कालिकामाई गाउँपालिका अध्यक्षमा २१ वर्षीय वशिष्टकुमार गुप्ता निर्वाचित

राजनीति समाचार

पर्साको कालिकामाई गाउँपालिकामा पर्सा जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छो उम्मेदवार २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जनता समाजवादी पार्टीबाट कालिकामाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहनुभएका गुप्ता आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मत अन्तरले पराजित गरी निर्वाचित हुनुभएको हो ।

यसैगरी कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षकी उम्मेदवार सहानी खातुनलाई १११ मत अन्तरले पराजित गरी नेपाली कांग्रेसकी राजमतीदेवी बरैनी निर्वाचित हुनुभएको छ । पाँचवटा वडा रहेको उक्त गाउँपालिका तीन वटा वडाध्यक्ष जनता समाजवादी पार्टी (जसपा), एउटामा नेकपा एमाले र एउटामा कांग्रेसले जितेको छ ।

ठोरीको अध्यक्ष र उपाध्यक्षमा एमालेका श्रेष्ठ र रेग्मी निर्वाचित

पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा एमालेकै गोकुलीकुमारी रेग्मी निर्वाचित हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार पदमलाल (पिएल) श्रेष्ठलाई ७२० मतान्तरले पराजित गर्दै लालबहादुर विजयी बन्नुभयो । लालबहादुरले चार हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले तीन हजार ३२९ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामाङलाई एक हजार २१६ मतले पराजित गर्दै एमालेकी रेग्मी निर्वाचित बन्नुभयो । रेग्मीले चार हजार २५९ मत पाउँदा तामाङले तीन हजार ४३ मत प्राप्त गर्नुभयो ।

पटेर्वासुगौली गाउँपालिकामा कांग्रेसका चौधरी विजयी

पर्साको पटेर्वासुगौली गाउँपालिकामा नेपाली कांग्रेसका दिनेशकुमार चौधरी थारू निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार हरिनारायण चौधरीलाई एक हजार २०० मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।

दिनेशले पाँच हजार १४४ मत प्राप्त गर्नुभयो भने हरिनारायणले तीन हजार ९४४ मत गर्नुभयो । दिनेश गत स्थानीय तहको निर्वाचनमा ८२ मतले हरिनारायणसँग पराजित हुनुभएको थियो ।

यसैबीच उपाध्यक्षमा भने नेपाली कांग्रेसकी ममता महतो दोहोरिनुभएको छ । महतोले चार हजार ४४४ मत पाउनुभयो भने नेकपा एमालेकी मन्तुरा देवीलाई ४३१ मत मात्र प्राप्त भयो ।

पर्सागढी नगरपालिकाको नगरप्रमुखमा र उपप्रमुखमा एमाले उम्मेदवार विजयी

पर्साको पर्सागढी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार गोकर्ण पाठक निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार लोकनारायण यादवलाई दुई हजार ८९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै पाठक निर्वाचित हुनुभएको हो । पाठकले छ हजार ६२४ मत गर्नुभयो भने यादवलाई तीन हजार ७३३ मत प्राप्त भयो ।

यसैगरी नगर उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार पूजा चौधरी निर्वाचित हुनुभयो । पूजाले सात हजार ६१६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले तीन हजार ४३० मत प्राप्त गर्नुभयो ।

धोवनी गापाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेका विजयी

जिल्लाको धोवनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार महन चौहान र उपाध्यक्ष पदमामा नेपाली कांग्रेसकी उम्मेदवार मन्दुदेवी विजयी बन्नुभयो । सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार चौहानले नेपाली कांग्रेसका उम्मेदवार वशिष्टनारायणलाई २० मतको अन्तरले र कांग्रेसकी मन्जुले जसपाकी प्रियङ्कादेवी यादवलाई ५६६ मत अन्तरको फराकिलो अन्तरले विजयी बन्नुभयो ।

चौहानले तीन हजार ९१ मत र वशिष्टनारायणले तीन हजार ७१ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा मञ्जु देवीले तीन हजार १४३ मत र प्रियङ्का देवीले दुई हजार ५७७ मत मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिनुभयो ।

जिराभवानी गापामा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी

पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजय बन्नुभएको छ । मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेसका अनोज चौधरी अध्यक्षमा र उपाध्यक्षमा रेखा चौधरी विजयी बन्नुभयो ।

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार रामप्रीत महतोलाई एक हजार २६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी अध्यक्ष पदमा निर्वाचित हुनुभयो । चौधरीले चार हजार ५६० मत पाउनुभयो भने महतोले तीन हजार २९९ मत पाउनुभयो ।

यसैगरी उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसकी चौधरीले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषादेवी थरूनीलाई एक हजार ७४५ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।