नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित हुनुभएको छ । खेल पत्रकारितको विकाससँगै खेल र खेलाडीको विकासमा क्रियाशील मञ्चको आज पोखरामा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको मतदानमा बरालले प्रतिस्पर्धी रञ्जन अधिकारीलाई नौ मतले पराजित गर्दै अध्यक्षमा विजयी हुुनुभएको हो ।
आगामी दुई वर्षे कार्यकालका लागि भएको मतदानमा ४९ मत खसेकामा बरालले २९ र अधिकारीले २० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक सरिता तिमिल्सिनाले जानकारी दिनुभयो । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशिकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्तीमगर निर्वाचित हनुुभयो । अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको थियो । मञ्चको सदस्यमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
