काभ्रेका स्थानीय तहका प्रशासकीय अधिकृत आफू निकट एजेन्सीबाट सूचना छाप्दै कमिशन लिंदै

मुख्य समाचार समाचार

धुलिखेल । काभ्रेका स्थानीय तहका प्रशासकीय अधिकृत आफू निकट विज्ञापन एजेन्सीबाट सूचना छाप्दै कमिशन लिने गरेको तथ्य फेला परेको छ । चौरी देउराली गाउँपालिकाबाट लगातार एक राष्ट्रिय दैनिक पत्रिकामा त्यस्ता सूचनाहरु तीन पटकसम्म प्रकाशित भए । गाउँपालिका अध्यक्ष एवं उपाध्यक्षबाट सबै राष्ट्रिय दैनिक एवं जिल्लाका साप्ताहिक पत्रिकाहरुलाई दामासायीमा त्यस्ता सूचना÷विज्ञापन दिने भनिएको रहेछ । तर त्यहाँ त्यसो गरिएन । प्रमुख प्रशासकीय अधिकृतले आफू निकट विज्ञापन एजेन्सीबाट विज्ञापन छापेको रहस्य खुल्यो ।

चौरी देउराली गाउँपालिका मात्र होइन तेमाल गाउँपालिका, रोशी गाउँपालिकालगायतका काभ्रे जिल्लाका अन्य स्थानीय निकायहरुमा समेत यही प्रक्रिया यथावत छ । अझ तेमाल गाउँपालिकाबाट त यस काभ्रेपोष्ट साप्ताहिकमा फोन गरेर ठाउँ खाली राखिदिनु होला, सूचना आउँदै छ भनेर भनियो । तर अन्तिम समय, पत्रिका प्रेस जाने बेलासम्म पर्खिँदा समेत सूचना नआएपछि काभ्रेपोष्ट साप्ताहिकले सो विज्ञापनलाई छुट्ट्याएको ठाउँमा अन्य समाचार राखी पत्रिका प्रेस पठाइयो । त्यही सूचना भोलिपल्ट कमिशनको चक्करमा परी अर्को पत्रिकामा छापेको पनि प्रमाण काभ्रेपोष्ट साप्ताहिकसँग सुरक्षित छ ।

जिल्लामा स्थानीया पत्रकारहरुले दुःख गरेर गाउँ गाउँका समाचार छापिरहेका हुन्छन् । जिल्लाको स्थानीय निकायका सूचना÷विज्ञापन पाउने पहिलो अधिकार दुःख गरेर गाउँगाउँका समाचार छाप्ने सञ्चारकर्मी एवं राष्ट्रिय दैनिकमा काभ्रे जिल्लाबाट काम गर्ने स्थानीय सम्वाददाताहरुको हुने गर्दछ । अन्य जिल्लाका स्थानीय निकायहरुमा पनि यही अभ्यास छ । तर राजधानीको नजिक भएको कारण काभ्रे जिल्लामा स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु प्रायः काठमाडौं बस्ने भएका कारण पनि आ–आफ्नो नगरपालिका÷गाउँपालिकाको विज्ञापन आफू निकट विज्ञापन एजेन्सीबाट छपाउने र कमिशन लिने गरेको पाइन्छ ।

काभ्रेका कतिपय स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृतहरु आफ्नो नगरपालिका÷गाउँपालिकाको सूचना झोलामा बोकेर काठमाडौं जाने र आफू निकट विज्ञापन एजेन्सीबाट सूचना छाप्दै आफैं विज्ञापन छापिएको पत्रिकाको कटिङ्ग र विज्ञापनको बिल बोकेर कार्यालय आई लेखाअधिकृत÷लेखापाललाई बिल भुक्तानी गर्न दबाब दिएको तथ्य समेत काभ्रेपोष्ट साप्ताहिकले फेला पारेको छ । काभ्रेको स्थानीय निकायहरु कतिपय गाँउपालिका÷नगरपालिकामा जिल्लाका साप्ताहिक÷राष्ट्रिय दैनिक पत्रिकाहरु सँग आवद्धै नभएका विचौलियाहरुले प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, लेखापाललाई प्रभावमा पारी त्यस्ता सुचना÷विज्ञापन लगि छाप्ने गरेको प्रमाण पनि काभ्रेपोष्ट साप्ताहिकले फेला पारेको छ । विकास निर्माणको सूचना, प्राकृतिक, खानीजन्य उत्खनन्को सूचना, कर्मचारी आवश्यकताको सूचना, गाडी खरिद, सूचीदर्तालगायत विगतमा जिल्ला सदरमुकाम धुलिखेलबाट गरिने सबै कामहरु ती गाउँपालिका एवं नगरपालिकाबाट विभिन्न पत्रपत्रिकामार्फत प्रकाशित गर्नुपर्दछ ।

काभ्रे जिल्लाका ती स्थानीय निकायहरु नगरपालिका÷ गाउँपालिकाका समाचार एवं सूचना छाप्ने स्थानीय साप्ताहिकका सम्वाददाता, राष्ट्रिय दैनिकका स्थानीय सम्वाददाताहरुलाई चिप्ला र मिठो कुरा गरेर त्यसै फर्काइ कमिशन खाई आफू निकट विज्ञापन एजेन्सीबाट सूचना÷विज्ञापन छपाउने काभ्रे जिल्लाका स्थानीय निकायका ती प्रमुख प्रशासकीय अधिकृत र एजेन्सीको नाम काभ्रे पोष्ट साप्ताहिकले निरन्तर प्रकाशित गर्दै जानेछ ।