उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री बडूले कोभिड–१९ महामारीमा बङ्गलादेशले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको बताउदै उहाँले द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरी दुबै देशले अधिकतम् पारस्परिक लाभ उठाउनसक्ने विचार व्यक्त गर्नुभएको थियो ।
नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष प्रवेशको अवसरमा राजदूत चौधरीमार्फत बङ्गलादेश सरकार र त्यहाँका जनतालाई शुभकामना व्यक्त गर्दै मन्त्री बडूले आगामी दिनमा दुई देशबीच वाणिज्य, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
यसैगरी राजदूत चौधरीले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्यमार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो । उहाँले नेपाल–बङ्गलादेश बीचको व्यापार सम्झौताको छलफललाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली वस्तुहरुको बङ्गलादेश निर्यातमा सहजीकरण गर्न बङ्गलादेश सरकार तत्पर रहेको उल्लेख गर्नुभयो ।
राजदूत चौधरीले गत वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका पक्षबारे चासो राख्दै ऊर्जा विकास, व्यापार, पर्यटनलगायत क्षेत्रमा बङ्गलादेशले नेपालमा लगानी गर्न चाहेकाले त्यसका लागि लगानीमैत्री वातावरण र लगानी सुरक्षाको विषयमा मन्त्री बडूबाट नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।
