हामी आश्वासन होइन, विकास गर्छौँ : मन्त्री कार्की

मुख्य समाचार राजनीति

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस झुठा आश्वासनभन्दा पनि विकासप्रेमी पार्टी भएको बताउनुभएको छ । सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीमा आज आयोजित पार्टी प्रवेश तथा सुनावीसभामा उहाँले नेकपा (एमाले)का उमेदवारले झुठा सपना देखाएर जनतालाई भुलाउने गरेकाले मुलुकको हित र विकासमा कहिल्यै ध्यान नदिएको बताउनुभयो । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार रहनुभएका सरकारका प्रवक्ता कार्कीले कांग्रेस सपना बाँड्ने पार्टी नभइ सपना पूरा गर्ने पार्टी भएको दाबी गर्नुभयो ।

‘‘विकास विनाको राजनीति खोक्रो नारा मात्रै हुने भएकाले कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्छ”, मन्त्री कार्कीले बताउनुभयो । एमालेले मुलुकमा दुईपटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र प्रजातन्त्रलाई सखाप गर्ने तथा अधिनायकवाद शासन व्यवस्था स्थापित गर्न खोजेको उहाँको आरोप छ ।

कांग्रेस कुनै एउटा जात, धर्मको पार्टी नभइ सबै जातजाति, भाषाभाषीको साझा पार्टी भएकाले नेपाली जनताको हितका लागि हरेक समयमा जनताको पक्षमा उभिएको मन्त्री कार्कीले दाबी गर्नुभयो । मुलुकको विकास, संविधान, लोकतन्त्रको रक्षा र जनताको सुरक्षाको प्रत्याभूति गर्ने पार्टी कांग्रेस भएकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनका लागि आग्रह गर्नुभयो ।