गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्बाट आउने रचनात्मक आलोचनाको सम्मान गर्ने बताउनुभएको छ ।
बिहीबार पूर्वी नवलपरासीमा नेपाल पत्रकार महासङ्घ पूर्वी नवलपरासी शाखाको भवन शिलान्यास गर्न कावासोती आउनुभएका उहाँले पत्रकारिता जगत्बाट आफूले सधैँ रचनात्मक आलोचना पाएको र यसले आफूलाई ऊर्जा दिने बताउनुभयो ।
“सरकारले गर्ने गरेका कामको रचनात्मक आलोचना गरेर सरकारका कमीकमजोरी औँल्याइदिनुस्, तपाईंहरुको संवैधानिक अधिकारको ग्यारेन्टी सरकारले गर्छ,” उहाँले भन्नुभयो, “नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारले पु¥याएको योगदान आफैँमा महत्वपूर्ण छ, स्मरणीय छ ।” संविधानले नै पूर्ण स्वतन्त्रतासहितको प्रेसको परिकल्पना गरेकाले पूर्ण प्रेस स्वतन्त्रतासहितको प्रेसले नै लोकतन्त्रको हित गर्ने मुख्यमन्त्री पोखरेलको धारणा थियो ।
गृह जिल्ला आइपुग्नु भएका मुख्यमन्त्री पोखरेलले जिल्लाको नाम नवलपुर बनाउन प्रदेशको समस्या समाधान समितिको बैठकबाट निर्णय गरेर पठाएको तर यसका लागि संविधान संशोधन नै गर्नुपर्ने भएकाले प्रदेश सरकारको एकल प्रयासले नहुने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले जिल्लामा बन्ने भनिएको नमूना सदरमुकामको काम केन्द्र सरकारले अगाडि बढाएको हुनाले आफूहरुले मात्रै बजेट छुट्याएर काम अगाडि नबढ्ने र यसका लागि केन्द्र सरकारकै ध्यानाकर्षण गर्नुपर्ने बताउनुभयो । “केही कानूनी अड्चन र प्रावधानका कारणले काम रोकिएकाले काम अगाडि बढेको छैन, अबको केही दिनमा समाधान हुने केन्द्रबाट जवाफ पाएको छु, समाधान हुनासाथ प्रदेशले समेत बजेट छुट्याउँछ” उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सफल बनाउन पत्रकारहरुको ठूलो जिम्म्ेवारी र कार्यभार भएकाले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गरेर पत्रकारिताको ओज गरिमा र विश्वसनीयता कायम राख्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
