वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वातावरण व्यवस्थापनका लागि रैथाने ज्ञान उपयोगी रहेको बताउनुभएको छ । सिथी नखः पर्वका अवसरमा आयोजना भएको कार्यक्रममा प्रमुख साहले खुल्ला जमिन सकिएर पुनभरणको अवसर कम हुँदै जाँदा सहरले क्रमशः ट््याङ्कर र जारको भर पर्नुपरेको जनाउँदै यस प्रकारका समस्याको समाधानका लागि पानीसँग सम्बन्धित रैथाने ज्ञानको उपयोग रहेकामा जोड दिनुभएको हो ।

आगाामी वर्षका लागि पानीको स्रोत संरक्षण र ढुङ्गेधारा, कुवा तथा इनारलाई पुनर्जीवन दिन महानगरले पर्याप्त बजेटको व्यवस्था गर्ने पनि प्रमुख साहले बताउनुभयो ।

सिथी नखः पर्वका अवसरमा पानीको मुहान र स्रोत, इनार, कुवा, धारा तथा पँधेराको सरसफाइ गरिन्छ । सफाइपछि ती ठाउँमा दूध, मह, घ्यू, दहीलगायत शुद्ध खाद्य पदार्थ हाल्ने गरिन्छ । यो पर्वलाई पानीको मुहान तथा स्रोतको पूजा गर्ने र वर्षभरि ती ठाउँमा फोहर नगर्ने प्रतिबद्धता प्रकट गर्ने दिनका रूपमा मनाइन्छ ।

आज विश्व वातावरण दिवस पनि भएकाले यस अवसरमा महानगर प्रहरीले माइतीघर मण्डलादेखि बानेश्वरतर्फको सडकखण्ड सरसफाइ गरेको छ । यसरी वातावरण दिवस मनाइरहँदा काठमाडौँ उपत्यकाको मुख्य चोकचोकमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन भने हुन सकेको छैन ।

उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलका स्थानीयवासीले विभिन्न माग राखेर फोहर ढुवानी रोकेपछि विगत नौ दिनदेखि काठमाडौँ उपत्यकाको फोहरको विसर्जन हुन नसकेको हो ।

सन् १९७३ जुन ५ गतेदेखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । वातावरण संरक्षणका लागि राजनीतिक र सामाजिक सचेतना बढाउन यो दिवस मनाउने गरिन्छ ।