सुदूरपश्चिम समाज कोरियाको १६ औँ वार्षिक साधारणसभा तथा अधिवेशन सेप्टेम्बर १० तारिखमा हुने

कोरियाअपडेट समाचार

लोकराज पाण्डे

सौल/ दक्षिण कोरिया 

कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरूको एक मात्र साझा सामाजिक संस्था सुदूरपश्चिम समाज, कोरियाको १६ औँ वार्षिक साधारणसभा तथा अधिवेशन यही सेप्टेम्बर १० तारिख शनिबार का दिन सिओलमा” एकता, सहयोग, सद् भाव र भाइचाराको आवाज! सेवा र सहयोगका लागि सुदूरपश्चिम समाज!” भन्ने मूल नाराका साथ सम्पन्न हुने कार्यक्रम रहेको सो समाजले जनाएको छ। गत अगस्त २८ तारिखका दिन अध्यक्ष यज्ञमान नायकको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले संस्थाको नियमित सोह्रौँ अधिवेशन तथा वार्षिक साधारण सभा कोरियाली सांस्कृतिक पर्व छुसक विदाको दोस्रो दिनमा सम्पन्न गर्ने गरी उक्त मिति तोकेको हो। उक्त कार्यक्रममा समाजका पुर्ब अध्यक्ष कमल बहादुर शाही ज्युको संयोजकत्व गठित निर्वाचन समितीले विधान अनुसार नयाँ कार्य समिति चयन गर्नेछ।

सल्लाहकार एवं पूर्व अध्यक्ष लाल साउदका अनुसार सन् २००५ को सेप्टेम्बर १९ तारिखमा चक्र बलायरको अध्यक्षता तदर्थ समिति गठन भइ स्थापना भएको सुदूरपश्चिम समाजले हालसम्म अविच्छिन्न रुपमा कोरियामा रहेका नेपाली समुदायको हित र भलाइको पृष्ठपोषण गर्दै सामाजिक तथा मानवीय सेवा सहयोगका कार्यहरू गर्दै आइरहेको छ।
यसको मूलभूत उद्देश्य कोरिया प्रवासमा रहेका सुदूरपश्चिमेली नेपालीहरूको बीचमा आपसी परिचय र सद् भावको अभिवृद्धि गराइ एकतावद्ध भएर कोरियामा रहेका नेपाली समुदायको हित र भलाइको पृष्ठपोषण गर्ने, समान उद्देश्य भएका सामाजिक संघ संस्थासंग मानवीय तथा सामाजिक सेवा सहयोगको कार्यमा हातेमालो गर्ने,बाढी पहिरो,आगलागी, भूकम्प, सरुवा रोग महामारी जस्ता विपत्तिमा मातृभूमिका लागि सक्दो सहयोग जुटाउने र आफ्नो मौलिक भाषा,साहित्य, कला र संस्कृतिको प्रचार प्रसार,जगेर्ना एवं प्रवर्द्धन गर्ने रहेको छ।

समाजका अध्यक्ष यज्ञमान नायक ले समाजको उक्त कार्यक्रममा सहभागी भइदिन हुन कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्नु भएको छ।