बेलाइतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उहाँले बेलाइतलाई आशादायी भविष्य प्रदान गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
आफ्नो सरकारी निवासमा उज्यालो पर्व मनाउँदै गरेको तस्विर सामाजिक सञ्जालबाट साझा गर्दै उहाँले सबैप्रति शुभकामना व्यक्त गर्नुभएको छ । “आज राति टेन डाउनिङ स्ट्रिटमा भएको दीपावलीको कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित छु, आगामी पुस्ताले आफ्नो भविष्य आशाका साथ हेर्न सक्ने बेलाइत निर्माणका लागि सक्दो प्रयास गर्नेछु”उहाँले ट्वीट गर्नुभएको छ ।
राजनीतिक उथलपुथलका कारण लिज ट्रसले राजीनामा गरेपछि सात हप्तामा बेलाइतको तेस्रो प्रधानमन्त्री बन्नुभएको उहाँले गत मङ्गबार दिनुभएको पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले पूर्ववर्ती सरकारका त्रुटी सच्च्याउन गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिनुभएको थियो । गहिरो आर्थिक एवम् राजनीतिक सङ्कटको सामना गरिरहेको बेलाइतलाई त्यसबाट मुक्त गर्न वाचा उहाँले गर्नुभएको थियो ।
सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलाइत आउनु भएका सुनक भारतीय मूलका हुनुहुन्छ । उहाँका पिता स्थानीय चिकित्सक हुनुहुन्थ्यो भने उनकी उहाँकी आमाले दक्षिणी इङ्ल्याण्डमा फार्मेसी चलाउनुभएको थियो । मातापिताको उक्त कामले उहाँलाई जनताको सेवा गर्ने इच्छा जागृत भएको हो ।
