सोलुखुम्बु। एक नम्बर प्रदेश सभा सदस्य ख सोलुखुम्बुका एमाले उम्मेदवार बुद्धि कुमार राजभण्डारीले अधुरा कामहरु पूरा गर्न आफूले पुनः उम्मेदवारी दिएको बताउनु भएको छ । चुनावी अभियानमा क्रममा जिल्लाको विभिन्न भेगका अगुवा कार्यकर्ता भेटघाट एवं घरदैलो कार्यक्रममा नेता राजभण्डारीले प्रदेश सांसदको पहिलो कार्यकालमा सुरु गरिएका विकास निर्माणका कामहरुलाई पूर्णता दिन र जिल्लाको विकासको लागि आफूले पुनः प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले यसपटक उम्मेदवार हुने इच्छा नभएपनि पार्टी कार्यकर्ताकै चाहनामा उम्मेदवारी दिएको समेत बताउनुभयो । ‘मेरो उम्मेदवार बन्ने कुनै सोच पनि थिएन, एक पटक नेतृत्व गरेपछि अब अन्य कमरेडहरुलाई मौका दिनुपर्छ भन्ने थियो, तर पार्टी र कार्यकर्ताले नै सर्वसम्मत रुपमा चयन गरेपछि मैले उम्मेदवारी स्वीकारेको हुँ’ उहाँले भन्नुभयो । पार्टीको सर्वसम्मत उम्मेदवार भएकाले अब प्रदेश सभा सांसद भएर आफूले थालेका विकास निर्माणका कामहरुलाई पूर्णता दिने पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
उहाँले प्रदेश सांसद भएपछि जिल्लाको विकासको लागि धेरै कामको सुरुवात गरिएको जानकारी गराउनुभयो। माप्य दुधकोशी गाउँपालिकाको वडा नंं ५ आम्रासबाट पारिपट्टि नियाल्दै नेता राजभण्डारीले भन्नुभयो ‘पहिले त्यो पाखारेखामा सडक रेखाङ्कन भएको थिएन । अहिले गाउँपालिका र प्रदेश सरकार मिलेर काम गरेपछि सडक सञ्चालनमा आएको छ ।’
‘गाउँ गाउँसम्म ट्र्याक ओप भएका छन् । ओर्लाङ्घाटमा पूल निर्माण गरी खुम्बुलाई सडक सञ्जालले जोडेका छौं । अबको मेरो प्राथमिकता उक्त सडकलाई कालोपत्रे गरी बाह्रै महिना सडक सञ्चालन गर्नु हुनेछ’ उहाँले भन्नुभयो ।
सडक विकासको आधार भएकाले ट्र्याक ओपन गर्न बाँकी ठाउँमा ट्र्याक खोल्दै जाने र ट्र्याक ओपन भईसकेका सडकको स्तरोन्नति गर्ने पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
नेता राजभण्डारीले खुम्बु जोड्ने सडकलाई स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन हुने बनाएपछि दक्षिणी भेगको कृषि उपज उत्तरी भेगमा लगेर बिक्री वितरण गर्न सहज हुने र यसले जिल्लाबासीको जीवनस्तर उकास्न सघाउ पुग्ने बताउनुभयो ।
खुम्बु जोड्ने सडकले विश्वभरिका पर्यटकलाई स्थलमार्गबाट सगरमाथा पुग्ने पहुँच उपलब्ध गराएको भन्दै उहाँले हवाई यातायातमा मात्र निर्भर रहेको पर्यटकलाई सडक यातायातबाट पनि सगरमाथाको फेदीसम्म पुग्ने ढोका खुलेको बताउनुभयो । ‘केही दिन अघि मात्र मौसमले साथ नदिंदा सडक यातायातबाट पनि कत्ति पर्यटक भित्रिए, यहाँहरुले देख्नु भएकै छ । अझ यो सडकलाई कालोपत्रे गरेपछि बाध्यतामा परेका पर्यटक मात्र होइन, साँच्चिकै स्थलमार्गबाट प्रवेश गर्ने पर्यटक पनि बढ्नेछन्’ उहाँले भन्नुभयो ।
