नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित पदाधकारीको सपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै पूर्वउपसभापति निधीले नगरको विकासमा सबैले आफ्नो दलीय आस्थाभन्दा माथि उठेर सहमति, सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
दलीय पूर्वाग्रह नराखी सबैलाई समेटेर नगरको समग्र विकास गर्ने ठोस योजनाका साथ अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुहुँदै उहाँले त्यसमा आफ्नो तर्फबाट हुनसक्ने पहल र प्रयत्न गरिरहने प्रतिबद्धता व्यक्तसमेत गर्नुभयो । जनकपुरधाममा सडक, रेल र विमान सेवाको पूर्वाधार तयार भइसकेकाले यसको विकास र विस्तारमा ध्यान दिन नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुहुँदै उहाँले यसका लागि दीर्घकालीन, अल्पकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
जनकपुरधामलाई भारतको कोलकातासँग जोड्न सकिए जनकपुरधामको धार्मिक, सांस्कृतिक, व्यावसायिक र पर्यटनलगायतका क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका निधीले अयोध्याबाट जनकपुरधामसम्म निजी कम्पनीले सिधै विमान उडान गर्ने तयारी गरिरहेको जानकारीसमेत दिनुभयो ।
उहाँले जनकपुरबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन भइसकेको र जनकपुरधामदेखि अयोध्यासम्मको सडकलाई चार लेनमा स्तरोन्नतिको कामसमेत अघि बढीसकेकाले जनकपुरधामको धार्मिक, सांस्कृतिक विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकको धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटन विकासका लागि हिमाल, पहाड र तराई–मधेसलाई सडक सञ्जालमा जोड्नुपर्नेमा जोड दिनुहुँदै उहाँले जनकपुरधामभित्र रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका योजना बनाउन सुझावसमेत दिनुभयो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले नगरक्षेत्रका विकासलाई प्राथमिकता निर्धारण गरी जनअपेक्षाअनुसारको काम गर्न नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुभयो ।
दलित बस्ती र पछाडि परेको वडालाई प्राथमिकतामा राखेर त्यहाँको जनताको चाहनाअनुरुपको योजना बनाएर अघि बढ्न सुझाव दिनुहुँदै उहाँले त्यसमा सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले जनताको इच्छा आकाङ्क्षा पूरा गर्दै सुन्दर, समृद्ध नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अल्पकालीन, दीर्घकालीन र वार्षिक योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै आगामी पाँच वर्षभित्र जनकपुरधाममा ३० किलोमिटर बाइपास रिङरोड सडक बनाउने योजना रहेको सुनाउनुभयो ।
पदभार ग्रहण गरेकै दिन आफूले नगरक्षेत्रको सरसफाइलाई वडास्तरमा विकेन्द्रीकृत गरेको जानकारी दिनुहुँदै नगरप्रमुख साहले नगरका २५ वटै वडालाई ट्र्याक्टरसहित सरसफाइका आवश्यक जनशक्ति र बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नगरप्रमुख साहले उपप्रमुख, २५ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यलाई शपथग्रहण गराउनुभयो ।
