स्वर्गीय प्रदीप गिरिको व्यक्तिव्यक्तित्वबारे चर्चा

मुख्य समाचार राजनीति

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको व्यक्तिव्यक्तित्वबारे चर्चा गरिएको छ । नेपाल मानवअधिकार सङ्गठनले यहाँ आज आयोजना गरेको ‘समाजवादी एवं राजनीतिज्ञ प्रदीप गिरिप्रति श्रद्धाञ्जली’ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता र मानव अधिकारर्कीले बौद्धिक नेता गिरिको व्यक्तित्वबारे चर्चा गर्नुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले स्व गिरि जनताका निम्ति बाँचेको र जनताकै निम्ति मृत्यु भएको टिप्पणी गर्दै समाजले अहिले वास्तविक प्रदीप गिरि खोजिरहेको बताउनुभयो । नेकपा (एमाले)का नेता रघुजी पन्तले स्व गिरि सङ्गठक नभएर बौद्धिक व्यक्तित्व र त्यगी नेता भएको बताउँदै उहाँबाट नेपाली राजनीति र अन्य क्षेत्रले समेत सिक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पछिल्लो समय राजनीति पद र पैसाकै निम्ति गरिएको सन्दर्भ उल्लेख गर्दै नयाँ पुस्ताले स्व गिरिबाट सिक्नुपर्ने धारणा राख्नुभयो । मानवअधिकारकर्मी कपिल श्रेष्ठले “प्रदीप गिरिले परम्परागत समाजवादीभन्दा पनि माथिको समाजवाद र स्वतन्त्रता चाहनुहुन्थ्यो”, भन्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रदीप गिरि बहुआयामिक व्यक्तित्व, चिन्तक र समाजलाई बुझ्नसक्ने व्यक्तित्व भएको चर्चा गर्नुभयो ।

पचहत्तर वर्षीय गिरिको उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो । समाजवादी चिन्तक एवं सांसद गिरिको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

गिरी विसं २०५१, २०६४, २०७०, २०७४ गरी चार पटक सांसद बन्नुभएको थियो । राजनीतिक वृत्तमा एक बौद्धिक छवि भएका नेताका रूपमा परिचित नेता गिरि विसं २००४ कात्तिक १७ गते सिराहमा जन्मिनुभएको थियो । विसं २०१७ देखि सक्रिय राजनीतिमा पाइला चाल्नुभएका गिरिले राजनीतिक सङ्घर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष जेल जीवन बिताउनुभएको थियो । उहाँ सरल, मिलनसार, गान्धीका अनुयायी, माक्र्सवादका ज्ञाता, कांग्रेस–कम्युनिष्टको साझा मार्गदर्शक हुनुहुन्थ्यो ।