नेपालका बिपन्न बिद्यार्थीहरुको सहयोगार्थ सोनसिकले सम्पन्न गर्यो बृहत देउसी भैलो कार्यक्रम

कोरियाअपडेट

मेघनाथ पौडेल
सउल, दक्षिण कोरिया

दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले शुभ-दिपावली २०७९ को अवसर पारी नेपालका गरीब तथा बिपन्न बिद्यार्थीहरुको सहयोगका लागि दुई दिने बृहत देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । दक्षिण कोरियाको सउल स्थित नेपाली रेष्टुरेन्टहरु, रेमिट्यान्स् कम्पनीहरु, नेपाली मार्टहरु लगायतमा सम्पन्न भएको उक्त देउसी भैलो कार्यक्रम नेपाली भेषभूषा सहित आएका सोनसिकका कलाकारहरुको बिचमा भब्य रुपमा सम्पन्न भएको हो ।

नेपालमा रहेका गरीब तथा बिपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने मुख्य उद्देश्यका साथ बिगतका बर्षहरुमा पनि देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आएको सोनसिकले कोरोनाका कारण केही बर्ष देखि उक्त कार्यक्रम सञ्चालन गर्न सकेको थिएन ।

कोरोना कहर पछिको पहिलो देउसी भैलो कार्यक्रम सोनसिकको सांस्कृतिक समूहका कलाकारहरुका साथसाथै नेपाली बिद्यार्थी, प्राज्ञिक ब्यक्तित्वहरु लगायतको उपस्थितिका बिच सम्पन्न भएको हो ।

सोनसिकको क्षेत्र नं १ का उपसभापति सिद्दान्त बिक्रम पाण्डेको संयोजकत्वमा सन्चालित सो बृहद् देउसी भैलो कार्यक्रममा नेपाली गुन्यु चोली, फरिया, दौरा सुरुवाल, ढाका टोपी सहित सजिएका नेपाली कलाकारहरुले नेपालमा मौलिक रुपमा खेलिने देउसी भैलोको झल्को दिने नेपाली मौलिक भाकाहरुको प्रस्तुति सहित देउसी खेलेका थिए । मादल र खैजडीको तालमा भट्याउने, एकै स्वरमा देउसिरे भन्ने, चुड़का गाउने, नाच्ने, आशिष दिने, घरबेटीलाई खुसी बनाउने आदि जस्ता अभ्यास द्वारा देउसी भैलो कार्यक्रम सौहार्दतापूर्ण तरिकाले सञ्चालन भएको थियो ।

भैलीनीहरुले दिएको आशिर्वाद लाग्छ भन्ने शास्त्रिय मान्यता बमोजिम भैलो खेल्ने क्रममा ‘हामीलाई धेरै आशिष दिनुहोस्’ भनेर आग्रह गर्ने घरबेटीहरु पनि देखिएका थिए । आफ्नो परिवारमा स्वास्थ्य अवस्था नाजुक भएकाले आशिष दिनुहोस् भन्दै भैलीनीको नजिक पुगेकी एकजना महिला घरबेटीले भनिन् ‘भैलीनीहरु ब्यक्ति नभएर बलीराजाले पठाएका दुतहरु हुन्, त्यसैले स्वास्थ्य अवस्था राम्रो होस भनी आशिष दिनुहोस्, आशिष लाग्छ’ ।

बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु केन्द्रित बिभिन्न किसिममा सामाजिक, शैक्षिक, साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको सोनसिकले पछिल्लो समय कोरियामा मात्रै नभई नेपालमा पनि आफ्ना गतिबिधीहरु संचालन गर्दै आईरहेको छ ।

नेपालमा नेपाली संस्कृतिको अभ्यासमा पाश्चात्य प्रभाव परेको र नेपाली मौलिक संस्कृति धरासयि बन्दै गएको परिप्रेक्ष्यमा नेपाल बाहिर रहेका नेपालीहरु भने आफ्नो मौलिकता झल्किने गरि देउसी भैलो खेल्नुलाई महत्वका साथमा हेर्न सकिन्छ ।

दुई दिन सम्म संचालन भएको उक्त देउसी भैलो कार्यक्रममा सोनसिकमा आवद्द बिधयार्थी मात्रै नभएर स्वत स्फूर्त रुपमा सहभागी हुने नेपालीहरुको बाक्लो उपस्थिति थियो ।

देउसी भैलो कार्यक्रमबाट संकलन भएको चन्दा रकम सोनसिकको नेतृत्वमा नेपालमा रहेका गरीब तथा बिपन्न बिधयार्थीहरुको सहयोगका लागि प्रयोग गरिने आयोजकले जनाएको छ । देउसी भैलोबाट उठेको रकम गरीब असहाय नेपाली बिधयार्थिहरुको छात्रबृत्तिका लागि प्रयोग गरिने कुरा सोनसिकको १९ औं कार्यसमितिका सभापति मनिस पाण्डेले बताए । उनले अगाडि भने, ‘उपयुक्त बिधयार्थीको पहिचान गरेर केही समयको तयारी पछि हामी उक्त रकम बितरणको प्रक्रियामा जानेछौं’ ।

सन २००४ मा स्थापना भएको सोनसिक कोरियामा दर्ता भएको नेपाली बिद्यार्थीहरुको एक मात्र साझा संस्था हो । कोरियामा रहेका नेपाली बिद्यार्थी माझ बिभिन्न किसिममा सामाजिक, शैक्षिक, साँस्कृतिक कार्यक्रमहरु गरि नेपाली बिद्यार्थीहरुको सहजता, सहि सूचनाको आदान प्रदान मार्फत सेवा पुर्याइ रहेको सोनसिक कोरियामा रहेका बिभिन्न संघसंस्थाहरुका बिचमा आफ्नो छुट्टै परिचय बनाएको छ ।