खोटाङमा ३३ वटा वडामा नेपाली कांग्रेस विजयी, अन्य दलले कति जिते ?

मुख्य समाचार राजनीति

खोटाङमा ३३ वटा वडामा नेपाली कांग्रेस विजयी, अन्य दलले कति जिते ?
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आइसकेको छ।

१० स्थानीय तह रहेको खोटाङमा ६ गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस, २ गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र र २ गाउँपालिका प्रमुखमा नेकपा एमाले विजयी भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कांग्रेसबाट तीर्थराज भट्टराई मेयर र माओवादीबाट विसन राई उपमेयर बनेका छन्।
हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसकी विमला राई मेयर र कांग्रेसकै रमेश कुमार राउन उपमेयर बनेका छन्।

खोटेहाङ गाउँपालिकामा माओवादीका उदिम राई अध्यक्ष, कांग्रेसका रुपेश राई उपाध्यक्ष, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र राई अध्यक्ष, एमालेकै अरुणा थापा मगर उपाध्यक्ष बनेकी छिन्।

रावावेंसी गाउँपालिकामा कांग्रेसका फटिककुमार श्रेष्ठ अध्यक्ष, एमालेकी कौशिला गुरुङ उपाध्यक्ष, जन्तेढुंगा गाउँपालिकामा माओवादीकी अरुणदेवी राई अध्यक्ष, कांग्रेसका खेम बहादुर खड्का उपाध्यक्ष बनेका छन्।

यस्तै, वराहपोखरी गाउँपालिकामा कांग्रेसका शालिकराम वञ्जारा अध्यक्ष, एकीकृत समाजवादीका भुवल राई उपाध्यक्ष बनेका छन्।
ऐंसेलुखर्क गाउँपालिकामा एमालेका गिरने राई अध्यक्ष, कांग्रेसका राजेश राजभण्डारी उपाध्यक्ष बनेका छन्।

केपिलासगढी गाउँपालिकामा कांग्रेसका समीर राई अध्यक्ष, जनता समाजवादी पार्टीका गुरुराज राई उपाध्यक्ष बनेका छन्।

साकेला गाउँपालिकामा कांग्रेसका रपिप्रकाश राई अध्यक्ष र माओवादीकी विर्सिका राई उपाध्यक्ष बनेकी छिन्।

यस्तै, वडातर्फको पनि विवरण आइसकेको छ। ७९ वटा वडामध्ये कांग्रेसले ३२ वडामा जित निकालेको छ। माओवादीले २३ वटा वडामा जित निकाल्दा एमालेले १९ वडामा जित हात पारेको छ। एकीकृत समाजवादीले २ जनता समाजवादीले २ र एउटा वडा स्वतन्त्र उम्मेद्वारले जितेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडामध्ये सबैभन्दा बढी वडा माओवादीले जितेको छ। उसले ६ वटा वडामा जित निकाल्दा कांग्रेले ४ वटा वडामा जितेको छ। एमालेले ३ वटा वडामा जित्दा जसपाले २ वडामा जित निकालेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका वडामा कांग्रेसले ८० प्रतिशत जित निकालेको छ। ११ वटा वडा रहेको हलेसीमा कांग्रेसले ८ वटा वडामा जितेको हो। एमालेले २ र माओवादीले एउटा वडा जितेको छ।

खोटेहाङ गाउँपालिकामा ९ वटा वडा छन्। त्यहाँ माओवादीले ५ वटा वडामा जित निकालेको छ। एमालले २ वटा वडा जित्दा कांग्रेसले एउटा र स्वतन्त्र उम्मेद्वारले एउटा वडा जितेको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७ वटा वडा छन्। त्यहाँ एमालेले ४ र कांग्रेसले ३ वटा वडा जितेको छ। अन्य दलले वडा जितेनन्।

रावावेंसी गाउँपालिकामा ६ वटा वडा छन्। त्यहाँ कांग्रेसले ५ वटा वडा जितेको छ। एमालेले एउटा वडा जितेको छ।

केपिलासगढी गाउँपालिकामा ७ वटा वडा छन्। त्यहाँ माओवादीले ३ वटा, कांग्रेसले २ वटा र एकीकृत समाजवादीले २ वटा वडा जितेको छ।

ऐंसेलुखर्क गाउँपालिकामा ७ वटा वडा छन्। त्यहाँ एमालेले ३, कांग्रेसले २ र माओवादीले २ वटा वडा जितेका छन्।

वराहपोखरी गाउँपालिकामा ६ वटा वडा छन्। त्यहाँ कांग्रेसले ३, एमालेले २ र माओवादीले एउटा वडा जितेको छ।

जन्तेढुंगा गाउँपालिकामा ६ वटा वडा छन्। त्यहाँ कांग्रेसले ३, माओवादीले २ र एमालेले एउटा वडा जितेको छ।

साकेला गाउँपालिकामा ५ वटा वडा छन्। त्यहाँ कांग्रेसले २ माओवादीले २ र एमालेले एउटा वडा जितेको छ।

जिल्लामा यस पटकको चुनावमा १९ दलले भाग लिएका थिए। २०७४ को चुनावमा एमालेले ५ पालिका जितेको थियो। कांग्रेसले ४ र माओवादी केन्द्रले एउटा पालिका जितेको थियो।