कार्यक्रमको सुरुवातमा संस्थाका सल्लाहकारज्युहरु साथै ब. उपाध्यक्ष रमिला गौतमज्युले छोटोमिठो स्वागत तथा शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए भने सभापती सुरज केसीपी शुभकामना मन्तव्यसहित औपचारिक कार्यक्रम समापन गरेका थिए।

 

औपचारिक कार्यक्रमको समापनसंगै अनौपचारिक कार्यक्रमका लागि संस्थाकी सकृय सदस्य, मीठो आवाजकी धनी पारु आले मगरले सन्चालिकाको भुमिका निभाएकी थिइन्।

 

कार्यक्रममा अतिथी कलाकारको रुपमा “कहाँ गयौ भँगेरी चरी”, “पानपाते ठुली”, “रुखै चिर्ने आरो” जस्ता चर्चित गीतकी गायिका रिना केसीको उपस्थित रहेको थियो।  गायिका रिना केसीसंग निकै मौलिक भाकामा प्रतिस्ठानका कलाकारहरु द्वारा रिले दोहोरी पनि प्रस्तुत गरिएको थियो ।

परदेशमा रहेर पनि अनेक परिस्थितिका बाबजुद समय व्यवस्थापन गरेर समग्रमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान कोरिया शाखाले यो वर्षको लोकदोहोरी दिवस निकै रमाइलो गरि मनाएको साथै आगामी दिनमा पनि नेपाली लोक संगीतको क्षेत्रमा प्रतिस्ठानको तर्फबाट विभिन्न योगदान दिने प्रतिस्ठान कोरियाका अध्यक्ष सुरज केसीले बताए।